स्मार्ट लाइसेन्स छपाइ सुस्त लाइसेन्स पाउन अझै ६ महिना

काठमाडौं- ठूला तथा साना सवारी चलाउनका लागि आवश्यक पर्ने लाइसेन्स पाउन अझै ६ महिना कुनुपर्ने भएको छ । लाइसेन्स छपाइमा ढिलाइ हुँदा लामो समयदेखि सवारी सञ्चालकले कागजी रसिदको भरमा सवारी चलाउन बाध्य हुँदै आएका छन् । सरकारले स्मार्ट लाइसेन्स छपाइमा चासो नदिँदा लाइसेन्सका लागि आवेदन दिएका आवेदकले अझै ६ महिनासम्म कुर्नुपर्ने भएको हो।
यातायात व्यवस्था विभागमा स्मार्ट लाइसेन्स प्रिन्ट गर्ने ठूलो क्षमताको मेसिन ल्याएको तीन महिनापछि सञ्चालनमा ल्याइएको छ । तर, क्षमताभन्दा आधा मात्र छपाइ भइरहेको छ । विभागका प्रवक्ता तीर्थराज खनालले हाल ५ हजारमाथि स्मार्ट लाइसेन्स प्रिन्ट भइरहेको बताए । आधुनिक मेसिनले प्रतिघण्टा ४५० प्रति स्मार्ट लाइसेन्स छाप्न सक्ने क्षमता भए पनि हाल त्यसको आधा मात्र छाप्ने काम भइरहेको हो ।
प्रवक्ता खनालले हाल दुई सिफ्टमा छपाइ भइरहेको बताए । उनले तीन सिफ्टमा छाप्ने योजना रहे पनि प्राविधिकको अभावमा अर्को सिफ्ट चलाउन नसकिएको बताए । मेसिन चलाउन सिक्ने भन्दै केही समय अघि भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सहसचिवको टोली युरोप घुमेर फर्केको थियो ।
विभागले तीन महिनाअघि इटालीमा बनेको माटिका कम्पनीको मास प्रिन्टर करिब ७ करोडमा किनेको थियो । सोही मेसिन चलाउन भन्दै यातायात विभागका महानिर्देशक, मन्त्रालयको प्रशासन महाशाखाका प्रमुख सहसचिव, तत्कालीन यातायातमन्त्री रघुवीर महासेठका निजी सचिवलगायत टोली इटाली पुगेको थियो । सो टोलीमा विभागका इन्जिनियर केशव गौतम मात्र प्राविधिक रहेका थिए ।यो समाचार रनजधानी दैनिकमा छ ।
क्याटेगोरी : पत्रपत्रिका
तपाईको कमेन्ट लेख्नुहोस्