रातो पछिन्द्रनाथको रथ पुल्चोकबाट सोह्रखुट्टे सम्म आज तानिने

काठमाडौं ।
कोभिड १९, कोरोना भाइरसको माहामारीको कारण निर्माण गरिएर पनि पटक पटक रोकिएको रातो मच्छिन्द्रनाथको रथलाई आज पुल्चोकबाट सोह्रखुट्टे पाटीसम्म तानिने भएको छ ।
रथ तान्न दबाब दिने उद्देश्यले पुल्चोकमा भेला भएका स्थानीय युवा र प्रहरीबीच तीन दिनअघि झडप भएको थियो । त्यसपछिको सरोकारवालाहरु विचको छलफल भएको थियो ।
स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै आज अपराह्न पुल्चोकमा रहेको रथ र हाल गाःबहालमा रहेको मीननाथको रथलाई पनि तानेर सोह्रखुट्टे पाटीसम्म पुर्याइने जात्रा व्यवस्थापन कार्यदलका संयोजक चन्द्र महर्जनले जानकारी दिएका छन् ।
यसअघि रथ तान्दै नगर परिक्रमा गराउने क्रममा रथ जुन ठाउँमा रोकियो, त्यही ठाउँका बासिन्दाले मात्र छ्वयलाभू र भुज्या मनाउने गर्दथे । तर यस वर्ष कोरोना संक्रमणको जोखिमका कारण रातो मच्छिन्द्र नाथको सबै विधि प्रकृयाहरु हाल रथ भएकै स्थानमा सम्पन्न गरिने हुदाँ ललितपुरवासीले आइतबार ‘छ्वयलाभू’ र सोमबार ‘भुज्या’ मनाउनेछन् ।
साइत हेर्ने काम पनि सोमबार नै हुने छ । साइत प्राप्त भएको दिन (सम्भवतः भदौ २६ गते) रातो मच्छिन्द्र नाथलाई बुंगमति प्रस्थान गराइने संयोजक महर्जनले जानकारी दिए । यससँगै वर्षा र सहकालका देवता मानेर पुजिने रातो मच्छिन्द्रनाथको जात्रा सम्पन्न हुनेछ ।
विगतका वर्षहरुमा मच्छिन्द्रनाथलाई पुल्चोकमा तयार पारिएको रथमा राखिएको ४ दिनमा पुल्चोकबाट तानेर गाःबहाल, मंगलबजार, सुन्धारा, लगनखेल र जावलाखेल पुर्याइन्थ्यो । रथ जावलाखेल पुर्याएको दिन राष्ट्राध्यक्षको उपस्थितिमा भोटो देखाउने जात्रा हुने गथ्र्यो । तर यस वर्ष भने कोरोना संक्रमणको जोखिमका कारण भोटो देखाउने जात्रा नहुने भएको छ ।
फाइल फोटो
क्याटेगोरी : अन्य
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्