कांग्रेस र एमाले मिल्दा जनतामा आत्मविश्वास बढेको छ : गृहमन्त्री

गृहमन्त्री रमेश लेखकले जनताको मुद्दा बोक्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंको नवनिर्मित भवन तथा भौतिक पूर्वाधारहरूको आज उद्घाटन गर्दै मन्त्री लेखकले जनताको मुद्दा बोक्दा प्रहरीहरूको मुद्दा पनि सँगै आउने बताए ।
‘प्रहरी साथीहरुलाई आत्मविश्वास काम गर्न आग्रह गर्दछु । जनताको मुद्दा बोक्नुपर्यो । जनताको मुद्दा बोक्दा आफ्नो मुद्दा पनि आइहाल्छ,’ उनले भने ।
सरकार बनेको सय दिनमा १० वटा काम गर्ने योजनासहित काम गरिरहेको पनि मन्त्री लेखकले बताए ।
नागरिकले राज्यबाट पाउने आधारभूत सेवामा प्रहरी जोडिएको भन्दै यस नवनिर्मित भवनबाट जनताले उचित सेवा पाउने उनको भनाइ थियो ।
यस्तै उनले कांग्रेस र एमाले मिलेर सरकार बन्नुको उदेश्य पनि प्रस्ट पारे । ‘दुई ठूला दल मिलेर सरकार बनेको छ । अहिलेको सरकारमा हामी केही मान्छे मन्त्री बनिहालौं भनेर बनेको होइन । २०७९ चुनावपछि सरकार बनाउने र भत्काउनमै गयो । आर्थिक, राजनीतिक र विकास निर्माणका लागि हामी दुई ठूला दल मिल्यौँ,’ उनले भने, ‘यो सरकारको उदेश्य भनेको स्थायित्व, आर्थिक विकास, दिगो शान्ति, सुशासन र समावेशी चरित्रको राज्य व्यवस्था स्थापित गराउने हो ।
कांग्रेस र एमाले मिल्दा जनतामा आत्मविश्वास वृद्धि भएको पनि उनको दाबी छ । ‘१८ वर्षसम्म अल्झिएको संक्रमणकालीन न्यायको विषय निष्कर्षमा पुगेको छ । हामी नेता उहीँ हौँ । छलफल हामीबिच नै भएको थियो । तर दुई दल मिल्दा बढेको आत्मविश्वासले हामी सहमतिमा पुग्न सक्यौं । ऊर्जाशील प्रधानमन्त्री हुनुहुन्छ । उहाँको नेतृत्वमा हामी केही गरि छाड्ने छौँ’, उनले भने ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्