Techie IT
  • २० वैशाख २०८२, शनिबार
Sajha Hub

तिहारको भैलो–देउसी र बलिराजा


डा. मीन श्रीस मगर

“ए है भन भन साथी ! भैलो

हामी त्यसै आएका होइनौं ! भैलो

बलिराजाले पठाएको ! भैलो”

ऐतिहासिक मगरात भनिने राप्ती–गण्डकी प्रश्रवणक्षेत्रका पहाडी बस्तीहरूका घरआँगनमा कात्तिक औंसीदेखि शुक्ल द्वितीयासम्म भैलो–देउसी समूहले मादलको तालमा यसरी नै गाउदै र नाच्दै तिहार आगमनको सन्देश पुर्याउने परम्परा आजसम्म निरन्तर चलिआएको छ ।

तिहारसँग जोडिएका बलिराजा सम्बन्धि तीन कथाहरू मध्ये एउटा पौराणिक मिथक हो भने दुईवटा नेपाली इतिहासका ऐतिहासिक पात्रहरूसँग अन्तरसम्बन्धित आख्यान हुन् ।

तिहारको भैलो देउसीमा उल्लेख गरिने बलिराजाका बारेमा तीन प्रकारका फरक–फरक कथन र मान्यताहरू रहेको पाइन्छ । जातजाति, समुदाय र भौगोलिक विविधतायुक्त नेपाली समाजमा मनाइने हरेक चाडवाडमा विभिन्न खाले मान्यताहरूको सम्मिश्रण तथा समन्वय हुनु वहुलवादी नेपाली समाजको विशेषता हो । तिहारसँग जोडिएका बलिराजा सम्बन्धि तीन कथाहरू मध्ये एउटा पौराणिक मिथक हो भने दुईवटा नेपाली इतिहासका ऐतिहासिक पात्रहरूसँग अन्तरसम्बन्धित आख्यान हुन् ।

हिन्दू धर्म संस्कृतिमा आस्था राख्नेहरूले तिहारको भैलो देउसीमा उल्लेख गरिने बलिराजालाई पुराणप्रसिद्ध दानी दैत्य राजाको रुपमा मान्दैआएका छन् । शास्त्रीय मिथकअनुसार बलिराजाले लक्ष्मीलाई समेत आफ्नो अधीनमा राखेकाले धनसम्पत्तिले सम्पन्न भएका थिए । उनी कसैलाई खाली हात नफर्काउने दानी थिए । एक दिन नारायणले वामनको अवतार लिएर बलिराजाकहाँ आएर तीनपाइला जमिन मागेर विशाल रुप धारण गरी एकपाइला आकाशमा, एकपाइला पृथ्वीमा र तेस्रो पाइला बलिराजाको टाउकोमा टेकी पातालमा पुर्याइदिएका थिए । बलिराजालाई पातालको राज्य प्रदान गरी लक्ष्मीलाई मुक्त गरिदिएका थिए । त्यसैबेलादेखि कार्तिक प्रतिपदाका दिन दानी बलिराजाको पूजा गर्न थालिएको कथन पाइन्छ (बज्राचार्य, २०४३: ७३–७७) । बलिराजाले नारायणलाई तेस्रो पाइला राख्न आफ्नो शिर दिएको सन्दर्भमा ‘देउसिरे’ शब्द आएको भनाई पाइन्छ । हिन्दू पौराणिक साहित्यमा उल्लेखित बलिराजा भारतीय समाजका मिथकीय पात्र हुन् ।

नेपाली इतिहासमा चर्चित बलिराजा जुम्ला र बल्ढेङगढी पाल्पाका मध्यकालीन दुई शक्तिशाली राजाहरू हुन् । अभयमल्ल (वि. सं. १४३३–४८) को राज्यकालमा निरयपाल, मलयवर्मा र बलिराजको स्वतन्त्र राज्यहरूको उदयसँगै नागराजले वि. सं. ११५० तिर स्थापना गरेको एउटा एकीकृत र गौरवशाली सिंजा साम्राज्यको युग अन्त भएको थियो । सिंजा सम्राट पृथ्वीमल्ल (वि. सं. १४०९–१९) को राज्यकालमा डोटीका सामन्त निरयपालले सिंजाको केन्द्रीय सत्ता विरुद्ध विद्रोह गरेर आफूलाई स्वतन्त्र राजा घोषित गरेका थिए । उक्त विद्रोहलाई केही वर्षका लागि दबाइए पनि अभयमल्लको राज्यकालमा आएर निरयपालका छोरा नागमल्लले वि. सं. १४४१ तिर डोटीलाई पुनः स्वतन्त्र राज्य बनाएका थिए । नागमल्लकी रानी सूर्यमाला सिंजाली राजपरिवारकी कन्या भएकाले पनि डोटी स्वतन्त्र हुनका लागि सहयोग पुगेको मानिन्छ । कालीकोट र दैलेख क्षेत्रका सामन्त मलयवर्माले वि. सं. १४३५ देखि आफूलाई राजा घोषित गरेका थिए । उनकी रानी रत्नमाला पनि सिंजा राजघरानाकी राजकुमारी भएको बुझिन्छ । मलयवर्माले वि. सं. १४५० तिर सिंजासम्म अधिकार गर्दा बलिराजले मुगु र डोल्पा भेगमा स्वतन्त्र राज्य खडा गरेका थिए । बलिराज मुगु कालैगाउँका सामन्त थिए । तसर्थ उनको राजवंशलाई कल्याल भनियो । उनले वि. सं. १४५५ सम्ममा जुम्ला माथि अधिकार कायम गरी जुम्ला राज्यको स्थापना गरेका थिए । बलिराजका पिता उत्तमराजलाई ‘उत्तिम थापा’ तथा ‘मोटा रावल’ समेत भनिन्थ्यो । सिंजा साम्राज्यको पछिल्लो अवधिमा राजपरिवारको सदस्य र सामन्त रजौटाले समेत ‘रावल’ पद धारण गरेको देखिन्छ (अधिकारी, २०६७: ७६, ७९ र ८२) । कतिपय विद्वानहरूले तिहारको भैलो देउसीमा उल्लेख गरिने बलिराजा जुम्ला राज्यका संस्थापक बलिराज हुन् भन्ने गरेको पाइन्छ । नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति संस्कृतिविद् डा. जगमान गुरुङका अनुसार देउसीमा भनिने बलिराजा पौराणिक होइनन् नेपालको सिंजाका राजा हुन् (२०७४ असोज २६, चक्रपथ डट कम) । तर कर्णाली भेगमा तिहारमा भैलो देउसी खेल्ने परम्परा पाइँदैन । कर्णालीको जुम्ला, कालिकोट, मुगु र तल्लो हुम्लातिर पुसे पूर्णिमामा भैलो खेल्ने पुरानो मौलिक परम्परा आजसम्म पनि रहिआएको छ । “हरि–हरि दुबीचौर दुबै हरियो, घरवेटीले पैसा दिए पोल्टै भरियो” भन्दै केटाकेटीहरूले पुसे पूर्णिमामा भैलो खेल्ने गर्दछन् । तीसको दसकपछि सुरक्षा निकाय र प्रशासनिक कर्मचारीहरू मार्फत तिहार मनाउने र कात्तिके भैलो खेल्ने चलन भित्रिएको हो (नेपाल, २०७४: ठ) ।

त्यसकारण ऐतिहासिक मगरातको भैलो देउसीसँग जोडिएका पात्र बलिराजा पाल्पा बल्ढेङगढीका राजा बलि राना मगर (बलिराजा/बलिहाङ) हुन् भन्ने पुष्टि हुन्छ ।

त्यसकारण ऐतिहासिक मगरातको भैलो देउसीसँग जोडिएका पात्र बलिराजा पाल्पा बल्ढेङगढीका राजा बलि राना मगर (बलिराजा/बलिहाङ) हुन् भन्ने पुष्टि हुन्छ । सिंजा साम्राज्य विघटनको क्रममा कर्णाली क्षेत्रमा नागमल्ल, मलयवर्मा, बलिराज आदि शक्तिशाली सामन्तहरूले आ–आफ्ना क्षेत्रमा स्वतन्त्र राज्य घोषणा गर्न थालेपछि गण्डकी क्षेत्रका शक्तिशाली सामन्त बलि राना मगरले पनि आफूलाई स्वतन्त्र राजा घोषणा गरेका थिए । धेरैजसो इतिहासकारहरूले वि. सं. १४४८ तिर बल्ढेङगढी राज्य स्थापना भएको उल्लेख गरेका छन् । इमानसिंह चेम्जोङ (सन् १९६७) र गोपीनाथ शर्मा (२०७१) का अनुसार बल्ढेङगढी राज्यको सीमाना पोखरादेखि गोरखपुरसम्म फैलिएको थियो । इतिहासकार प्रा. डा. राजाराम सुवेदी (२०४५) का अनुसार बल्ढेङगढी राज्यको चौकिल्ला पूर्वतिर पोखराथोक पाल्पा, पश्चिमतिर ठाडा सुपाकी देउराली, उत्तरतिर डिहीडाँडा, खिदिम तथा दक्षिणतिर बलरामपुर, गोरखपुरसम्म फैलिएको थियो । बली वाङ अर्थात बली राजाले स्वतन्त्र राज्य स्थापना गर्दा उनका चार हजार (मगर भाषामा बुली व्हाङ) सेना थिए । बुली व्हाङ सेनाले निर्माण गरेको गढी (किल्ला) भएकाले बुलीव्हाङगढी भन्ने क्रममा कालान्तरमा बल्ढेङगढी जनजिब्रोमा प्रचलित हुनपुग्यो (सुवेदी, २०४५: ६) । यसैगरी बली वाङ (बली राजा) शब्दलाई पनि कालान्तरमा जनजिब्रोले ‘बली हाङ’ उच्चारण गर्न पुगेको बुझिन्छ । तत्कालीन राप्ती–गण्डकी प्रश्रवणक्षेत्रका मगरहरूले आफ्ना शासक वा राजालाई ‘वाङ’ र राज्यलाई ‘हाङ’ भन्ने गर्दथे । त्यो समयमा शासकहरू बसोबास गर्ने स्थानको नामको पछाडि ‘वाङ’ शब्द जोडेर राजधानी सूचक गाउँको नामाकरण गर्ने चलन थियो । सिंजा साम्राज्य विघटन हुनेक्रमको संक्रमणकालीन अवस्थामा कर्णाली र गण्डकी प्रश्रवणक्षेत्रका प्रायः गाउँगाउँमा स्वतन्त्र शासक अर्थात ‘वाङ’ देखापरेका थिए । त्यसैले रोल्पा, रुकुम, प्यूठान, बागलुङ, म्याग्दी, गुल्मी, अर्घाखाँची आदि जिल्लाहरूमा स्थाननामान्तमा ‘वाङ’ जोडिएका अनेकौं गाउँहरू रहेका छन् । इरिवाङ, कोर्चवाङ, जिनावाङ, जेदवाङ, जेलवाङ, तालावाङ, तेवाङ, थवाङ, धवाङ, पाछावाङ, भावाङ, लिवाङ, चुनवाङ, चोखवाङ, छिवाङ, मोरावाङ, बर्जिवाङ, मर्कावाङ, स्यौलीवाङ, बुर्तीवाङ, बोवाङ, खिवाङ, खवाङ, चिसवाङ, ढिकावाङ, कोलालीवाङ, रङ्गवाङ, दरवाङ, विनवाङ, मल्कवाङ, अर्खवाङ, ढाकावाङ, धातीवाङ आदि गाउँहरूले तत्कालीन ‘वाङ’ रहेको स्थान अर्थात राजधानी भन्ने संकेत गरेको प्रष्ट हुन्छ ।

बल्ढेङगढी राज्यको करिब १५२ वर्षको समयावधिमा बली राना मगर, अभय राना मगर, नाम अज्ञात, नाम अज्ञात र रनवीर राना मगर गरी पाँच जना राजाले राज्य गरेका थए ।

विभिन्न तथ्य प्रमाणका आधारमा इतिहासकारहरूले बल्ढेङगढी राज्यको अस्तित्व करिब वि. सं. १४४८ देखि १६०० सम्म रहेको अनुमान गरेका छन् । बल्ढेङगढी राज्यको करिब १५२ वर्षको समयावधिमा बली राना मगर, अभय राना मगर, नाम अज्ञात, नाम अज्ञात र रनवीर राना मगर गरी पाँच जना राजाले राज्य गरेका थए । बल्ढेङगढी राज्यमा करिब चार हजार घरधुरी रहेकाले प्रत्येक घरबाट एक जना युवा राज्यको सेनामा सहभागी हुनुपर्ने नियमानुसार बुली व्हाङ अर्थात चार हजार सैन्य शक्ति थियो । राज्यको प्रमुख आम्दानी स्रोत घरधुरी कर, खानी कर र व्यापार कर रहेको मानिन्छ । घरधुरी करबाट चार हजार, खानी करबाट चार हजार र व्यापार करबाट दुई हजार गरी जम्मा वार्षिक दस हजार आयस्रोत रहेको बुझिन्छ । पाल्पामा सेनवंशीय राजाहरूको राज्य स्थापना हुनु पूर्वकालसम्म बल्ढेङगढी राज्य शक्तिशाली रहेको थियो । वि. सं. १४६५ मा धुर्कोट, वि. सं. १४९० मा अर्घा, वि. सं. १४९२ मा खाँची, वि. सं. १४९३ मा गुल्मी, वि. सं. १५५० मा पाल्पा, मुसीकोट र इश्मा राज्यहरूको स्थापना भएपछि बल्ढेङगढी राज्य स्वभाविक रुपमा कमजोर बन्न पुग्यो । तत्कालीन राजा रनवीर राना मगरको समयमा ती सातवटै राज्यहरू मिलेर बल्ढेङगढी राज्यमाथि एकैचोटी हमला गरी ध्वस्त पारे । सात चौवीसी राज्यहरूले पहिले नुवाकोट डाँडाको नेपानेमाथि आक्रमण गरे । राजाले त्यही ठाउँमा बसी तमाखू खाइरहेका बेलामा सातराज्यका सेनाले छोडेको धनुकाँध लागि हुक्का भाँचियो । त्यति नै बेला राजाले “अब बल्ढेङगढी राज्य नटिक्ने” भविष्यवाणी गरेका थिए भन्ने स्थानीय लोकइतिहास पाइन्छ । बल्ढेङगढी राज्यमा कब्जा जमाएपछि सातै राज्यले आफूहरूलाई पायक पर्ने क्षेत्र दखल गरे । त्यसरी टुक्राटुक्रा पारी बाँडफाँड गर्दा पाल्पालाई तराईको भाग बढी र अरु राज्यलाई पहाडी भाग बढी गरिएको थियो । वि. सं. १६०० को आसपासमा गरिएको उक्त आक्रमणमा जग्गा बाँडफाँड गर्दा खिदिम क्षेत्रमा खिचलो परेकाले वि. सं. १६६९ मा खाँचीका राजाले जुम्ला गोतामबाट आएका श्रीधर गौतमलाई कुशपानी समातेर विर्तादान गरेका थिए । त्यसपछि वि. सं. १८७२ मा श्री ५ सुरेन्द्रबाट अनुमोदन गराई श्रीधरका एघारौ पुस्ताका विष्णु पाध्या गौतमलाई विर्ता थामेको, १८९८ मा पुनर्नवीकरण गरेबाट ऐतिहासिक मगर राज्य बल्ढेङगढीको अस्तित्वलाई पुष्टि गर्ने आधार पाइएको छ (सुवेदी, २०४५: ६ र २०६३: ९) ।

अन्य दरबारका भग्नावशेषमा झैं यहाँ पनि स्थानीयले सानो देवस्थल निर्माण गरी पूजाआजा गर्दै आएको पाइन्छ । गढीको प्रवेशद्वार पुग्नु अघि एउटा ठाँटी र भैरमको पूजा गर्ने मौला रहेको छ ।

बल्ढेङगढी राज्यको अस्तित्व समाप्त भएपछि त्यहाँ पाल्पाली सेन राज्यले सुरक्षा किल्ला कायम गरेको थियो । महाभारत श्रृङ्खलाको दक्षिणी भागमा पर्ने ऐतिहासिक र सामरिक महत्व बोकेको बल्ढेङगढी पहिले पहाड–तराई गर्ने बाटोमै रहेकाले सुरक्षाचौकी र मगर उमराउ (मुखिया) को व्यवस्था गरिएको थियो । नेपाल एकीकरणको क्रमसँगै ऐतिहासिक भुरेटाकुरे राज्यका दरबार एवं किल्लाहरू संरक्षणको अभावमा खण्डहरमा परिणत हुनपुगे । अन्य दरबारका भग्नावशेषमा झैं यहाँ पनि स्थानीयले सानो देवस्थल निर्माण गरी पूजाआजा गर्दै आएको पाइन्छ । गढीको प्रवेशद्वार पुग्नु अघि एउटा ठाँटी र भैरमको पूजा गर्ने मौला रहेको छ । दरबारको भग्नावशेषमा कुवारीदेवीको सानो मन्दिर एवं मौला स्थापना गरिएको छ । कुवारीदेवीको देवस्थलमा स्थानीय बासिन्दाले खासगरी मुख्य खेतीपाती लगाउने र स्याहार्ने समय पारेर वैशाख पूर्णिमा, आषाढ पूर्णिमा, चैतेदसैं र वडादसैंको अष्टमी एवं मंसिरको न्वागीमा पूजा गर्ने परम्परा रहेको छ । गोरखाली शाहवंशीय कुलदेवी मानिएको स्याङ्जा लसर्घाको आलमदेवी झैं बल्ढेङगढी राजपरिवारको इष्टदेवी कुवारीदेवी भएको बुझिन्छ । कुवारीको अर्थ कुमारी (कन्या) हुने भएकाले बल्ढेङगढी राज्यकी राजकन्यको वायु प्रतीक नै कुवारीदेवी भएको प्रष्ट हुन्छ । आलमदेवीमा राजकन्या अलप भएको मानिएको भीमसेनपाती (नारायनपाती/घुर्सेली) को फेँदमा मास्की राना मगर परिवारका कुमार (celibate) केटो पुजारीले पूजा गर्ने परम्परा रहेको छ तर बल्ढेङगढीमा कुमार केटो पुजारी बन्ने परम्परा छैन । बल्ढेङगढी राज्यको अस्तित्व समाप्त भएपछि राना मगरहरू त्यहाँबाट बिस्थापित भएकाले स्थानीय पल्ली मगर परिवारका सदस्यहरूले तत्कालीन राजपरिवारको इष्टदेवी कुवारीको पूजाआजालाई निरन्तरता दिदैंआएको भनाई रहेको छ ।

फलस्वरुप बली वाङ (बली राजा) अकाल मृत्युबाट बचेका थिए । सिकिस्त बिरामी परेका राजा स्वस्थ्य भएको अवसरमा युवाको समूह घरघरमा पुगेर “हामी त्यसै आएका होइनौं, बलि राजाले पठाएको” भन्दै गाउदैनाच्दै गर्दा सबैले खुशीयाली मनाउँदै सुपोभरि अन्न, परिकार र फलफूल राखेर दान दिएका थिए ।

बल्ढेङगढीका राजवंशज राना मगरहरू केही परका ज्यामिरे, बुढीदमार, पानीचउर आदि गाउँहरूमा बसाइँ सरेको बुझिन्छ । अहिले पनि बल्ढेङगढी क्षेत्रमा मगरहरूको बाहुल्यता रहेको पाइन्छ । इतिहासकार प्रा. डा. राजाराम सुवेदीका अनुसार बल्ढेङगढीका राजवंश चन्द्रवंशी, भारद्वाज गोत्र, राना राने थर, महाराजिक खानदान भएबाट मग्वर हुँदै मगर भएको भनिन्छ । लिच्छविकालको उत्तरान्तमा काठमाडौं उपत्यकालाई केन्द्र मानेर मोफसललाई विषय (जिल्ला) भनी शासन गर्ने अवधारणाको विकास भएपछि मग्वरविषयमा श्री साहेब राने (राना मगर) विषयपति भएको बुझिन्छ (सुवेदी, २०४५: ६ र  २०६३: ९) । “तत्कालीन नेपाल उपत्यकाका केही अभिलेखमा तिलिकम राण, बुधार बुदा राने, ओम राण, देवु राणक, तिभुयि राणक, गुबल्लो राण, बुंद्दा राणे, पाक आदि राने, राणे, राणक जस्ता पदधारी व्यक्तिको उल्लेख पाइएको छ । यिनीहरूमध्ये केहीलाई ‘नायक’ भनिएको छ र केही ताडपत्र तमसुकका दृष्टसाक्षीका रुपमा सम्मानित छन् । ‘राणक’ पदले सामन्त राजालाई जनाउँथ्यो । उत्तरमध्यकालमा उपत्यकाका लक्ष्मीनरसिंह र प्रतापमल्लका पालाका अभिलेखमा ब्राह्मण, प्रधान, खस र मगरहरूलाई विशेष महत्व दिएर उल्लेख गरिएको छ” (अधिकारी, २०६७: ८७) । यस्ता ऐतिहासिक अभिलेखहरूलाई विचार गर्दा बली वाङ अर्थात बली राजा प्राचीनकालदेखि मग्वर विषयमा शासन गर्ने राना मगर परिवारका वंशज भएको बुझिन्छ ।

प्राचीन मगरातका प्रसिद्ध विषयपति वा शासक श्री साहेब राने (राना) मगरका वंशज बलि राना मगरको समयदेखि यो भेगमा कात्तिक औंसीदेखि शुक्ल द्वितीयासम्म भैलो–देउसी खेल्ने चलन शुरु भएको मानिन्छ । स्थानीय लोकश्रुतिअनुसार बली राजा मृत्युको मुखमा पुगेका बेलामा त्यस राज्यका सारा जनताले नाचगान गरी कुलपितृ, प्रकृति एवं देवदेवीहरूसँग आफ्ना प्रिय राजाको आयू बढाइदिन प्रार्थना गरेका थिए । फलस्वरुप बली वाङ (बली राजा) अकाल मृत्युबाट बचेका थिए । सिकिस्त बिरामी परेका राजा स्वस्थ्य भएको अवसरमा युवाको समूह घरघरमा पुगेर “हामी त्यसै आएका होइनौं, बलि राजाले पठाएको” भन्दै गाउदैनाच्दै गर्दा सबैले खुशीयाली मनाउँदै सुपोभरि अन्न, परिकार र फलफूल राखेर दान दिएका थिए । बलि राजा विरामी पर्दा स्वास्थ्यलाभको कामनामा पूजाआजा एवं प्रार्थना गर्दै हिडेका तथा राजालाई सञ्चो भएपछि खुशीयालीमा औंसीदेखि गाउँभरि गाउदैनाच्दै हिडेका दाजुभाइलाई तेस्रो दिन (शुक्ल द्वितीयका दिन) आफ्ना दिदीवहिनीहरूले टीकामाला लगाइदिएर फलफूल र घुमाउने रोटीको परिकारले स्वागत गरेका थिए । असोज र कात्तिकमा सबैको घरमा अन्नबालीले भकारी भरिभराउ हुनुका साथै आँगनभरि फूल र बगैचाभरि फलले सम्पन्न हुने भएकाले बल्ढेङगढी राज्यका जनताले आफ्ना राजा अकाल मृत्युबाट बाँचेको घटनालाई स्मरण गरी हरेक वर्ष हर्षोत्सव मनाउन थाले । पछि गएर त्यो सन्दर्भ सांस्कृतिक परम्पराको रुपमा विकसित भएर तिहारमा भैलो–देउसी खेल्ने मगराँतको प्रचलनको रुपमा स्थापित भएको लोकइतिहास पाइएको छ ।

तिहार शब्द मगर भाषाको ‘तिसार’ को अपभ्रंश रुप हो । भैलो शब्द मगर भाषाको ‘भयालो’ बाट व्यूत्पन्न भएको हो । मगर भाषाको ‘भया’ शब्दको अर्थ भाइ हुन्छ भने ‘भयालो’ शब्दले भाइहरूको समूहलाई संकेत गर्दछ ।

तिहार शब्द मगर भाषाको ‘तिसार’ को अपभ्रंश रुप हो । मगरातको परम्परागत संस्था तिसारले गाउँको रीतिथिति, सामुहिक पूजाआजा लगायतका महत्वपूर्ण कार्यहरूको व्यवस्थापन गर्दछ । तिसारका अगुवाहरूको अग्रसरतामा सिकिस्त बलि राजाको जीवन रक्षार्थ गाउँगाउँ र टोलटोलमा पूजाआजा एवं प्रार्थनाका साथै राजा स्वस्थ्य भएपछि खुशीयालीमा नाचगानको आयोजना गरिएको थियो । त्यसैले तिसारको अग्रसरतामा आयोजित उक्त उत्सवलाई पनि तिसार भन्न थालियो । कालान्तरमा गएर तिसार शब्दलाई जनजिब्रोले तिहार उच्चारण गर्नथालेको बुझिन्छ । यसैगरी भैलो शब्द मगर भाषाको ‘भयालो’ बाट व्यूत्पन्न भएको हो । मगर भाषाको ‘भया’ शब्दको अर्थ भाइ हुन्छ भने ‘भयालो’ शब्दले भाइहरूको समूहलाई संकेत गर्दछ । तिसारमा आवद्ध भाइहरू अर्थात दाजुभाइहरूले बलि राजा स्वस्थ्य भएको खुशीयालीमा घरघरमा गएर नाचगान गरेकाले उक्त नाचगानको प्रक्रिया वा प्रचलनलाई भयालो भन्दाभन्दै भैलो भन्न थालिएको हो । तिहारको नाचगानलाई देउसी पनि भन्ने गरिन्छ । मगर भाषाको ‘देउ’ र ‘स्याहा’ (देउस्याहा) अर्थात देवताको नाच भन्ने सन्दर्भमा ‘देउसी’ शब्दको व्यूत्पत्ति भएको हो । बलि राजाको जीवन रक्षार्थ कुलपितृ देवीदेवताको आराधना गर्नेक्रममा भैलोदेउसी गीतनृत्यको विकास भएको हो । अहिले पनि परम्परागत भैलो कार्यक्रममा गर्राभाइले देवीदेवताको आराधना गीत र नृत्य गरेपछि मात्र घरघरमा गएर गाउनेनाच्ने गरिन्छ ।

सन्दर्भ सामाग्री

अधिकारी, सूर्यमणि. (२०६१, पुनर्मुद्रण २०६७). खश साम्राज्यको इतिहास. काठमाडौं: भुँडीपुराण प्रकाशन ।

गुरुङ,जगमान. (२०७४ असोज २६).देउसीमा भनिने बलिराजा पौराणिक होइनन्, लिच्छविकाल पछिका हुन्, चक्रपथ डट कम ।

नेपाल, जनक. (२०७४ असोज ३१). कर्णालीमा भित्रिएको तिहार. कान्तिपुर (झिलिमिली तिहार विशेष पृ. ठ ।

वज्राचार्य, पुण्यरत्न. (२०४३). हाम्रा चाडपर्वहरु. पाँचौं संस्क. ¬काठमाडौं: रत्न पुस्तक भण्डार ।

शर्मा, गोपीनाथ. (२०७१). चौवीसी राज्यको इतिहास. काठमाडौं: मकालु प्रकाशन ।

श्रीस मगर, मीन. (२०७५).चाडवाडहरूको समाजशास्त्रीय विश्लेषण. ललितपुरः आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ।

सुवेदी, राजाराम. (२०४५ वैशाख–जेठ–असार). गुल्मीको नामाकरण. प्रज्ञा.  १६(४), पृ. ५२ ।

–––. (२०४५ माघ–चैत्र). बल्ढेङगढी. प्रज्ञा.  ६५, पृ. १–१२ ।

–––. (२०५९ असार). लमजुङ्ग राज्य. प्राचीन नेपाल. अंक १५०, पृ. ४९–५७ ।

–––. (२०६३). मगर जातिको नालिवेली. शोधमाला, काठमाडौं: मगर अध्ययन केन्द्र, २ (१), पृ ८–९

Chemjong, I. S. (1967). History and culture of Kirant people. Vol II. (3nd ed.). Kathmandu: Pushpa Ratna Sagar.

    


क्याटेगोरी : अन्य, विचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्