सोरठी नाटकको रहस्य, अनि मञ्चनका रोचक अनि घोचक कुरा

-श्याम राना मगर
सोरठी नाटक हेर्दाको अनुभुति
बत्तिस पुतली स्थित शिल्पि थ्रियटरमा यहि साउन ६ गते साझँ ५ बजेतिर प्रतिनिधि सभाका सांसद तथा पुर्व मन्त्री नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ सहित म पनि एक दर्शक बनेर सोरठी नाटकको प्रिमियर मञ्चन हेरे ।
संगीता थापा मगरजीले मञ्चबाट नाटकघरमा नाटक हेर्दै गर्दाका केहि नियमहरु सुनाउँदै अब सुरु हुन्छ नाटक सोरठी भन्दै गर्दा म भर्खर हतार हतार गर्दै हलमा छिरेको थिए । अधेरो भएका कारण थ्रियटरका एकजना साथीले मलाई मोवाईलको लाईट बालेर सिटमा बसाउनुभयो ।पृष्ठभुमिमा सोरठी गीतको कलात्मक पाश्र्वसंगीत अनि मधुरो लाईटमा चुलबुले नातीनीको भुमिकाका कलाकार अनि बज्यैको भुमिकामा वरिष्ठ कलाकार कविता आले मगरको सम्वादबाट सुरु हुन्छ सोरठी नाटक ।
त्यसपछि स्थापित हुदैँ गएका नाटकका पात्रहरुका जिवन्त अभिनयले बुन्दै जाने सोरठीको कथासँगै पाश्र्व संगीत अनि मधुर गीतहरुसँगै पुरानो उतिबेलाको समयक्रममा पुगिन्छ ।
अनि बगाउछ सोरठी नाटकले, एउटा खोलाले जसरी । कथा, पात्र, अभिनय, संगीत, भेषभुषा, मञ्चको परिकल्पना, लवाज, सम्वाद, प्रकाश सबै कुराको सम्श्रिणबाट सोरठी नाटकको कथाले दर्शकलाई कहिले सललल बगाउँछ त कहिले कलकल गरि, अनि कहिले छाँगाबाट पर्छाछ त कहिले बगरहरुमा लछारपछार गराउँछ ।
जब सोरठी नाटकको कथामा बग्दै गइन्छ । कतै आङ्ग नै जिरिङ बनाउने, कतै मनै सिरिङग बनाउने, कतै प्रेमिल सागरमा डुबुल्की गराउँछ त कतै सन्नाटा अनि मुटु चुडाउछ, मञ्चन हुदै गर्दा दर्शक दिर्घामा भित्रभित्र सुनिने खित्खित् हाँसो त, कतिबेला थ्रियटरको मधुरो प्रकाशको प्रभाव हो कि जस्तै थाहै नपाई डम्म गरि आशु भरिएको गहले देखिने धुमिल दृश्य, अनि खोलाले आफै बाटो खोजेजसरी भरिएका गहबाट बर्रर खसेका आशु, सुक्क सुक्क गर्दै सम्हालिदै कलाकारको जिवन्त कथामा हराउन पुग्दा लाग्छ, साँच्चिकै म उहि पुरानो समयमा छु, म त्यहि परिवेशमा छु अनि म पनि त्यहि पात्रहरुमध्येकै एक हुँ या त कथाका हरेक पात्र अनि परिवेशको एक साक्षी ।
हो नाटक अवधी भरि दर्शकलाई एकटकले तानिरहन्छ नाटक मञ्चनले । मगर राजा जयसिङ्गे, रानी हैमती र छोरी सोरठीको गितिगाथामा आधारित नाटक सोरठीको प्रस्तुति एकदमै अद्भुत छ । गज्जब छ, नाटकका हरेक पात्र, उनीहरुको अभिनयले दर्साउने कथाले डुबाउँछ दर्शकलाई ।
जब नाटकको अन्त्यतिर कलाकार कविता आले मगर र नातिनी बिचको सम्वाद अनि त्यसपछि हामीले नै गाउँघरमा गाउँदै नाच्दै सुन्दै आएको सोरठी गीत अनि नृत्यको झलक आउँछ बल्ल दर्शकलाई फर्काउँछ वर्तमान परिवेश अनि समयमा अनि झस्किन पुगिन्छ म त नाटकघरमा नाटक हेरिराखेको पो छु त । दर्शक दिर्घामा सन्नाटा छायो । अनि जब नाटकको समापन भयो, उज्यालो लाईट बल्यो । गहभरिको आँशुलाई सम्हाल्दै हलभरि गडगडाहट ताली पड्कियो ।
प्रमुख अतिथिको नाम नै बिर्साइदियो
संगीता थापा मगरले धन्यवाद भन्दै एकैछिन बसिदिनुहोला अब म मञ्चमा श्याम राना मगरलाई निम्त्याउदछु भन्दै गर्दा म झसङ्ग भए । आँखामा टलपलिएको आशु हत्तपत्त पुछे अनि मञ्चतिर गए । नाटक हेरिसकेपछि नाटकको समापनमा छोटो औपचारिक कार्यक्रमलाई सहजिकरण गरिदिनुपर्ने मेरो जिम्मेवारी थियो ।
जब म मञ्च पुगेर उभिए अनि झनै लाग्यो अब त म उहि सोरठीको समयमा पुगे । नाटककै बारेमा छोटो भुमिका बाँधेर छोटो औपचारिक कार्यक्रमलाई अगाडि बढाउन सुरु गर्दै थिए । प्रिमियर मञ्चन कार्यक्रममा पाल्नुभएका प्रमुख अतिथि पुर्व मन्त्री, प्रतिनिधि सभाका सांसद तथा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङलाई मञ्चमा आमन्त्रण गर्दै गर्दा उहाँको नाम नै बिर्सिन पुगेछु ।
आजसम्म स्थानिय, राष्ट्रिय केहि विदेशका मञ्चहरुमा मैले थुप्रै खाले कार्यक्रमहरुको सञ्चालकको रुपमा भुमिका खेलेको छु । तर कहिले पनि यस्तो अवस्था सिर्जना भएको थिएन । कि म प्रमुख अतिथिकै नाम भुलौं । अब म मञ्चमा निम्त्याउँदछु आजका प्रमुख अतिथि, त्यसपछि दिमाग शुन्य । चिरपरिचित दुइतिन जना व्यक्तित्वलाई मात्रै मञ्चमा बोलाउने कार्यक्रम भएकाले लिखित कार्यक्रम तालिका पनि बनाएको थिएन, एकैछिन रोकिए । के गर्ने कसो गर्ने भए । त्यो भन्दा अगाडि मञ्चको पछाडि पट्टि गएर सम्मान पत्र लिएर आए त्यहाँ लेखिएको थियो प्रमुख अतिथि धनराज गुरुङको नाम ।
म चर्चित नेता पुर्व मन्त्री धनराज गुरुङको नाम बिर्सिने, त्यो पनि मेरो नै गृहजिल्ला अनि क्षेत्रका जनप्रतिनिधि प्रतिनिधि सभाका माननिय सांसदको, अझै नाटक मञ्चन अगाडि सम्मानपत्रहरुमा मैले नै हस्ताक्षर गराउँदै केहि संवाद गरेका थियौ । उहाँको नाम नै बिर्सने हुनै सक्दैनथ्यो ।
म यसरी सोरठी नाटकको कथामा हराउँन पुगेछु नी पत्तै पाईनछु । साच्चै नाटकको कथा अनि प्रस्तुतिको प्रभाव बडो उत्कृष्ट । जसले मलाई मेरो प्रमुख जिम्मेवारी नै भुलाईदियो अनि लग्यो उहि सोरठीको समय अनि परिवेशमा । म उभिएको मञ्चबाट नै भर्खरै सोरठी नाटकको प्रस्तुति सकिएको थियो । जसले सिर्जना गरेको परिवेश अनि कथामा नै थिए शायद त्यसैले तत्काल निस्किन सकिनछु । जेहोस आफुलाई सोरठी कथा अनि परिवेशबाट निकाल्ने प्रयास गरेर छोटो औपचारिक कार्यक्रममा केहि सहयोगी संस्थाहरुलाई सम्मान सहितको छोटो औपचारिक कार्यक्रमलाई सहजीकरण गरिदिए ।
प्रमुख अतिथि पनि रुनुभयो
प्रमुख अतिथिज्यूले आफुलाई नाटकले रुवाएको कुरा उल्लेख गर्दै खुलेर प्रसंसा गर्नुभयो । साथै नाटक हेर्न फेरि पनि आउने कुरा बताउँदै यति राम्रो नाटक मञ्चनको लागि निर्धारण गरिएको समय भन्दा धेरै समय प्रदर्शन हुने विश्वास समेत व्यक्त गर्नूभयो । निर्देशक, कलाकारहरु साथै उपस्थित दर्शक दिर्घाबाट चर्को हुटिङ आयो । सायद त्यो बोली उनीहरुको पनि थियो ।
त्यसभन्दा अगाडि सोरठी नाटकको संरक्षकको रुपमा रहेको संस्था नेपाल मगर संघका अध्यक्ष ज्ञानेन्द्र पुन मगरले यस्ता कला संस्कृतिको संरक्षण र विकासको जिम्मा राज्यको पनि भएको भन्दै विशेष त मगर राजा जयसिङ्गे राजा र सोरठीमा आधारित गीती कथालाई नाटकमा मञ्चन गरेर सोरठी टिमले ठुलो र उत्कृष्ट काम गरेको भन्दै नाटक हेरिदिनका लागि पनि सबैलाई आग्रह गर्नुभयो ।
जीवित भएर आए जैसिङ्गे राजा र हैमती रानी र सोरठी
हो, मगर जाति तथा नेपालकै एक प्रसिद्ध लोकसंस्कृति सोरठी गीतीनाटक अब सुन्ने, गाउँने र नाच्ने मात्र होइन हेर्ने बनेको छ । अनि सोरठी गीतमा उल्लेख गरिएर गाइने पात्रहरुलाई जिवन्त चरित्रमा उतारिएको छ । नाटक हेर्दा लाग्छ जैसिङ्गे राजा र हैमती रानी र सोरठीहरु सबै अझै यहि धर्तीमा जिवित छन् । नाटक हेर्दै गर्दा हामीले गाउँदै नाच्दै आएको सोरठी संस्कृतिको रहस्य पनि उजागर गरेको छ । त्यो रहस्य थाहा पाउने जिम्मा भने एकपल्ट शील्पी नाटकघरमा नै गएर नाटक हेरेर थाहा पाउनका लागि तपाईलाई नै जिम्मा लगाइदिए ।
सोरठीले उजागर गरेका केहि नयाँ कुराहरु
यो नाटकले पुरानो कथा र संस्कृतिलाई चित्रित गरेपनि केहि महत्वपुर्ण नयाँ कुराहरुको पनि उजागर गरेको छ । प्रकाशोन्मुख उपन्यास सोरठी नाटकको लेखन संजय काउछा मगरले गर्नुभएको छ । जसलाई काउछा मगर सहित नाटकको परिकल्पना तथा निर्देशन गर्नुभएको छ संगीता थापा मगरले ।
एक शसक्त महिला नाटक निर्देशकको उदय
रंगमञ्चको क्षेत्रमा सोरठी नाटकले उजागर गरेको छ, एउटा नयाँ शसक्त महिला निर्देशकलाई । आफैमा एक पोख्त कलाकार त्यो भन्दा अगाडि बहुचर्चित गजलकारको रुपमा परिचित संगीता थापा मगरले सोरठीबाट नाटक निर्देशकको रुपमा डेब्यू गर्दै गर्दा एउटी महिलाले पनि उत्कृष्ट काम गर्न सक्छ भन्ने प्रमाणित गर्दै नगन्य महिला निर्देशकहरुमध्येमा आफुलाई शसक्त रुपमा उभ्याउनु भएको छ ।
हुन त संगीता यत्तिकै निर्देशक बनेकी होइनन् । डेढ दर्जन भन्दा बढि नाटकहरुमा अभिनय, एक नाटकमा सहनिर्देशन, साथै थुप्रै चलचित्र तथा म्युजिक भिडियो विज्ञापनहरुमा शसक्त अभिनय गर्दै आज सोरठी मार्फत एउटी निर्देशकको रुपमा पाइला टेकेकी हुन् संगीताले । विशेष त गजलमा आफ्नो बेग्लै पहिचान बनाएकी संगीता मिठो गाउन पनि सक्छिन् । निर्देशकको रुपमा पहिलो पाइला टेकेर उभिदै गर्दा उनका खुट्टाहरु धेरै पल्ट लर्खराए होलान् अनि यहाँसम्म आइपुग्दा धेरै पल्ट लडेकी पनि छिन् होला । तर जेहोस अब एउटी महिला निर्देशकको रुपमा अब आफुलाई उभ्याउन सफल भइसकेकी छिन् ।
अगाडिको अबको यात्रा भने उनीसँगै दर्शकहरुको माया, साथ, सहयोग अनि सल्लाह सुझावमा पनि कहि न कहि निर्भर गर्छ होला । त्यसैले पनि नाटकमा करिब २५ जनाको टोलीलाई एक एक साना साना कुराहरुलाई नियाल्दै नेतृत्व गरेर कलाकारिताको माध्यमबाट उजागर गराई उत्कृष्ट नाटक पस्किएर एउटा शसक्त निर्देशकरुपमा आफुलाई सावित गरिसकेकी छिन् । त्यसैले अबको यात्राको सारथी तपाई हामी बनिदिनको लागि पनि शिल्पी नाटक घरमा पुगेर एकपल्ट सोरठी हेर्नै पर्ने हुन्छ ।
मौलिक संस्कृतिको सशक्त उठान
सोरठी मञ्चन सुरु भएपछि अर्को कुरा, जसरी पछिल्लो समयमा कला, साहित्यको क्षेत्रबाट मौलिक कलासंस्कृतिहरुको उठान गरिन थालिएको छ । विभिन्न जातजातिका कथाहरुलाई उठान गरिएको छ । तिनै विषयवस्तुहरुले पछिल्लो समयमा गब्जबको बजार पाएका छन् र धेरै सफल पनि भएका छन् । चलचित्रहरुमा पनि विभिन्न जातजातिका कथाहरुलाई उठान गर्दै गर्दा धेरै सफल बनेका छन् ।
यसको पछिल्लो उदाहरण हो मगर कथानक चलचित्र घरज्वाई । मगर जातिकै कथावस्तुमा अनिल बुढा मगरको लेखन तथा निर्देशनमा बनेको घरज्वाईले नेपाली सिनेक्षेत्रमा गज्जबले बजार जमाईरहेको छ । चलचित्र हलहरुमा घरज्वाईले असार २८ गते देखि आजसम्म बजार जमाईरदा यता शिल्पी नाटक घरमा मञ्चन सुरु भएको सोरठीले फेरि अर्को मौलिक संस्कृतिलाई सशक्त रुपमा रंगमञ्चमार्फत उजागर गरेको छ । जसले संस्कृतिको संरक्षण, सम्वद्र्धन गर्दै पहिचान स्थापित गर्नका लागि पनि महत्वपुर्ण भुमिका खेलेको छ । नाटक मञ्चन सकिएपछि दर्शकहरुबाट आउने प्रतिक्रियाहरु अनि सोरठी उपन्यासको प्रकाशन पछि यसले अझै विशेष महत्व बोक्ने नै छ ।
आफ्नै कथा अनि नयाँ पुस्तालाई साथ र विश्वास
नाटक हेरेसकेपछि मलाई लागेको अर्को कुरा, सोरठी नाटकका पात्रहरु जो धेरै पछिल्लो पुस्ताका र चिरपरिचित तर नयाँ नयाँ कलाकार छन् । जसले उत्कृष्ट प्रस्तुति दिएका छन् । योसँगै नाटकमा सबैभन्दा पाको र वरिष्ठ कलाकार कविता आले मगरको पनि विशेष भुमिका रहेको छ । जसले पनि के कुराको उजागर गरेको छ भने नयाँ निर्देशक, नयाँ लेखकहरुप्रति विश्वास अनि आफ्ना कथा भन्न आफ्नो दायित्व र भुमिका हुन्छ भन्ने कुराको मनन गर्न सकेमा पनि बेग्लै सफलता अनि सन्तुष्टि मिल्छ भन्ने । साथै एक जना पाको र अनुभवि कलाकारको उपस्थितिले सिंगो प्रस्तुतिलाई कति परिपक्क पार्न भुमिका खेल्छ भन्ने कुराको पनि पुष्टि भएको छ । वरिष्ठ कलाकार आदरणीय कविता दिदीसँग मञ्चमा नै एकैछिन कुरा गरे ।
उहाँले भन्नुभयो “कति कुराहरु त्यागेर कलाकारिताको क्षेत्रमा नै लागियो । आज आएर आफ्नै समुदायको कथामा सानो भुमिका निभाउन पाउँदाको अनुभव बेग्लै हुने रहेछ । यो नाटकको भुमिकालाई आफ्नै जीवन र आफैप्रतिको दायित्व र जिम्मेवारी पनि ठानेको छु ।”
उहाँको कुराले के पनि पुष्टि गर्छ भने कतिपय आफुभित्रका कुराहरु, विषय, कथावस्तुहरुलाई पनि हामीले उजागर गर्न सकेका छैनौ । कस्तुरीले बीनाको सुगन्ध खोजेर भौतारिए जस्तै हामी भौतारिराखेका छौ । हो, त्यसैले पनि बीना आफैसँग छ, त्यसलाई चिनौ । सोरठी विशेष त मगर समुदाय साथै अन्य जातजाति र नेपाली समुदायको आफैभित्रको कस्तुरीको बीना जस्तै हो ।
लेखक, परिकल्पनाकार तथा निर्देशकका आफ्नै कथा
आज, सोरठी प्रकाशोन्मुख उपन्यास साथै नाटकबाट लेखक संजय काउछा मगरले सोही बीनाको सुगन्धलाई चिन्नुभएको छ । विशेषत मगर समुदायमा साथै नेपाली समाजमा सुनिदै, गाईदै र नाँचिदै आएको मौलिक संस्कृति सोरठी मगर राजा जयसिंङगे, रानी हैमती र छोरी सोरठीको गितिगाथामा आधारित रहेको छ । हुन त यसको अझै गहिराईमा र व्यापक रुपमा अध्ययन गर्न बाँकी नै होला । हाम्रा मौखिक र कथ्यशैलीमा मात्रै रहेका ईतिहासहरुलाई दस्तावेजीकरण गर्नु आवश्यक छ । त्यसकै एउटा महत्वपुर्ण र ऐतिहासिक कामको रुपमा पनि देखिन्छ नाटक सोरठी ।
सोरठी मञ्चसम्म आइपुग्दा सम्मका आफ्नै कथा र ईतिहास रचिएको छ । लेखक संजय काउचा मगर कतिपयलाई नयाँ नाम लाग्न सक्छ तर उहाँ आफैमा कलासंस्कृति अनि साहित्यप्रति अति माया गर्ने व्यक्ति हुनुुहुन्छ । माया मात्रै होईन थुप्रै कामहरु समेत गरिसक्नु भएको छ । विशेषत मगर संस्कृति लगायत अन्य वियषमाथी चलचित्रहरुको निर्माण तथा निर्देशन, कविता, नाटक, कथा, उपन्यास जस्ता साहित्यीक कृतिहरु समेत प्रकाशन गरिसक्नु भएका उहाँले मगर संस्कृति सहितका खानाहरुलाई समेत मगर किचन मार्फत संरक्षण प्रवद्र्धन र व्यवसायिकता तिर लैजाने प्रयास समेत गर्नूभएको छ ।
सिर्जनशिलता र नविनतम प्रयासको मिठा अनुभुतिहरु सजाउँदै त कति असफलताका खाडलमा निस्सासिएका अनुभवबाट निस्किएर निरन्तर प्रयास गर्न नथाक्ने संजयले सोरठीलाई मञ्चसम्म ल्याएर ईतिहास भित्र अर्को ईतिहास रच्नुभएको छ ।
यो ईतिहास रच्नमा र सोरठीलाई मञ्चसम्म ल्याईपुर्याउनमा निर्माण संयोजन र सहयोगीको रुपमा यम ल्हायो मगर र प्रमोद खड्काले साथ दिनुभएको छ । भने केहि सिमित व्यक्ति र संघसंस्थाहरुले साथ दिएका छन् । धेरैथोरै जे जस्तो साथसहयोग दिएर भए पनि जो जोडिए ति व्यक्ति अनि संघसंस्थाहरु पनि यो ऐतिहासिक कामका साक्षी बनेका छन् ।
नाटकको गहिराई, यसको उचाई र यसको गहुङ्गोपनलाई बुझ्ने हैसियत त म राख्दिन । तर सोरठी हेरिसकेपछि मेरो मनलाई छोयो, सोरठीको रहस्यलाई उजागर गरिदियो अनि कलाकार र मञ्चमार्फत निर्देशकले मलाई जैसिङ्गे राजाको त्यो समय र परिवेशमा पुर्यादिए । जसले मेरो मन छोयो, म मज्जाले हाँसे, सबैभन्दा आनन्द रुवाईको नै लाग्छ । हो, नाटकले मलाई मज्जाले रोवायो, दुःखी बनायो, खुशी बनायो अनि सन्तुष्टी दिलायो । त्यो सँगै सोरठीको बारेमा अझै कौतुहलता जगाईदियो अनि सोरठी टिमसँगै सामान्य सहकार्य गर्न पनि पाए यति कुराले पनि भन्न सक्छु सोरठी एक उत्कृष्ट नाटक बनेको छ । यो नाटक लेखक, परिकल्पनाकार तथा निर्देशकहरुले चरम अभावबाट पनि सम्भव बनाएका हुन् । जसको मञ्चसम्म आईपुग्दाका दौरानमा बेग्लै कथा रचिएको छ । जसलाई फेरि कुनै बेला समयले आफै लेख्नेछ । त्यसैले पनि नाटक सोरठीलाई सबैले एकपल्ट नाटक घरसम्म पुगेर हेरौँ ।
सोरठी नाटक टोली
लेखक तथा निर्देशक सञ्जय काउछा मगरले साथै अर्का परिकल्पना तथा निर्देशक संगीता थापा मगरले आफ्नै समुदायको ऐतिहासिक गीतीकथा सोरठी संस्कृतिको कथालाई नाटकमा कलाकारहरु कविता आले मगर, पुनम लक्ष्मी मगर, हेमन्त लामिछाने, आरुषजङ्ग सारु मगर, अस्मिता बुढा मगर, मानबहादुर राई, खुशी सुनुवार, विशाल पुलामी मगर, रमिला मोक्तान, निस्सोम मगर, गंगा मगर, सुनिल राई, प्रविन मगर र संगीता थुलुङ राई मार्फत जीवन भरेका छन् ।
साथै नाटकको नेपथ्यबाट नाटकलाई जिवन्त बनाउने जिम्मेवारी मञ्च परिकल्पना, संगीता थापा मगर र इंगिहोपो कोईच सुनुवारले गर्नुभएको छ भने शिव परियार, सुनिल राई, मानबहादुर राई, निस्सोम मगरले मञ्च निर्माण गर्नुभएको छ । त्यस्तै डिजिटल मञ्च स्केच रसिक राजको रहेको छ भने मञ्च सामाग्रीहरु सुनिल राई, मानबहादुर राई, निस्सोम मगर र नाटक समुहको रहेको छ ।
त्यस्तै नाटकमा प्रत्यक्ष संगीत एलिना राई, राकेश राई र सन्देश मानन्धरको रहेको छ । ध्वनि परिचालन अजय लामा, प्रकाशको परिचालन संजिव योगी र नाटकमा कोरियोग्राफर, मणि के. राईले गर्नुभएको छ । सोरठीको पोस्टर स्केच भने विवेक मुकारुङ्गले गर्नुभएको हो । मञ्च व्यवस्थापनमा निस्सोम मगर साथै संगीत संयोजन/शब्द/भेषभुषामा निर्देशक संगीता थापा मगरकै रहेको छ भने मेन्टर तथा प्रकाश परिकल्पना इंगिहोपो कोँइच सुनुवारको रहेको छ ।
अन्तमा,
शील्पी नाटकघरमा यहि भदौ ६ गते प्रिमियर मञ्चन भएर ७ गते देखि मंगलबार बाहेक हरेक दिन बेलुकी ५ः३० बजे र शनिवार दिउँसो १ बजे थप शो गरि यहि भदौ ३० गते सम्म नियमित मञ्चन भइराखेको सोरठी एउटा नाटक हो । तर यो नाटक मात्रै होइन हेर्नलायक एउटा उत्कृष्ट नाटक हो । यो एउटा ईतिहास हो । यो एउटा रहस्यको उजागर हो । यो एउटा कलाको माध्यामबाट महत्वपुर्ण सांस्कृतिक सम्पत्तिको दस्तावेजीकरण गरिएको कदम हो । पहिचान र अस्तित्वको शसक्त आन्दोलन हो । युवाहरुको हुटहुटीले जन्माएको एउटा उत्कृष्ट रचना हो । कला र सिर्जनशिलतामा गरिएको साधनाको एउटा प्राप्ती हो ।
सोरठी नाटक टिमले जति गर्ने गरिसकेको छ । अब यसलाई सफल पार्ने, यसलाई निखार्ने, यसलाई माझ्ने, यसका कमिकमजोरीलाई सुधार्ने, अपुर्णतालाई पुर्ण बनाउने, ईतिहासलाई बुझ्ने संरक्षण गर्ने, यसको प्रवद्र्धन र विकास गर्ने, कलाकारहरुलाई बचाउँदै अझ राम्रो गर्नका लागि प्रोत्साहन गर्ने यी सबै जिम्मा अब तपाई हामी आम दर्शकहरुको हातमा छ ।
नाटक मञ्चन प्राविधिक रुपमा पनि अति नै संवेदनशील र कठिन छ । नाटक चलचित्र जस्तो एक पल्ट निर्माण गरेपछि सजिलै देखाउन सकिने र जहिले पनि देखाउन सकिने होइन । यो एउटा ठुलो नाटक टोली र नाटक घरको संयोजन हो । प्रत्येक मञ्चन नयाँ हुन्छन् । पछि हेरौला नी भनेर हेर्न पनि पाईदैन । सोरठी टोलीले यति राम्रो ऐतिहासिक एउटा उत्कृष्ट नाटक पस्केको छ । त्यसैले एकपल्ट स-परिवार शिल्पी नाटक घरमा पुगेर शील्पी हेर्न नछुटाउनुहोला । समय आउँछ पर्खिदैन, अवसर आउँछ फर्किदैन ।
जिलौ ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्