तीन ट्रक खसीसहित ६ जना पक्राउ

काठमाडौं –रुपन्देहीको देवदह नगरपालिका–९ स्थित घोडाहा ईलाकाबाट सशस्त्र प्रहरीले करिव २३ लाख ७३ हजार बराबरको चौपायासहित ६ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका ९ बस्ने ४३ वर्षिय प्रेम पण्डित, काठमाडौं जिल्लाको नागार्जुन नगरपालिका ७ भिमढुङ्गा बस्ने ३३ वर्षिय उमेश खत्री, दाङ जिल्लाको गढवा गाँउपालिका ५ बस्ने २५ वर्षिय अभिषेक यादव, बाँके जिल्लाको राप्ती सोनारी गाँउपालिका २ बस्ने ३४ वर्षिय ईश्वर पाण्डे, सोही गाँउपालिका १५ बस्ने १९ वर्षिय दिलिप सुनाखर र १८ वर्षिय राजु सुनाखर छन्।
उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल नम्वर ३८ गुल्म हेक्वा रुपन्देहीबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो। ना ७ ख ३४०, ना ६ ख ६६४८ र ना ५ ख ६६४१ नम्वरको ट्रकमा पश्चिमबाट पूर्वतर्फ लैजादै गरेको उल्लेखित मुल्य बराबरको ६ सय ७८ बटा खसीसहित उनीहरुलाई पक्राउ गरिएको हो। उनीहरु सो ट्रकका चालक तथा सहचालक हुन्।
सशस्त्रले पक्राउ परेकाहरुलाई बरामद खसी तथा उक्त ट्रकसहित आवश्यक कारबाहीको लागि भैरहवा भन्सार कार्यालय रुपन्देहीमा बुझाएको छ। उक्त खसी तथा ट्रकको भन्सार मुल्य एक करोड १३ लाख ७३ हजार रुपैयाँ रहेको छ। यता, सुनसरी जिल्लाको कोशी गाँउपालिका ८ स्थित तीनकुनेबाट मंसीर १ गते एपीएफ टोलीले करिव पाँच लाख ५६ हजार रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको छ।
काँकडभिट्टाबाट काठमाडौंतर्फ जाँदै गरेको ना ५ ख ४८१७ नम्वरको यात्रुवाहक बसबाट उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट हरिपुरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो। एपीएफ टोलीले बरामद लत्ताकपडा सेतुबन्धु भन्सार कार्यालय सुनसरीमा बुझाएको छ।
क्याटेगोरी : अन्य
तपाईको कमेन्ट लेख्नुहोस्