श्रम स्वीकृतिको सास्ती उस्तै

काठमाडाैं – वैदेशिक रोजगार कार्यालय ताहाचलमा २०७५ मंसिर ९ गते सेवाग्राहीको भीड थेगिनसक्नु थियो । कतिपयले मन्त्रीलाई गुहार्दा पनि श्रम स्वीकृति पाएनन् । त्यसकै ‘लाइभ’ अन्नपूर्ण पोस्ट्को अड्डामा अन्नपूर्ण अंक २ मा प्रकाशन गरिएको थियो । ठीक एक वर्षपछि आइतबार अड्डामा अन्नपूर्णको टोली पुनः ताहाचल पुग्दा श्रम स्वीकृतिको सास्ती उस्तै भेटियो ।
समयमा काम नबन्दा कतिपयले उडान रद्द गर्नुपरेको थियो । अधिकांश त उडान छुट्ला कि भन्ने चिन्तामा देखिन्थे । सरकारले प्रदेशबाट श्रम स्वीकृति दिने व्यवस्था गरे पनि त्यसका लागि सेवाग्राही काठमाडौंमै आउने गरेको भेटियो ।
साँझ साढे ५ बजेको थियो, उदयपुरका छविन्द्रबहादुर मगर हतास देखिन्थे । घडी हेर्दै भन्दै उनी थिए, ‘बर्बादै भयो ।’ उनी आइतबारै साउदी अरब उड्नुपर्ने रहेछ । ‘आज (आइतबार) राति १० बजेको टिकट हो । काम भएन भने त बर्बादै हुन्छ’, उनी साथीहरूसँग दुखेसो गर्दै थिए, ‘कति बेला काम हुन्छ अनि होटल पुगेर सामान लिई एअरपोर्ट जाऔं ? ’ उनी बिहान ११ बजे कार्यालय पुगेका थिए । झन्डै चार घण्टा त लाइन लागेर पासपोर्ट बुझाए । ‘अझै काम भएको छैन’, उनले भने ।
पहिलो पटक विदेश जान श्रम स्वीकृति लिनेदेखि नवीकरण गर्न आउनेको भीड थेगिनसक्नु थियो । अधिकांश नेपाली कामदार दसैंको समयमा स्वदेश आएर छठपछि फर्किने भएकाले श्रम स्वीकृति लिन भीड लाग्ने गरेको कर्मचारीले बताए । यो समाचार आजको अन्नपूर्णपोष्ट दैनिकमा छ ।
क्याटेगोरी : अन्य
तपाईको कमेन्ट लेख्नुहोस्