Techie IT
  • २१ वैशाख २०८२, आईतबार
Sajha Hub

चितवन मेडिकल कलेजको होस्टेलबाट पेस्तोल र गोली बरामद


काठमाडौँ — चितवन मेडिकल कलेजको होस्टेलबाट प्रहरीले गोलीसहित पेस्तोल फेला पारेको जनाएको छ । भरतपुर महानगरपालिका ५ मा रहेको कलेजको होस्टेल परिसरमा पेस्तोल फेला परेको चितवन प्रहरीले जनाएको छ ।

चितवन प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले भने प्रतिबन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्दका छोरा प्रकाश चन्दको कोठामा पेस्तोल बरामद गरिएको जानकारी दिए । उनले भने, ‘प्रकाशको कोठाबाट गोली भरिएको पेस्तोल बरामद गरियो, तर अहिलेसम्म कोही प्रक्राउ परेका छैनन् । मल्लले मेडिकल कलेज परिसरमा प्रहरीले सुरक्षा दिइराखेको बताए । ‘अनुसन्धानका लागि कलेजका सेक्युरिटी गार्डलाई भने नियन्त्रणमा लिएका छौं,’ उनले भने ।

चितवन मेडिकल कलेजका विद्यार्थीले भाद्र ५ गतेदेखि शुल्क फिर्ताको मागसहित आन्दोलित छन् । आन्दोलनका कारण कलेजको पढाइ र उपचार प्रभावित हुँदै आएको छ । आइतबार देशभरका मेडिकल कलेजका विद्यार्थीले चितवनमा शुल्क फिर्ताको मागसहित प्रदर्शन गर्ने कार्यक्रम तय भएको थियो ।

त्यसको अघिल्लो दिन प्रहरीले हतियार बरामद गरेको हो । मेडिकल कलेजको होस्टलमा बस्ने एक छात्रले भने प्रहरीले मेडिकल कलेजभित्र पसेर विद्यार्थीलाई त्रसित बनाएको जनाए । प्रकाश चन्द चिकित्सा शिक्षा संघर्ष समितिका संयोजक हुन् ।

वैध रूपमा बढी लिएको शुल्क फिर्ताको माग गर्दै आइरहेका विद्यार्थी आइतबारदेखि अर्को चरणको आन्दोलन गर्ने तयारी भइरहेको समयमा होस्टेलमा पेस्तोल फेला परेको प्रहरीले जनाएको छ। यता, पेस्तोल बरामद भएको घटनाबारे प्रतिक्रिया दिँदै विद्यार्थीले आफूहरूलाई फसाउन खोजिएको आरोप लगाएका छन्।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्