तेह्रौं सागको भव्य उद्घाटन

काठमाडौँ – १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को आइतबार साँझ एक विशेष समारोहका बीच भव्य उद्घाटन गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले १३औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) को आज साँझ दशरथ रङ्गशालामा आयोजित निकै आकर्षक र भव्य समारोहबीच उद्घाटन गरेकी हुन्।
सहभागी मुलुकका खेलाडीको मार्च पासबाट शुरु भएको उक्त समारोहको राष्ट्रपति भण्डारीले व्यवस्थित र भव्यरुपमा सिँगारिएको दशरथ रङ्गशालामा आयोजित विशेष समारोहमा साँझ १७:५७ बजे प्रतियोगिता शुरुआत भएको घोषणा गरिन्।
राष्ट्रपतिबाट प्रतियोगिता उद्घाटन भएको घोषणा भइरहँदा आतशबाजी र पटका पड्काएर समारोहलाई थप आकर्षक र मनोरञ्जनात्मक तुल्याइएको थियो। यसअघि समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपाल सरकारले सागलाई सफल तुल्याउन निकै प्राथमिकता दिएर पूर्वाधार निर्माणमा विशेष ध्यान दिएको बताए। उनले भने, ‘यो खेलकुद प्रतियोगिता प्रतिस्पर्धा र पदक मात्र होइन, सार्क मुलुकबीचको एकता र मित्रता पनि हो।’
समारोहमा सात हजार ५०० को सङ्ख्यामा रहेका कलाकारले नेपालका साथै सदस्य मुलुकको मौलिक संस्कृति झल्कने विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरे। समारोहमा कला र सांस्कृतिक कार्यक्रमको माध्यमबाट नेपालको नक्साको आकारसहितको राष्ट्रिय झण्डाको आकृति बनाइने कार्यक्रम रहेको छ। मुलुकका सातै प्रदेश पुर्याएर ल्याइएको सागको ज्योति समारोहमा प्रवेश गराइएको थियो।
काठमाडौं, पोखरा र जनकपुरमा आजदेखि २४ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताका माध्यमबाट नेपालको इज्जत, प्रतिष्ठा र खेल क्षेत्रको गौरव बढाउने विश्वास गरिएको छ। तयारी समितिका संयोजक रिमबहादुर रानाभाटले प्रतियोगितामा ५९४ खेलाडीको सहभागिता रहने जानकारी दिए।
उद्घाटनमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, कलाकार, विद्यार्थी र विभिन्न जातजातिका झाँकी प्रस्तुत गरिएको थियो। सातवटै देशका खेलाडीको मार्चपासबाट सुरु भएको उद्घाटन सत्रमा कलाकारले नेपालको राष्ट्रियता झल्कने प्रस्तुती दिएका थिए ।
सागलाई सफल तुल्याउन करिब १८ हजार सुरक्षाकर्मी र ५०० स्वयंसेवक परिचालन गरिएको छ। सन् १९८४ मा स्थापना भएको सागको १३औँ शृङ्खलासम्म आइपुग्दा नेपालले यसअघि दुई प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरिसकेको छ।
क्याटेगोरी : खेलकुद
तपाईको कमेन्ट लेख्नुहोस्