सर्वोच्चको न्यायाधीशमा सिफारिस हुन वैदिकले दिए न्याय परिषदबाट राजीनामा

काठमाडौँ – सर्वोच्च अदालतमा रिक्त रहेको न्यायाधीश पदमा सिफारिस हुने भएपछि न्याय परिषद सदस्य पदम वैदिकले परिषद सदस्यबाट राजीनामा बुझाएका छन् । वैदिकले बुधबार नै राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष न्याय परिषद सदस्यबाट राजीनामा बुझाएका हुन् ।
सर्वोच्चको न्यायाधीशमा सिफारिस हुने पक्का भएपछि उनले राजीनामा बुझाएको बताइएको छ । उनी पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा न्याय परिषद सदस्यमा नियुक्त भएका थिए ।
उनलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गर्ने प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले प्रस्ताव गरेका हुन् । जबराको प्रस्तावलाई समितिकै सदस्यहरुले विरोध जनाएका छन् ।
सरकारको प्रतिनिधिका रुपमा परिषदमा रहेका वैदिकलाई सर्वोच्चमा रिक्त न्यायाधीश पदमा सिफारिस गर्ने प्रस्तावलाई कानून, न्याय तथा संसदीय मामिला उपप्रधानमन्त्री उपेन्द्र यादव र वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीले असहमति जनाएका हुन् । मंसिर ३ गतेदेखि केदारप्रसाद चालिसेले उमेर हदका कारण अवकास पाएपछि सर्वोच्चमा एक न्यायाधीशको पद खाली छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्