Techie IT
  • २१ वैशाख २०८२, आईतबार
Sajha Hub

चीनले दियो काठमाडौं–पोखरा र पोखरा–लुम्बिनी रेलमार्गको प्रतिवेदन


काठमाडौं – चीनले काठमाडौं–पोखरा र पोखरा–लुम्बिनी रेलमार्गको प्रारम्भिक अध्ययन प्रतिवेदन नेपाललाई हस्तान्तरण गरेको छ । नेपाल चीनबीच केरुङ–काठमाडौं सीमापार रेल निर्माण गर्ने समझदारीमा नै काठमाडौं–पोखरा र पोखरा–लुम्बिनी रेलमार्ग पनि बनाउने उल्लेख थियो ।

चीनले गरेको प्रारम्भिक अध्ययनमा काठमाडौं–पोखरा रेलमार्ग करिब १६८ किलोमिटरको हुने देखिएको रेल विभागका सिनियर डिभिजन इन्जिनियर तथा प्रवक्ता अमन चित्रकारले बताए । उनका अनुसार यो रेलमार्ग काठमाडौंबाट कुरिनटार भएर पोखरा जानेछ । प्रतिवेदनमा यी दुई रेलमार्ग बनाउन ठूलो भौगोलिक जटिलता नरहेको उल्लेख छ ।

यसैगरी पोखरा–लुम्बिनी रेलमार्ग कुरिनटारबाट भरतपुर हँदै बुटवल र त्यहाँबाट लुम्बिनीको मायादेवी मन्दिरको परिसरसम्म पुग्नेछ । यो रेलमार्ग करिब १५७ किलोमटर लामो हुनेछ ।

‘हाम्रो लागि निकै खुसीको कुरा हो कि लुम्बिनीको बुद्ध जन्मस्थलसम्म नै रेलमार्ग बनाउन सकिने गरी अध्ययन भएको छ,’ चित्रकार भन्छन् । यो रेलमार्ग भरतपुरबाट बुटवलसम्म पूर्वपश्चिम रेलमार्गमा पनि जोडिने सम्भावना छ । बुटवलबाट लुम्बिनीसम्म भने थप रेलमार्ग बनाउनुपर्नेछ ।

‘केरुङ काठमाडौं रेल ४ हजार मिटर १४ सय मिटरमा झर्नुपर्छ,’ उनी भन्छन्, ‘तर काठमाडौं–पोखरा र पोखरा–लुम्बिनी रेलमार्ग निर्माणका लागि तुलनात्मक रुपमा त्यति धेरै भौगोलिक चुनौती छैन ।’

यी दुबै रेलमार्ग निर्माण गर्दा करिब १० देखि १२ किलोमिटर मात्रै सुरुङ निर्माण गरे पुग्नेछ । केरुङ–काठमाडौं रेलमार्गमा भने अधिकांश खण्डका सुरुङ र पुल बनाउनुपर्ने देखिएको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्