Techie IT
  • २२ वैशाख २०८२, सोमबार
Sajha Hub

नयाँ वर्षमा पोखराको रत्न मन्दिर खुलाइने


पोखरा – सरकारले अङ्ग्रेजी नयाँ वर्ष २०२० को अवसर पारेर पोखरास्थित शाही राजाको दरबार रत्न मन्दिर सर्वसाधारणका लागि खुला गर्ने तयारी गरेको छ । फेवाताल किनारमा अवस्थित पर्यटकका लागि आकर्षणको सम्भावना बोकेको रत्नमन्दिर र हिमागृह देशमा राजतन्त्रको अन्त्य भएर गणतन्त्र स्थापनापछि बन्द भएको थियो ।

सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर पुस १६ गते औपचारिक कार्यक्रमसहित रत्न मन्दिर खुला गर्ने तयारी सरकारको छ । पहिलो चरणमा रत्न मन्दिर र त्यसको केही महिनापछि हिमागृहसमेत खुलाउने योजना सरकारले जनाएको छ ।

गणतन्त्र घोषणापछि तत्कालीन राजा वीरेन्द्र र ऐश्वर्य तथा उनीहरुको परिवारजनको नाममा रहेका सम्पूर्ण सम्पत्ति नेपाल ट्रष्ट मातहतमा ल्याउने सरकारी निर्णयानुसार रत्न र हिमागृह समेत ट्रष्टको स्वामित्वमा आएको थियो ।

रत्न मन्दिरलाई खुला गरेर पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नुपर्ने आवाज यहाँका जनप्रतिनिधि तथा पर्यटन व्यवसायीले उठाउँदै आए पनि लामो समयपछि यसले सार्थकता पाउन लागेको हो ।

रत्न मन्दिर खुला गर्ने पूर्वतयारी तथा अन्य व्यवस्थापकीय कार्यका लागि नेपाल ट्रष्टका सदस्य सचिव राजेश्वर ज्ञवाली तथा ट्रष्ट सञ्चालक समिति सदस्यको टोलीले चार दिनसम्म पोखरामा रहेर सरोकारभएकासँग छलफल गरेको छ । त्यसक्रममा टोलीले प्रदेश सरकार, पोखरा महानगर तथा पर्यटन व्यवसायीसँग यसबारेमा छलफल गरेको थियो ।

सदस्य सचिव ज्ञवालीले दरबार खुला गर्ने निश्कर्षमा ट्रष्ट पुगे पनि अन्तिम निर्णय भइनसकेको बताए । उनले भने, “दरबार खुला गर्न अब ढिलाइ गर्नुहुँदैन उपयुक्त समय नयाँ वर्षको बेला हुन्छ भन्नेमा हामी पुगेका छौँ तर खुला गर्दा कसरी खुला गर्ने, कुन÷कुन क्षेत्रसम्म प्रवेश दिने, प्रवेश शुल्क कति राख्नेलगायतका बारेमा छलफल भयो । एउटा योजना तयार भएको छ ।”

राजधानी पुगेर ट्रष्टका अध्यक्ष एवं उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग थप छलफल गरेर निर्णय लिइने ज्ञवालीले बताए । दरबार खुला गर्नेबारेमा मन्त्री पोखरेलले नै अन्तिम निर्णय गर्ने बताइएको छ । शुरुमा ट्रष्टले आफ्नै कर्मचारीबाट व्यवस्थापनको कार्य गर्ने भएको छ । ट्रष्टको पोखरा कार्यालयमा कार्यरत ११ जना कर्मचारीबाट नै व्यवस्थापनको कार्य गर्ने तयारी गरिएको छ ।

दरबार खुला गर्नका लागि निरन्तर आवाज उठाउँदै आएका सोही क्षेत्रका प्रदेशसभा सदस्य राजीव पहारीले अब खुला गर्ने विषयमा कुनै पनि अवरोध नरहेको बताए ।

फेवाताल जलाधार क्षेत्र र रत्न मन्दिर संरक्षणका लागि प्रदेशसभा सदस्य पहारीले चालू वर्षमा पूर्वाधार विकास कार्यक्रमको दुई करोड बजेटमध्येबाट २५ लाख विनियोजन गरिएको छ ।

रत्नमन्दिर पूर्वराजपरिवारका सदस्य पोखरा आउँदा बसोबास गर्ने ठाउँ हो । तत्कालीन राजा महेन्द्रले यहाँ आउँदा बस्न मिल्ने गरी आफ्नो कान्छी श्रीमती रत्नको नामबाट दरबार निर्माण गरेका थिए ।

तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र विसं २०५८ जेठ १९ को दरबार हत्याकाण्डको रात तथा २०६२–६३ को दोस्रो जनआन्दोलन चरम उत्कोर्षमा पुगेको समयमा पनि करीब तीन महीना यही बसेका थिए ।

विसं २०६१ माघ १९ को शाही कदमपछि तत्कालीन राजा वीरेन्द्र र दरबारका नाममा रहेका अधिकांश सम्पत्ति राजा ज्ञानेन्द्रको स्वामित्वमा गए पनि रत्न मन्दिर भने तत्कालीन राजा वीरेन्द्रकै नाममा रहेकाले ट्रष्टको स्वामित्वमा आउन सहज भएको हो । रत्न मन्दिरको मुख्य भवनमा ११ कोठा छन् । परिसरभित्र प्रशासनिक भवन, फेवातालसँगै तालघर, सैनिक बस्ने ३८ कोठे लामो भवन छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्