ठेकेदार भाइले अधिकृत कुटेपछि वडाअध्यक्ष पक्राउ

रुकुम – रूकुम पश्चिममा पर्ने आठविसकोट नगरपालिका वडा नम्बर–३ का वडाध्यक्ष पक्राउ परेका छन् । आठविसकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसी र सूचना तथा सञ्चार प्रविधि अधिकृत गणेश चन्दमाथि कुटपिट भएपछि वडाअध्यक्ष केशरमान विकलाई प्रहरीले बुधबार राति पक्राउ गरेको हो ।
कार्यालयको काम सकेर डेरामा फर्किने क्रममा बुधबार साँझ वडाअध्यक्ष केशरमानका भाइ गोपाल बिकको समूहले केसी र चन्दमाथि लुकेर आक्रमण गरेको थियो । स्थानीय ठेकेदारसमेत रहेका गोपालले पहिलादेखि नै वडाध्यक्ष दाइको आडमा वडाका योजनामा हिनामिना गर्दै आइरहेका थिए ।
गोपालको समूहको आक्रमणमा परेका केसीलाई पाँच टाँका लगाइएको छ । वडाअध्यक्ष केशरमानमाथि ज्यानमुद्दामा अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय रूकुम–पश्चिमका प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए । उनका भाइ गोपाल भने फरार छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्