Techie IT
  • २२ वैशाख २०८२, सोमबार
Sajha Hub

‘निजगढ विमानस्थल निर्माणका लागि धेरै बनक्षेत्रको प्रयोग हुँदैन’


काठमाडौँ – निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणकार्य समयमै सक्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । राजधानीमा भएको विमानस्थल निर्माणसम्बन्धी विशेष छलफलमा बोल्दै सरोकारवालाहरुले देशको आर्थिक क्षेत्रको विकास, पर्यटन क्षेत्रको विकासका लागि निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण चाँडो सक्नुपर्ने बताएका हुन् ।

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले काठमाडौंबाट सबै भन्दा नजिकको अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अगाडि बढाउन धेरै बनक्षेत्रको प्रयोग नहुने बताए ।

टाँगिया वनक्षेत्रको पातलो कुल बन क्षेत्रको शून्य दशमलव शून्य तीन प्रतिशत मात्रै रुख कटान हुने उनको भनाइ छ । वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृत भएको उल्लेख गर्दै उनले रुख कटानका लागि नेपाली सेना र पूननिर्माण प्राधिकरणबीच सम्झौतापत्रमा हस्ताक्षर भइसकेको बताए ।

वन तथा वातावरण मन्त्रालय र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग छलफल गरी रुख काट्ने प्रकृया अगाडी बढेको उनले बताए । तत्कालीन हवाई विभागका महानिर्देशक विरेन्द्रबहादुर देउजाले नेपाललाई गरिबीको जञ्जालबाट मुक्त गर्न पर्यटन क्षेत्रको विकास आवश्यक रहेको र पर्यटनका लागि निजगढ विमानस्थल बन्नु आवश्यक रहेको बताए ।

क्याप्टेन विक्राम शाहले निजगढ विमानस्थलमा टर्मिनल भवन, रनवे, पार्कीङ लगायतका संरचना निर्माण गर्न अहिले १९ सय हेक्टर जमिन मात्रै आवश्यक रहेको बताए ।

बारा क्षेत्र नम्बर २ बाट प्रतिनिधित्व गर्नुहुने समाजवादी पार्टीका सांसद रामसहाय प्रसाद यादवले विमानस्थल निर्माणका क्रममा कटान हुने रुखको अनुपातमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार वृक्षारोपण गर्नुपर्ने बताए ।

काठमाडौंबाट सबैभन्दा नजिक, चरे क्षेत्रबाट १५ किलोमिटर र महाभारत क्षेत्रबाट ३५ किलोमिटर दक्षिणमा पर्ने विमानस्थल निर्माणमा कुनै अवरोध नरहेको सरोकारवालाहरुको भनाइ छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्