Techie IT
  • २२ वैशाख २०८२, सोमबार
Sajha Hub

खाडीको तनावप्रति नेपाल चनाखो, दूतावाससँग सम्पर्कमा रहन नेपालीलाई आग्रह


काठमाडौं – अमेरिकी हवाई आक्रमणमा इरानी जनरल कासिम सुलेमानी मारिएपछि अमेरिका र इरानबीच तनाव बढेर गएको छ । यस किसिमको अवस्थामा लाखौको संख्यामा नेपाली खाडी मुलुकमा कार्यरत रहेकाले नेपाल पनि चनाखो देखिएको छ ।

इरानले अमेरिकी राष्ट्रपति ट्रम्पको टाउकोको मूल्य समेत तोकिसकेको र ट्रम्पले पनि कुनै पनि अमेरिकी वा अमेरिकी एकाईमाथि आक्रमण भएमा मुहतोड जवाफ दिने बताइसकेको छ ।

यो अवस्था मध्यपूर्वका अन्य मुलुकमा पनि विस्तार भएमा त्याहाँ ठूलो संख्यामा कार्यरत नेपाली प्रभावित हुन सक्ने देखिन्छ । त्यसैले यस विषयमा परराष्ट्र र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबीच आइतबार छलफल भएको छ ।

सम्बन्धित दूतावासलाई त्यहाँको परिस्थितिबारे बुझ्न र समस्या बढेमा अपनाउनुपर्ने उपायबारे सजक रहन भनिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । यस्तै खाडीमा कार्यरत नेपालीलाई दूतावासको सम्पर्कमा रहन पनि सरकारले अनुरोध गरेको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले भने, ‘सम्बन्धित देशमा रहेका नेपाली दूतावास र ती देश हेर्ने अरु दूतावासलाई त्यहाँ कार्यरत नेपालीसँग सम्पर्क गर्न आग्रह गर्दछौ ।’ ‘नेपाली नागरिकसँग सम्पर्क गर्न र सुरक्षित हिसाबले बस्नको लागि अनुरोध गर्न सम्बन्धित दूतावासलाई भनेका छौँ,’ उनले बताए ।

‘ती देशको अवस्थाबारे नियमित सरकारलाई जानकारी गराउन पनि निर्देशन दिएका छौँ । खाडी देशमा निकै धेरै संख्यामा नेपालीहरु रहेकाले उनीहरुको सुरक्षाबारे सरकार गम्भीर छ,’ उनले भने ।

नेपाल सरकारले इराकमा काम गर्नका लागि रोक लगाएको छ । यद्यपि त्यहाँ अवैधानिक बाटोबाट गएर काम गर्ने नेपालीको संख्या १५ हजारभन्दा बढी नेपाली रहेको अनुमान रहेको छ । इरानमा कति नेपाली छन् भन्ने विषयमा यकिन तथ्यांक भने छैन ।

मध्य–पूर्वका अन्य देशमध्ये साउदीमा झण्डै ४ लाख र कतारमा साढे ३ लाखभन्दा बढी नेपाली छन् । यूएईमा दुई लाख ५० हजार, कुवेतमा ७० हजार, ओमानमा २० हजार, बहराइनमा २५ हजार, लेबनानमा १२ हजार, जोडर्नमा १२ हजार र इजरायलमा तीन हजार नेपाली रहेको तथ्यांकले देखाएको छ ।

साउदी, मलेसिया, कतार, यूएई, कुबेत, बहराइन, इजरायल र लेबलान लगायतका देशबाट नेपालमा बर्सेनी ३ खर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स (विप्रेषण) भित्रिँदै आएको छ ।


क्याटेगोरी : समाचार

तपाईको कमेन्ट लेख्नुहोस्