चीनमाथि लगाएको आरोप अमेरिकाद्वारा फिर्ता

काठमाडौं-अमेरिकाले मुद्राको मूल्य चलखेलमा भूमिका खेलेको भन्दै चीनमाथि लगाएको आरोप फिर्ता लिएको छ । अमेरिकाको अर्थ मन्त्रालयले चीनलाई ‘मुद्राको मूल्यमा चलखेल गर्न भूमिका खेल्ने राष्ट्र’ भनी लगाएको आरोप फिर्ता लिएको बीबीसीले जनाएको छ।
अमेरिकाले सो निर्णयको पछाडि आफ्नो उत्पादन सस्तो देखाउन आफ्नो मुद्राको अवमूल्यन नगर्ने चीनको प्रतिबद्धता रहेको बताइएको छ। चीन र अमेरिकाबीच व्यापारिक तनाव कम गर्नका लागि एउटा प्रारम्भिक सम्झौता हुनुभन्दा दुई दिन अघि अमेरिकाले त्यस्तो घोषणा गरेको हो।
गत अगस्टमा अमेरिकाले चीनलाई सो आरोप लगाएको थियो। यो आरोपपछि सेयर बजार ओरालो लागेको थियो। यो हप्ता हुने व्यावसायिक सम्झौताका कारण अमेरिकाको सेयर बजार उच्च विन्दुमा पुगेको छ।
अमेरिका र चीनले सम्झौतामा यसै हप्ता हस्ताक्षर गर्ने सम्भावना छ। सन् २०१८ देखि सीमा शुल्कलगायतका विषयमा एकअर्काको विरुद्ध उभिएका अवस्थामा तनाव कम गर्न यो सम्झौता गर्न लागिएको हो।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चीनमाथि पटकपटक आफ्नो देशमा उत्पादन भएका वस्तुको बजार भाउ कम देखाउन चिनियाँ मुद्राको मूल्य घटाएको आरोप लगाउँदै आएका छन्। तर सोमवार अमेरिकाले गत अगस्ट महिनाबाट चिनियाँ मुद्रा युआनको मूल्य बढ्दै गएको बताएको छ।
क्याटेगोरी : अन्तरास्ट्रिय
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्