डोनाल्ड ट्रम्पको सम्बोधनलगतै सभामुख पेलोसीले च्यातिदिइन् भाषणको लिखित प्रति

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज अमेरिकी कङ्ग्रेसको संयुक्त सत्रलाई सम्बोधन गरेका छन् । अमेरिका स्थापना भएयता निरन्तर चलिरहेको यो परम्परामा राष्ट्रपतिले विगत एक वर्षको अमेरिकी संघको अवस्था संसदमा अवगत गराउँछन् ।
परम्पराअनुरुप नै ट्रम्पले स्टेट अफ युनियन सम्बोधन विगत एक वर्षमा उनको प्रशासनले गरेका प्रगतिको फेहरिस्त सुनाए ।
तर यो वर्षको सम्बोधन समारोह राष्ट्रपति डोनाल्ड ट्रम्प र सभामुख न्यान्सी पेलोसीले एकअर्कालाई देखाएको व्यवहारका कारण पनि चर्चामा आएको छ ।
यी तिक्ततापूर्ण व्यवहारलाई केही विज्ञले अमेरिकी राजनीतिमा बढ्दै गएको ध्रुवीकरणको ऐना बताइरहेका छन् ।अमेरिकी राज्यमा दुई राजनीतिक दलको प्रधानता छ । त्यहाँ, दुई वटा दलबाट चुनाव लड्न नचाहने राजनीतिज्ञ स्वतन्त्र लड्ने गर्छन् ।
डोनाल्ड ट्रम्पले रिपब्लिकन पार्टीबाट राष्ट्रपति चुनाव लडेका जितेर आएका हुन् । रिपब्लिकन पार्टीलाई अमेरिकी राजनीतिको रुढीवादी(कन्जरभेटिजम) विचारधारा बोक्नेको पार्टी मानिन्छ ।
देशको अर्को प्रमुख पार्टी डेमोक्रेटिक पार्टी हो । यो पार्टीले उदारवादी र प्रगतिशिल विचारलाई आफ्नो मार्गदर्शन बताउने गर्छ ।
पछिल्लो समय यी दुई पार्टीबीचको वैचारिक खाडल फराकिलो हुदैं गएकाले चरम वैमनश्यताको स्थिति उत्पन्न भएको राजनीतिक विज्ञले बताउदैं आएका थिए ।
सोही वैमनस्यताको एक प्रतिविम्ब पेलोसी र ट्रम्पले एकअर्कालाई गरेको व्यवहार हो तिनको धारणा छ ।
अहिले, अमेरिकी राज्यका तीन प्रमुख निकायमध्ये कार्यकारी(राष्ट्रपति)मा रिपब्लिकन पार्टीका ट्रम्प छन् भने कंग्रेस(संसद) को तल्लो सदनमा डेमोक्रेटिक पार्टीको बहुमत छ ।
डेमोक्रेटिकको बहुमत रहेको हाउस अफ रिप्रिसेन्टेटिभमा चल्ने सत्रहरुको नेतृत्व गर्न डेमोक्रेटिक नेता न्यान्सी पेलोसी सभामुख छानिएकी छन् ।
अन्य देशमाजस्तो अमेरिकामा सभामुख तटस्थ हुनु पर्दैन । उनीबाट वैठकको नेतृत्वको मात्र अपेक्षा गरिन्छ ।
सभामुख भएदेखि नै पेलोसीले ट्रम्पविरुद्धको प्रतिपक्षको नेतृत्व गर्दै आएकी छन् । विभिन्न सार्वजनिक अवसरमा दुई नेताबीच उग्र वैमनस्यता नै छ कि भन्ने खालका हर्कत हुने गरेका छन् ।
केहीअघि पेलोसीले अक्टोबरदेखि ट्रम्पसँग बोलिचाली नभएको खुलासा गरेकी थिइन् । यस पटक ‘स्टेट अफ युनियन’ सम्बोधनमा दुई नेताबीचको असहज सम्बन्ध सार्वजनिक रुपमा देखियो ।
सम्बोधनको क्रममा ट्रम्प पहिलो पटक पेलोसी नजिक पुग्दा उनले हात अगाडि बढाएकी थिइन् तर ट्रम्पले बेवास्ता गरिदिए ।
सम्बोधनको अन्त्यमा पेलोसी स्टेट अफ युनियनको सम्बोधनका प्रति च्यातिरहेको देखिएको छ ।
क्याटेगोरी : अन्तरास्ट्रिय
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्