सीमा क्षेत्रमा सुरक्षाकर्मी राख्ने व्यवस्थाका लागि बजेट ल्याऔं: भीम रावल

काठमाडौं – नेकपाका नेता एवम् सांसद भीम रावलले आगामी बजेटको नीति तथा कार्यक्रममा सीमामा सुरक्षाकर्मी राख्ने ब्यवस्था गर्न माग गरेका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद रावलले पञ्चायतकालमा तिङ्कर क्षेत्रमा सञ्चालनमा रहेको नेपाल चीन भन्सार कार्यालय पुन सञ्चालन गर्न आग्रह समेत गरेका छन् ।
उनले नेपालको लिपुलेक, कालापानी र लिम्पयाधुरामा अतिक्रमण गरेको बताउँदै त्यसबारे संसद र संसदीय समितिमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराएको र सुरक्षा ब्यवस्था कायम गर्न पनि आवाज बुलन्द गरिएको बताए । संसदले आवाज उठाउँदापनि सरकारले सार्थक पाइला नचालेको बताउदै नेता रावलले जनता सुरक्षित नभई ती क्षेत्रमा विकास निर्माणको काम अघि नबढ्ने उल्लेख गरे ।
उनले राष्ट्रिय सुरक्षालाई बलियो बनाउँदै सीमा क्षेत्रमा सुरक्षाकर्मी पठाएर उनीहरुका लागि आवश्यक सामग्रीको व्यवस्था गर्न माग गरे । उनले सुरक्षाकर्मीलाई लुगा, कपडा र उचित उपकरणको व्यवस्था गर्नुपर्ने बताउँदै कोरोना संक्रमण रोक्न सीमानामा रहेका सुरक्षाकर्मीलाई आवश्यक सामग्रीको समेत ब्यवस्था नभएको प्रति ध्यानाकर्षण गराए ।
क्याटेगोरी : राजनीति
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्