अन्ततः समाजवाद जन्मिने भनेको सडकबाटै हो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान संविधानको प्रगतिशील कार्यान्वयनका लागि आपसी एकतालाई सुदृढ गर्दै अगाडि बढ्नुपर्ने बताएका छन् ।
‘नेपाली विशेषताको समाजवाद’ विषयक अन्तर्क्रियालाई आज मंगलबार सम्बोधन गर्दै प्रधानमन्त्री एवं नेकपा माआवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपालका समाजवादी, देशभक्त र राष्ट्रवादीहरू एक ठाउँमा केन्द्रित हुने हो भने समाजवादलाई तीव्र गतिमा अगाडि बढाउन सकिने विश्वास व्यक्त गरे ।
समाजवादको जन्म कहाँबाट हुन्छ भन्ने तर्क आउने गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘अन्ततः समाजवाद जन्मिने भनेको सडकबाटै हो, किनकि जनता सडकमा हुन्छन् । पहिलो प्राथमिकता सडकले नै पाउनुपर्छ । समाजवाद जन्माउने जनताले हो ।’
पार्टीहरू जनतासँग जोडिए मात्रै शक्तिशाली हुने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले समाजवादको तयारीका लागि सरकार, सदन र सडकलाई अधिकतम उपयोग गर्नुपर्ने तर्क गरे । उनले हरेक राजनीतिक दलले जनतालाई केन्द्रमा राख्नुपर्नेमा जोड दिए ।
यसपटक सुशासन, समृद्धि र सामाजिक न्यायका पक्षमा अगाडि बढ्ने जमर्को गरेको उल्लेख गर्दै उनले पुरानो गठबन्धनबाट जनताको आकांक्षाअनुसार काम हुन नसकेकाले समाजवादको आधार तयार गर्न नयाँ समीकरण बनाएको स्पष्ट पारेका छन् ।
नेपालको राष्ट्रिय स्वाधीनतालाई सुदृढ गर्ने उद्देश्यका साथ समाजवादको आधार तयार गर्न आफूले पछिल्लो कदम चालेको स्पष्ट पार्दै उनले जनतालाई डेलिभरी दिने गरी काम गरेर यसको औचित्य पुष्टि गर्नुपर्ने बताए ।
क्याटेगोरी : राजनीति, समाचार
तपाईको कमेन्ट लेख्नुहोस्