नेकपाको विवाद अझै सुल्झेन, स्थायी कमिटी बैठक पुन स्थगित

काठमाडौं ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक पुन स्थगित भएको छ ।
नेकपा भित्र विवाद चुलिएपछि वार्ता र सहमतिका लागि भन्दै शुक्रबार आजसम्मका लागि स्थगित गरिएको बैठक फेरि दुई दिनका स्थगित भएको हो ।
नेकपा अध्यक्ष साथै प्रधानमन्त्री केपी शर्मा ओलीले थप छलफल गर्नुपर्ने भन्दै समय मागेपछि बैठक स्थगित गर्नु परेको नेताहरुले बताएका छन् ।
पार्टीमा देखिएको गम्भीर विवाद अन्त्यका लागि भइरहेका छलफलको निरन्तरताका लागि बैठक स्थगित गरिएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनु भएको छ ।
स्थायी कमिटी बैठक सोमबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको हो ।
शुक्रबार दुवै अध्यक्षले छलफल गर्ने र शनिबार स्थायी कमिटी बैठक बस्ने शीर्ष तहमा सहमति भएको थियो । शुक्रबार छलफल भए पनि ओली र प्रचण्ड दुवै पुरानै अडानमा कायम भएपछि छलफलमा ठोस सहमति भएको छैन ।
प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र बामदेव गौतम पक्ष ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पद छाड्नुपर्ने पक्षमा छन् । स्थायी कमिटी बैठकमा पनि अधिकांश सदस्यहरुले ओलीको राजीनामा मागेका छन् । तर, ओलीले भने दुवै पद नछाड्ने अडान लिएका छन् ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्