निर्णायक ठानिएको ओली प्रचण्ड विचको वार्ता बालुवाटारमा जारी

काठमाडौं ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड बीचको वार्ता बालुवाटारमा बसेको छ ।
नेकपा भित्रको आन्तरिक विवाद समाधानका लागि भन्दै सुरु भएको बार्तामा दुई अध्यक्षको तर्फबाट दुई–दुईजना सहयोगी नेताहरु समेत वार्तामा सहभागी भएको बताईएको छ । ओलीको तर्फबाट विष्णु पौडेल र शंकर पोखरेल साथै प्रचण्डको तर्फबाट वर्षमान पुन र जनार्दन शर्मा सहभागी रहेको बालुवाटार स्रोतले बताएको छ । यसअघि शुक्रवार दुई अध्यक्षबीचको वार्तामा विष्णु पौडेल र जनार्दन शर्मा सहभागी थिए ।
पार्टी फुट्न नदिने उपाय खोज्न निर्णायक भनिएको वार्तामा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर शीतल निवासबाट निस्किएका प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् ।
प्रधानमन्त्री ओलीले आफ्नै पार्टीका नेताहरुलाई भारतसँग मिलेको आरोप लगाएपछि विवाद चुलिएको हो । त्यस्तै पार्टी बैठक चलिरहेका समयमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले अचानक संसद बैठक अन्त्यका लागि सिफारिस गरेका थिए ।
शनिवार मात्र राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई आफू र राष्ट्रपतिविरुद्ध षड्यन्त्र भएको बताएका थिए ।
नेकपा स्थायी कमिटी बैठक सोमबार बस्दैछ । त्यसअघि नै सहमति जुटाउन उनीहरुमाथि दबाव छ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्