सहमतिका लागि भन्दै शिर्ष नेताहरुको वार्तैवार्ता, नेकपाको स्थायी कमिटी बैठक फेरि स्थगित

काठमाण्डौ
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सोमबार विहान ११ बजे बोलाइएको स्थायी कमिटी बैठक स्थगित भएको छ ।
बैठक अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड बीच छलफल जारी रहेकाले आउँदो २४ गते बुधबार सम्मका लागि स्थगित गरिएको महासचिव विष्णु पौडेलले जानकारी दिएका छन् ।
नेकपामा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताहरु झलनाथ खनाल, माधव नेपाल र अर्का अध्यक्ष केपी शर्मा ओलीबिचको द्वन्द्व उत्कर्षमा पुगेका बेला समाधानका लागि भन्दै डाकिएको बैठक दुई अध्यक्ष विचको छलफललाई निरन्तरता दिने सहमति अनुसार नै फेरि पनि स्थगित भएको जनाइएको छ ।
यस अघि बिहीबार बसेको बैठक पनि सहमतिका लागि भन्दै शनिबारसम्म स्थगित गरिएको थियो । शनिबार बिहान फेरि स्थायी कमिटी बैठक दोस्रो पटक सोमबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको थियो ।
प्रधानमन्त्री ओलीले पार्टीमा परामर्श नगरी संसद अधिवेशन अन्त्य गरेपछि छलफलका लागि बोलाइएको बैठक सर्दै आएको छ । स्थायी कमिटीका अधिकांश सदस्यहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेपछि नेकपाभित्र आन्तरिक कलह चुलिएको हो । प्रचण्ड–माधव नेपाल पक्षले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद छाड्न ओलीलाई दबाव दिएका छन् । तर प्रधानमन्त्री ओली भने दुवै पद नछाड्ने अडान लिएका छन् ।
यसै विच सहमतिका लागि भन्दै अनौपचारिक रुपमा गठन गरिएको कार्यदलमा ओलीको तर्फबाट महासचिव विष्णु पौडेल र शंकर पोखरेल तथा प्रचण्डको तर्फबाट वर्षमान पुन र जनार्दन शर्माले मंसिर ४ गतेको सहमतिका आधारमा छलफललाई तिब्रता दिएको बताएको छ ।
नेकपा भित्र चुलिएको विवाद समाधानका लागि शीर्ष नेताहरुबीच सहमतिको प्रयासमा पटक पटक बैठक र छलफल हुँदै आए पनि सहमतिमा भने पुग्न सकेको छैन ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्