भारतीय मिडियामा नेपालविरूद्ध प्रसारित अपमानपूर्ण सामग्रीमाथि तत्काल कदम चाल्न भारतलाई नेपालको आग्रह

काठमाण्डौ
नेपालले भारतीय केही सञ्चार माध्यमहरुमा झूटो, आधारहिन र असंवेदनशील रुपमा नेपालबारे आएका समाचारबारे आफ्नो गम्भीर ध्यानाकर्षण भएको कुटनितिक नोट पठाउँदै त्यस्ता सामाग्री विरुद्ध तत्काल कदम चाल्न आग्रह गरको छ ।
आइतबार परराष्ट्र मन्त्रालयले नयाँदिल्लीस्थित नेपाली दूतावासमार्फत् भारत सरकारलाई पठाएको उक्त कुटनितिक नोटमा ती समाचार सामग्रीले नेपाल र यसको नेतृत्व र नेपालीको अपमान गरेको उल्लेख गरेको छ ।
केही भारतीय मिडियाले चलाएको यस्तो दुष्प्रचारले नेपाली जनता र नेपाली नेतृत्वको भावनामा गहिरो चोट पुगेको भन्दै त्यस्ता समाचार सामग्रीले गलत सूचना दिएर भ्रम छर्नुका साथै सभ्य समाजमा अपेक्षा गरिने न्यूनतम सार्वजनिक शिष्टता र मर्यादा समेत उल्लंघन गरेको कूटनीतिक नोटमा उल्लेख गरको छ ।
साथै कूटनीतिक नोटमा दुई देशबीच लामो समयदेखि रहेको गहिरो र बहुआयामिक सम्बन्ध एकअर्काको सार्वभौमिक समानता, मित्रता र समझदारी तथा आपसी रुचि र सरोकारको सम्मानमा आधारित रहेको उल्लेख गरिएको छ । उक्त सम्बन्ध अगाडि बढाउन मिडियाले सही सूचना र सही दृष्टिकोण प्रवाह गरेर रचनात्मक भूमिका खेल्नुपर्ने कूटनीतिक नोटमा बताउँदै हामी प्रेस स्वतन्त्रताको सम्मान गर्छौं, तर त्यस्तो स्वतन्त्रताले न्यूनतम शालीनता र नैतिक सीमा नाघ्नु नहुने उल्लेख गरेको छ ।
नेपालबारे भारतीय मिडियामा प्रसारित सामग्रीले दुई देशका जनतामा पुस्तौंसम्म एकअर्काप्रति घृणा र आक्रोश जगाउने पनि परराष्ट्रले औंल्याएको छ ।
त्यसैले नेपालविरूद्ध प्रसारित अपमानपूर्ण सामग्रीहरूविरूद्ध तत्काल कदम चाल्न र त्यस्ता सामग्रीले भारतीय मिडियामा ठाउँ नपाउने सुनिश्चित गर्न समेत आग्रह गरेको छ ।
भारतीय सञ्चार माध्यम जीन्यूज, विहारले प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूत होउ यान्छीलाई जोडेर उच्छृंखल सामग्री प्रकाशित गरेको थियो । अन्य भारतीय सञ्चार माध्यमहरुले पनि झुटा समाचारहरु प्रसारण गर्दै आएका छन् ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्