Techie IT
  • २२ वैशाख २०८२, सोमबार
Sajha Hub

सोमबारदेखि पाँच दिन भारी बर्षाको सम्भावना, सर्तक रहन आग्रह


काठमाडौं

जल तथा मौसम विज्ञान विभागले आगामी सोमबारदेखि ५ दिन देशैभरी भारी वर्षाको सम्भावना रहेकोे जनाएको छ ।

साथै भारी बर्षाको कारण अब पाँच दिन पर्ने पानीले पहिरोको सम्भावना बढेको विभागले जनाएको छ । मनसुन सुरु भए यता देशका विभिन्न स्थानमा बाढी र पहिरोले ठूलो क्षति पुर्याएको छ ।
प्रदेश नम्बर १, २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नम्बर ५ का केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । त्यस्तै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा समेत भारी वर्षा हुने सम्भावना रहेको छ ।

भूगर्भविदहरुले जमिन चिरा परेको र रुखहरू ढल्किएको ठाउँ साथै पानीका मुहानहरू सुक्ने वा पहिले भन्दा बढी र धमिलो पानी आउने ठाउँमा पनि पहिरोको जोखिम रहेकोले यस्तो ठाउँमा उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।

त्यस्तै, बाढि पहिरो जोखिम न्युनिकरणको लागि विपद् व्यवस्थापनमा संलग्न सुरक्षा निकायलाई उद्धार तथा राहतका लागि तैनाथ गरेर राखिएको र सरकारी गैरसरकारी निकाय पनि तयारी अवस्थामा रही तत्काल परिचालन हुने अवस्थामा रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

नेपालमा मनसुन सुरु भएको ३० दिनमा मनसुनजन्य विपद्का घटनाबाट १ सय १० जनाको मृत्यु भएको छ भने अझै ३२ जना बेपत्ता रहेका छन् साथै १ सय ३२ जना घाइते छन् ।

त्यस्तै मनसुन जन्य विपदबाट ४ सय १८ परिवार प्रत्यक्ष प्रभावित भएका र पहिरोका कारण मात्रै ८१ जनाको मृत्यु भएको छ । चट्याङबाट १७, सर्पदंशले १० र बाढीका कारण २ जनाको मृत्यु भएको छ ।

जसमध्ये देशका विभिन्न ३३ जिल्लामा विपद्बाट मानविय क्षति भएको छ भने ६० जिल्लामा विपद्का घटना घटेका छन् ।

मनसुन सुरु हुनुभन्दा पहिले देखि नै यो बर्ष औसतभन्दा बढी वर्षा भइरहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्