Techie IT
  • २१ वैशाख २०८२, आईतबार
Sajha Hub

भाङ्ग्रा, कछाड र खाली खुट्टा सिंहदरबार छिर्ने कम्युनिष्ट आर्दश नेता बर्मनको अन्त्येष्टि -भिडियो सहित


काठमाण्डौँ
साउन ७ गते नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको स्मृति दिवस, सोहि दिन कम्युनिष्ट आन्दोलनका एक आदर्श व्यक्तित्व रोल्पाली कम्युनिष्ट आन्दोलनका संस्थापक पुर्वसांसद बर्मन बुढा मगरको पनि निधन भएको छ ।

आन्द्राको क्यान्सरबाट ग्रस्त बनेका बुढाको ९० वर्षको उमेरमा पाटन अस्पतालमा बुधबार बिहान ४ः३० बजे निधन भएको थियो । बुढालाई बुधबार नै पशुपतिको विद्युतिय शवदाह गृहमा अन्तेष्टि गरिएको छ ।

सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’, पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’, सभामुख अग्नीप्रसाद सापकोटा, पूर्वसभामुख कृष्णबहादुर महरा र ओनसरी घर्ती मगर, गृह मन्त्री राम बहादुर थापा बादल, उर्जामन्त्री बर्षमान पुन मगर, वनमन्त्री सक्त्ति बस्नेत, नेकपा मशालका महामन्त्री मोहनविक्रम सिंंह, क्रान्तीकारी पुर्ब मन्त्रीहरु टोपबहादुर रायमाझी, जनार्दन शर्मा, मातृका यादव, गणेशमान पुन, दलजित सिर्पाली, अमिक शेरचन लगायतका लगायतका विशिष्ट ब्याक्तित्वहरु, नेताहरु, सर्वसाधारणहरुले पशुपति आर्यघाटमा पुगि बर्मन बुढा मगरलाई अन्तिम श्रद्धाञ्जली र बुढाप्रति उच्च सम्मान व्यक्त गरेका थिए ।

बुढाको पार्थिव शरिरमा नेपालको राष्ट्रिय झण्डा र नेपाल कम्युनिष्ट पार्टीको झण्डा ओढाएर सम्मान गरिएको थियो । त्यस्तै, नेपाल मगर संघ केन्द्रिय समितिको सल्लाहकार रहेका बुढाको पार्थिक शरिरमा नेपाल मगर संघका अध्यक्ष नविन रोका मगर सहित विभिन्न व्यक्तिहरुले नेपाल मगर संघको झण्डा समेत ओढाएर सम्मान गरेका थिए ।

माओवादी आन्दोलन र नेपाली कम्युनिष्ट आन्दोलनको आधार केन्द्र रोल्पाको थबाङमा वि.सं. १९८७ श्रावण १७ गते जन्मिएका बर्मन बुढाले २०१२ सालमा किसान संघ बनाएर माओवादी जनयुद्धको उद्गम थलो समेत मानिने रोल्पामा कम्युनिष्टको बीजारोपण गरेका थिए । त्यस्तै, २०१३ सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिएर उनी रोल्पाको पहिलो कम्युनिष्ट सदस्य समेत बनेका थिए ।

देशबाट २००७ सालमा राणाहरूको अत्याचार हटे पनि गाउँमा मुखियाहरूको अत्याचार कायमै थियो । तिनै मुखियाहरूले गाउँलेहरुमाथि गरेको अत्याचारको विरोधमा उत्रिँदा जेल सजाय भोग्नुपरेको थियो । रोल्पा जिल्ला अस्तित्वमा नरहेको तत्कालिन समयमा उनलाई मुखियाहरूले पुलिस लगाएर प्युठान कारागारमा थुनेका थिए । तर, बर्मन बुढाका लागि सोहि जेल कम्यनिष्ट बन्ने पाठशाला बन्यो । जहाँ, कम्युनिष्ट नेता मोहन विक्रम सिंहसँग उनको भेट भयो र कारागारमै रहँदा मोहन विक्रम सिंहसँगको उठबसले उनले कम्युनिष्ट सिद्धान्त विचारधारा बुझ्न पाए । कारागारमा नै कम्युनिष्ट बनेका बुढा मगरले प्युठान कारागारबाट सजाय भुक्तान गरेर वि.सं. २०१२ मा थबाङ फर्किए पछि थबाङमा कम्युनिष्टको बीजारोपण गरेका थिए । उनले सल्यान, रुकुम, दाङमा समेत संगठन बनाएका थिए ।

देशमा चलेको पञ्चायती शासनका समयमा उनी थबाङको मुखिया र प्रधानपञ्च पनि बने । प्रधानपञ्च भएकै बेला भएको जनमत संग्रहमा बर्मनले थबाङमा शुन्य मत हुने अवस्था बनाएका थिए ।

२०४८ सालमा संयुक्त जनमोर्चाको जिल्ला सचिव बनेका उनी २०४८ सालको आम चुनावमा तत्कालिन संयुक्त जनमोर्चा नेपालको तर्फबाट रोल्पाको क्षेत्र नं. १ बाट उम्मेदवार बने । रोल्पाको कम्युनिष्ट पार्टीका संस्थापक बर्मनले राष्ट्रिय प्रजातन्त्र पार्टीका चर्चित नेता बालाराम घर्ती मगरलाई पराजित गरेका थिए । बर्मन जनमोर्चाका विजयी ९ सांसदमध्ये एक थिए । सोहि समयमा रोल्पा क्षेत्र नं.२ बाट भने कृष्णबहादुर महरा उम्मेद्वार बनेका थिए ।

खाडीको कपडाको भाङ्ग्रो र कछाड बाँधेर हिँड्ने बर्मन सिंहदरबार छिर्दा पनि सोहि पोशाकमा छिरका थिए । सांसद भएपछि पनि छातीमा दुवैतर्फ छड्के पारेर लगाउने खाडीको कपडाको भाङ्ग्रो र कछाड बाँधेर खाली खुट्टै सिंहदरबार छिरेका उनी प्राण नत्यागुन्जेलसम्म पनि आफ्नो सरल जीवनशैलीलाई छाडेनन् । भनिन्छ, उनी आफ्नो मौलिक मगर भेषमा सदन प्रवेश गर्दा, राजा विरेन्द्रले तिमी दौरा सुरुवालमा आउनु पर्छ बरु म व्यवस्था गरिदिन्छु भन्दा उनले म लगाउदिन यो मेरो आफ्नो मौलिक पोशाक हो, मेरो मगर पोशाक नै मलाइ ठिक छ, राजालाइ पनि यसरी हिम्मतका साथ आफ्नो भेषभुषा र पहिचानको लागि जवाफ फर्काएका थिए ।

साँच्चिकै, सर्वहाराका प्रतिनिधिका रुपमा आफूलाई दरिलो गरि उभ्याएका बर्मनले जनयुद्धलाई एउटा खम्बाका रुपमा साथ दिएका थिए । २०६३ मा आएर जनयुद्धले पूर्णविराम लगाएपछि माओवादीमा अनेक विभाजन देखियो । त्यसपछि भने निरास बनेका बरमनले आफ्नो राजनीतिक सक्रियता घटाउँदै लगेका थिए ।

कम्युनिष्टका लागि आदर्श व्यक्ति, सामन्तवाद विरोधी नेपाली जनताको मुक्तियुद्धमा अग्रमोर्चामा रहने विशेष गरि थबाङ जसरी कम्युनिष्ट आन्दोलनको केन्द्रको रुपमा स्थापित छ, जसमा दिवंगत बुढाकै देन रहेको छ ।  उनी उमेरले ८० वर्ष कटिसके पनि थबाङदेखि लिबाङसम्म सजिलै पैदल यात्रा गर्दै जलजला पहाड समेत चढ्दै अझै जनताको मुक्तिका लागि यात्रा गरिरहन्थे ।

आज थबाङ भिन्न इतिहास बनाएर जसरी उभिएको छ रोल्पामा कम्युनिष्टहरुको मियोको रुपमा स्थापित र आदर्श व्यक्ति बर्मनको निधन भएपनि नेपाली समाज रुपान्तरणमा पुर्याएको योगदानका कारण उनी अनन्तकालसम्म बाँचिरहने उनका अनुयायीहरु बताउँछन् ।

राष्ट्रका लागि योगदान पुर्याउने बर्मन बुढा मगर राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा महा उज्ज्वल राष्ट्रद्वीपबाट समेत विभूषित भएका थिए ।

तत्कालिन माओवादी पार्टी साथै नेकपाको सल्लाहकार बर्मन बुढा मगरलाई भूमिगत अवस्थामा रहेका विप्लवले समेत अहिले पनि उनलाई आफ्नै पार्टीको नेता ठान्ने गर्छन । आदर्श कम्युनिष्ट नेता बुढा मगरको निधनले सिंगो कम्युनिष्ट आन्दोलनलाई अपूरणीय क्षति भएको कम्युनिष्ट राजनीतिक अनुयायीहरु बताउँछन् र कैयौँ नेताहरुले उनलाई आर्दश नेताको रुपमा मान्दछन् ।

तर, उनलाई आर्दश व्यक्ति तथा नेता माने पनि कतिपय कम्युनिष्ट नेताहरु नै उनको आर्दश, इमान्दारिता र अडिकपनलाई भने पछ्याउन सकेको पाइदैँन ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्