राष्ट्रिय मानवअधिकार आयोगले थाल्यो चेपाङ बस्ति आगजनी र युवा कुटपिट घटनाबारे अनुसन्धान

काठमाडौं ।
मानव अधिकार आयोगले चितवन राष्ट्रिय निकुञ्जद्धारा चेपाङ समुदायको घरमा आगो लगाएको र सेनाको कुटपिटबाट चेपाङ युवकको मृत्यु भएको घटनाको अनुसन्धान सुरु गरेको छ ।
आयोगको वागमती प्रदेश कार्यालय सानेपाले घटनाको अनुसन्धान प्रक्रिया अघि बढाएको आयोगका सचिव वेद भट्टराईले जानकारी दिएका छन् ।
माडी नगरपालिका–९ कुसुमखोलामा २०५३ सालदेखि बसोबास गर्दै आएका सुकुम्बासी चेपाङ समुदायको गाउँमा चितवन राष्ट्रिय निकुञ्जबाट खटिएको टोलीले निकुञ्जको जग्गा खाली गर्ने भन्दै २ वटा घरमा आगजनी गर्नुका साथै ८ वटा घरहरूमा हात्ती लगाएर भत्काएको थियो ।
त्यस्तै निकुञ्जमा खटिएका नेपाली सेनाले राप्ती नगरपालिका–२ का २४ वर्षीय राजकुमार चेपाङ्गलाई २०७७ साउन १ गते नियन्त्रणमा लिई कुटपीट गरी यातना दिएको र उनको मृत्यु भएको घटनाप्रति ध्यानाकर्षण भएको आयोगले जनाएको छ ।
आयोगले घर भत्काएर अनि आगजनी गरि विस्थापित हुन पुगेका परिवारको उचित बासको लागि तत्कालै वैकल्पिक व्यवस्था गर्न सरकारलाई आग्रह गर्दै यस प्रकृतिका कार्यबाट व्यक्तिको सम्मानपूर्वक बाँच्न पाउने अधिकार कुण्ठित हुन पुगेको तथा सामाजिक न्याय, आवासकोे हक लगायतका अधिकारहरूको समेत उल्लंघन हुन गएको देखिएको आयोगले बताएको छ ।
दुवै घटनाको निष्पक्ष छानविनमार्फत घटनामा संलग्नलाई यथाशीघ्र कानूनी दायरामा ल्याउन र मृतक राजकुमार चेपाङको परिवारलाई उचित क्षतिपूर्ति दिन पनि आयोगले आग्रह गरेको छ ।
क्याटेगोरी : अपराध, समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्