निर्मला पन्त बलात्कार-हत्या प्रकरणमा ८ प्रहरीले पाए जिल्ला अदालतबाट सफाई

काठमाडौं ।
कञ्चनपुरकी १३ बर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको प्रकरणमा मुछिएका प्रहरी अधिकारीलाई अदालतले सफाई दिएको छ ।
कञ्चनपुरका तत्कालिन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टसहित ८ जना प्रहरी विरुद्ध दर्ता भएको सार्वजनिक न्यायविरुद्धको कसूर र यातनासम्बन्धी कसूरमा उनीहरुले जिल्ला अदालत कञ्चनपुरबाट सफाइ पाएका हुन् ।
उनीहरुविरुद्ध निर्मला पन्तको बलात्कारपछि हत्या भएको प्रमाण नष्ट गरेको र हिरासतमा रहेकालाई यातना दिएको आरोप थियो । उक्त आरोपमा जिल्ला न्यायाधीश गोपालप्रसाद वास्तोलाको इजलासले दुवै मुद्धामा प्रहरी अधिकारीलाई सफाइ दिएको हो ।
डीएसपी अंगुर जिसी र ज्ञानबहादुर सेट्टी, इन्सपेक्टर एकीन्द्र खड्का, जगदिश भट्ट, सई हरिसिंह धामी, रामसिंह धामी र हवल्दार चाँदनी साउदलाई अदालतले सफाई दिएका कारण अब आफ्नो नियमित ड्युटीमा फर्किने बाटो खुलेको छ ।
उनीहरूविरूद्ध निर्मला प्रकरणका प्रमाण नष्ट गरेको र अनुसन्धानका क्रममा पक्राउ परेका दीलिपसिंह बिष्टलाई यातना दिएको भन्दै प्रहरीले मुद्दा दायर गरेको थियो।
२०७५ साउन १० गते साथीको घरमा पढ्न भन्दै गएकी निर्मला ११ गते उखुबारीमा मृत अवस्थामा फेला परेकी थिइन् । उनीमाथि बलात्कार भएको पोष्टमार्टम रिपोर्टले देखाएको थियो ।
निर्मलालाई बलात्कार गरी हत्या गरेको आशंकामा प्रहरीले स्थानीय दीलिपसिंह बिष्टलाई पक्राउ गरेको थियो । बिष्टले आफूले निर्मलालाई हत्या गरेको स्वीकारेको प्रहरीको दाबी थियो । तर निर्मलाको भजाइनल स्वावको नमूनासँग बिष्टको डिएनए नमिलेपछि उनलाई छोडिएको थियो ।
निर्मला बलात्कारपछि हत्याकाण्डको प्रारम्भिक छानबिनदेखि नै प्रहरीले लापरबाही गरेको भन्दै कन्चनपुरमा आन्दोलनसमेत भएको थियो।आन्दोलनका क्रममा एक जनाको ज्यान गयो। उक्त घटनाको छानबिन गर्न भन्दै सरकारले र प्रहरीले छानबिन समितिहरू बनाए पनि अहिलेसम्म अपराधी पत्ता लागेको छैन।
ती छानविन समितिले लापरवाही गरेको र प्रमाण नष्ट गरेको प्रतिवेदन दिएपछि बिष्टसहित ८ प्रहरीमाथि मुद्दा चलाइएको थियो ।
क्याटेगोरी : अपराध, समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्