गुल्मीमा पहिरोले १० महिनाकी नाबालिका सहित परिवारका ४ जनाको ज्यान लियो

गुल्मी
अविरल वर्षापछि गुल्मीमा घरमाथि ढुंगा खस्दा १० महिनाकी नाबालिका सहित एकै परिवारका ४ जनाको ज्यान गएको छ ।
शुक्रबार राति करिब साढे सात बजेतिर जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर–५ टाहाटिम आटीपाटामा घरमाथि ढुंगा खसेर च्याप्दा एकै परिवारका ४ जनाको ज्यान गएको हो ।
घर माथि ढुङ्गा खस्दा ३० वर्षकी बिना बोटेमाझी, उनका छोराहरु ९ वर्षका सागर, ७ वर्षका हेमन्त र १० महिनाकी छोरी बिनिताको घटनास्थलमै मृत्यु भएको वडा अध्यक्ष हरिप्रसाद ज्ञवालीले जानकारी दिएका छन् ।
पाँच जनाको परिवार रहेको बिनाका श्रीमान राजु बोटे माझी भने वैदेशिक रोजगारीमा रहेको बताइएको छ ।
घटनास्थल जिल्ला सदरमुकाम तम्घासबाट पूर्वतर्फ करिव ४० किलोमिटर टाढा घटनास्थलमा इलाका प्रहरी चौकी रिडी र इलाका प्रहरी चौकी जोहाङ्गको टोली र स्थानिय मिलेर लाशहरु शुक्रबार राती नै निकालेका छन् ।
घटनास्थलको सोही स्थानमै अन्य केही घर समेत जोखिममा रहेकाले तत्काल सुरक्षित स्थानमा बस्न समेत आग्रह गरिएको वडा अध्यक्ष ज्ञवालीले बताएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्