Techie IT
  • २२ वैशाख २०८२, सोमबार
Sajha Hub

फोनिजको २१ औँ स्थापना दिवसमा २०/२० लाखको २ अक्षयकोष घोषणा


काठमाडौं ।

‘आदिबासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार (फोनिज अवार्ड) अक्षयकोष’ र ‘आदिबासी जनजाति पत्रकार सहयोग अक्षयकोष’ घोषणा भएको छ ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले आफ्नो २१ औं स्थापना दिवसको अवसरमा बीस बीस लाख रुपियाँ राशीको यी दुई अक्षयकोष घोषणा गरेको ।

दुवै कोषमा हाल १०–१० लाख रुपैयाँ राखेर फोनिजका अध्यक्ष डण्ड गुरुङले दिवसको अवसरमा मंगलबार सो कोष घोषणा गरेका हुन् ।

दुवै कोषमा २०–२० लाख रुपियाँ पुर्याउने फोनिजको लक्ष्य रहेको र सो कोषमा सहयोगका लागि फोनिज केन्द्रले सबैमा आव्हान समेत गरेको छ ।

कोरोना संक्रमणका कारण मुलुक नै ठप्प रहेका बेला फोनिजले आफ्नो २१ औँ स्थापना दिवस भर्चुअल माध्यमबाट मनाएको हो ।

कार्यक्रममा आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष गोकुल घर्तीले कोष वृद्धिका लागि सबैको सहयोग अपरिहार्य रहेको बताएका छन् ।

साथै घर्ती मगरले जो जहाँ रहे पनि आदिबासी हितका लागि प्रतिवद्ध भएर काम गर्नुपर्ने बताएका छन् ।

सामाजिक अभियन्ता र राजनीतिकर्मीबीच बुझाईमा दूरी रहेको बताउँदै उपाध्यक्ष घर्तीले आदिबासी हक अधिकारको सम्बोधन र त्यसको संस्थागत विकासका लागि पनि राजनीतिकर्मी र सामाजिक अभियन्ताबीच फ्यूजन अपरिहार्य रहेको बताउँदै संविधानमा गरेको व्यवस्थालाई कार्यान्वयन गरी थप अधिकारका लागि एकतावद्ध भएर राज्यलाई दवाव दिनुपर्ने बताएका छन् ।

सरकार आदिबासी अधिकारप्रति उदासिन रहेको बताउँदै प्राप्त भएको अधिकार समेत कटौती गर्नमा लागेको टिप्पणी गर्दै फोनिजका सल्लाहकार खिम घलेले आदिबासी जनजातिको अधिकारको उठान गर्ने र सम्बोधनमा दवाव दिने काममा सञ्चार माध्यमले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताएका छन् ।

फोनिजका अध्यक्ष डण्ड गुरुङले अहिलेको विशम परिस्थितिमा पत्रकारहरु जोखिम मोलेर फ्रन्ट साइडमा रहेर भूमिका निर्वाह गरेपनि राज्यले राहत प्याकेज घोषणा नगर्नु विडम्बनापूर्ण रहेको बताए । उनले उद्यमी व्यवसायीलाई मात्र होइन, श्रमजीवी पत्रकारलाई समेत सहुलियत व्याजदरमा बैंकले ऋण दिने व्यवस्था गर्नुपर्ने बताए ।

फोनिज स्थापना र यसलाई अगाडि बढाउनमा सहयोग गर्नुहुने अग्रज सबैप्रति उनले धन्यवाद व्यक्त गर्दै अध्यक्ष गुरुङले कोरोना कहरका बेला पत्रकार र मिडिया टिकाउन राज्यले राहत प्याकेज घोषणा गर्नुपर्ने र समानुपातिक विज्ञापन अझसम्म लागू गर्न नसकेको भन्दै उनले तत्काल लागु गर्न माग गरेका छन् ।

कार्यक्रममा वरिष्ठ उपाध्यक्ष गजुरधन राईले स्वागत मन्तव्य राखेका थिए भने मनोज घर्तीमगरले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा जुममार्फत सहभागिता हुने व्यवस्था मिलाइएको थियो ।

त्यस्तै, स्थापना दिवसको अवसरमा फोनिजले सबै शाखाहरुलाई सहयोग रकम समेत पठाइसकेको छ ।

फोनिजको अहिले देशभर ८ संस्थागत सदस्य संगठन, ५६ जिल्लामा शाखा, सात प्रदेशमा प्रदेश कमिटी र ६ मुलुकमा विदेशमा शाखा रहेको छ । फोनिजमा करिब ४ हजार आदिबासी जनजाति पत्रकार आवद्ध छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्