त्रि.वि. शिक्षण अस्पतालका चिकित्सक र स्टाफ नर्सहरुमा कोरोना संक्रमण, आकस्मिक सेवा बन्द

काठमाडौं ।
काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालका २ चिकित्सक र ४ जना स्टाफ नर्समा कोरोना संक्रमण पुष्टि भएको छ ।
इमर्जेन्सीमा कार्यरत चिकित्सकमा लक्षणसहितको संक्रमण पुष्टि भएपछि बुधबार साँझबाटै अस्पतालको आकस्मिक सेवा बन्द गरिएको छ ।
त्रिवि अस्पतालका कोभिड कोअर्डिनेटर डा. सन्तकुमार दासका अनुसार इमर्जेन्सी विभागमा कार्यरत २ चिकित्सक र वार्डमा कार्यरत ४ नर्सिङ स्टाफमा बुधबार कोरोना संक्रमण पुष्टि भएको हो ।
चिकित्सकमा लक्षणसमेत भएकाले त्यहींं उपचार भइरहेको र लक्षण नदेखिएका तर पीसीआर रिपोर्ट पोजिटिभ आएका अन्य स्वास्थ्यकर्मीलाई घरकै आइसोलेसनमा बस्न भनिएको डा. दासले जानकारी दिएका छन् ।
स्वास्थ्यकर्मीको पीसीआर रिपोर्ट पोजिटिभ आएसँगै अस्पतालमा कोरोना संक्रमित स्टाफको संख्या १८ पुगेको छ । त्रिवि शिक्षण अस्पतालमा २४ जना संक्रमितको उपचार भइरहेको छ । संक्रमितमध्ये ५ जना भने आइसीयूमा रहेको डा. दासले जानकारी दिएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्