कार्यदलले गृहकार्य गरिरहेकै बेला नेकपाको सचिवालय वैठक आज बस्दै

काठमाण्डौ
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक झण्डै एक महिनापछि आज सोमबार बस्दैछ ।
पार्टीभित्र शीर्ष नेताबीचको आपसी विवाद मिलाउन अध्यक्षद्वय, प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठन गरेको कार्यदलले गृहकार्य गरिरहेका बेला आज सचिवालय बैठक बोलाइएको हो ।
बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ः३० बजे बस्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार एवं नेकपाका प्रचार विभागका उपप्रमुख सूर्य थापाले बताएका छन् ।
आजको बैठकमा अध्यक्षद्वयले गठन गरेको कार्यदल, मन्त्रिमण्डल पुनर्गठन, पार्टीको महाधिवेशन र अहिलेसम्मका विवादका विषयमा छलफल हुने एक सचिवालय सदस्यले जानकारी दिएका छन् ।
महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठन भएको ६ सदस्यीय कार्यदललाई आजको सचिवालय बैठकले अनुमोदन गर्नेछ । वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव कुमार नेपाल तथा प्रवक्ता नारायणकाजी श्रेष्ठ ’प्रकाश’ले सचिवालयले गठन प्रक्रियालाई अनुमोदन गरेपछिमात्रै त्यसको प्रतिवेदन बैठकमा छलफल हुनुपर्ने धारणा राखेपछि बैठकमा कार्यदल गठनको निर्णय अनुमोदन हुन लागेको हो । गत साउन ३० गते दुई अध्यक्ष विच भएको छलफलबाट महासचिव विष्णु पौडेलको संयोजकत्वमा छ सदस्यीय कार्यदल गठन भएको थियो ।
यसअघि गत साउन ४ गते बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीले पार्टीको महाधिवेशन चाँडै (मङ्सिरभित्र) गर्न प्रस्ताव गरेको र त्यसमा सहमति भए पनि विवाद बाहिर आएको थियो ।
नेकपामा गत असार १० गते शुरु भएको स्थायी कमिटीमा नियमित कार्यसूचीका अतिरिक्त शक्ति बाँडफाँट र सरकार–पार्टीबीचको समन्वयबारे विवाद उत्पन्न भएको थियो ।
विवाद बढेसँगै नेकपाको सचिवालय बैठक पनि लामो समयदेखि बस्न सकेको थिएन । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ’प्रचण्ड’बीच विवाद समाधानको सहमति भएसँगै तत्कालका लागि नेकपाको विवाद सकिएको छ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्