एउटै चितामा आमा संगै ६ महिने बालक सहित, ९ जनाको सामुहिक अन्त्येष्टि

स्याङ्जा
स्याङ्जाको वालिङमा पहिरोमा पुरिएर ज्यान गुमाएका ९ जनाको बिहीबार साँझ राम्दीमा सामूहिक दाहसंस्कार गरिएको छ । स्याङ्जा र पाल्पाको संगमस्थल राम्दी स्थित कालीगण्डकी नदीमा सामूहिक दाहसंस्कार गरिएको हो ।
पहिरोमा पुरिएर ज्यान गुमाएका सबैको शवलाई गह्रौं प्राथमिक अस्पताल वालिङमा पोष्टमार्टम गरेपछि अन्तिम संस्कार गरिएको थियो । दाह संस्कारका लागि ९ जनालाई ८ वटा छुट्टाछुट्टै चिता बनाइएको थियो । ६ महिनाको बालकलाई भने १९ वर्षीया आमा बिनिता नेपालीसँगै एउटै चितामा राखेर दाहसंस्कार गरिएको थियो ।
ज्यान गुमाउनेहरु एकैघरका भएकाले दागबत्ती दिने परिवारभित्रैको कोही पनि नभएपछि आफन्तमध्येका जीबलाल परियारले सबै जनालाई दागबत्ती दिएका थिए ।
पहिरोमा परी ज्यान गुमाउनेहरुमा वर्ष अन्दाजी २८ कि उमाकला नेपाली, बर्ष ४८ की माया नेपाली, वर्ष ३० को दिपक नेपाली, बर्ष ६० की सानी नेपाली, बर्ष ९ को बिबश नेपाली, वर्ष १९ को विनिता नेपाली, वर्ष २१ को कुलदीप नेपाली, वर्ष १४ को बिक्रम नेपाली र ६ महिनाको बालक हुन् ।
पहिरोमा पुरिएर जीवितै उद्दार गरिएकी १६ वर्षीया मनिषा नेपालीको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । मनिषाको सम्पूर्ण उपचार खर्च वालिङ नगरपालिकाले जिम्मा लिने भएको छ ।
क्याटेगोरी : अन्य, समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्