विरोधका बाबजुद प्रदेश ५ को नाम लुम्बिनी र स्थायी राजधानी भालुबाङ दुईतिहाई मतबाट पारित

बुटवल
प्रदेश ५ को नाम लुम्बिनी र स्थायी राजधानी भालुवाङमा राख्ने प्रस्ताव प्रदेशसभाबाट पास भएको छ । मंगलबार भएको मतदानमा प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्तावको पक्षमा ७९ मत परेको छ भने विपक्षमा ४ मत खसेको थियो । मतदान बाट दुई तिहाई बहुमतले नाम पास गरेको हो ।
त्यस्तै, स्थायी राजधानी भालुवाङ राख्ने प्रस्ताव माथि भएको मतदानमा ६९ मत खसेको छ भने विपक्षमा १३ मत खसेको छ ।
कांग्रेसले राजधानीसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न हृवीप लगाएको थियो । तर मंगलबार भएको मतदानमा कांग्रेसकै सांसदहरुले पार्टीको हृपीप विपरित मतदान गरेका थिए । प्रदेशसभामा कांग्रेसका १९ सांसद भएपनि विपक्षमा १३ मत मात्र खसेको छ ।
प्रदेशसभामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका ६१ सांसद छन्, उनीहरुमध्ये सभामुख पूर्णबहादुर घर्तीले मतदान गरेनन् । यस्तै जनता समाजवादी पार्टीका ६ र राष्ट्रिय जनमोर्चाका १ प्रदेशसभा सदस्य छन् ।
प्रदेश सरकारले प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी दाङको भालुवाङ बजारलाई केन्द्रमा राखेर राप्ती र गढवा गाउँपालिका तथा अर्घाखाँचीको शीतगंगा नगरपालिकालाई जोडेर स्थायी राजधानी बनाउने प्रस्ताव १६ असोजमा प्रदेशसभामा पेश गरेको थियो ।
प्रदेशको नामाकरण भने पहिचानको आधारमा गरिनुपर्ने भन्दै राष्ट्रिय जनमुक्ति पार्टी, जनता समाजबादी पार्टी साथै आदिबासी जनजाति महासंघ, मगराँत संघर्ष समिति लगायतका विभिन्न संघसंस्थाहरुले विरोध गरेका थिए ।
प्रदेशको नाम र स्थायी राजधानी टुंगो लगाएसँगै प्रदेशसभाको अधिवेशन अन्त्य भएको छ ।
क्याटेगोरी :
समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्