संसद विघटनविरुद्ध नेकपा सांसदहरुद्वारा सर्वोच्चमा रिट पेश

काठमाडौं
प्रतिनिधिसभाका सदस्यहरु असंवैधानिक रुपमा गरिएको संसद विघटनको निर्णयविरुद्ध रिट लिएर सर्वोच्च अदालत पुगेका छन्। नेपाल कम्युनिष्ट पार्टीकै सांसदहरु देव गुरुङ, कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ र रामकुमारी झाँक्रीले रिट लिएर मंगलबार सर्वोच्च पुगेका हुन् । रिटमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटालाई विपक्षी बनाइएको छ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गर्दा आफूहरु ५ वर्षसम्म नागरिकको प्रतिनिधित्व गर्न पाउने हकबाट वञ्चित भएको भन्दै संसद विघटनको बदर गर्न माग गरेका छन्।
यसअघि अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपालसहित ९० सांसदको नामबाट रिट दिने तयारी थियो। तर सबैका आवश्यक डकुमेन्ट जुटाउन गाह्रो भएकाले चारजनाले मात्र रिट दिएको जनाइको छ। रिटमा ९० जनाको हस्ताक्षर रहेको बताइएको छ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेपछि त्यसको सर्वत्र विरोध भइरहेको छ ।
क्याटेगोरी : राजनीति, समाचार
तपाईको कमेन्ट लेख्नुहोस्