Techie IT
  • २० वैशाख २०८२, शनिबार
Sajha Hub

मंसिरेभेजा (उँधौलीभेजा) एक परिचय


मंसिरेभेजा (उँधौलीभेजा)

भेजा मगर समाजको परम्परागत धार्मिक संस्था हो । यसले गाउँको सामुहिक पूजाआजाको व्यवस्थापन र संचालन गर्नुका साथै समाजलाई भातृत्व र एकताको सूत्रमा बाँध्ने तथा सामाजिक मूल्य–मान्यताअनुसार नियन्त्रित अवस्था कायम राख्ने कार्य गर्दछ ।

मुख्य–मुख्य खेतीपातीको समय अर्थात खनजोत गर्ने, बाली लगाउने, गोडमेल गर्ने र बाली भित्र्याउने बेलामा भेजा क्रियाशिल हुने गर्दछ । चैतेभेजा, चन्डीभेजा, जेठेभेजा, मंसिरेभेजा, न्वांगीभेजा आदि विभिन्न नामले खास–खास कृषि कर्मको समयमा भेजा क्रियाशिल हुने भए पनि वैशाख पूर्णिमा र मंसिर पूर्णिमाको भेजा कार्यक्रमले समाजमा विशेष महत्व राख्ने गर्दछ ।

वैशाख महिना हिउँदे बाली भित्र्याएर वर्षे बाली लगाउने तथा गाईवस्तुलाई लेकाली चरनक्षेत्रतर्फ लैजाने समय भएकाले चन्डी अर्थात वर्षातकी देवीको पूजा गरेर घाँटु नचाउने गरिन्छ भने मंसिर महिना वर्षे बाली कोदो र धान भित्र्याएर हिउँदे बाली गहुँ लगाउने तथा गाईवस्तुलाई लेकाली चरनक्षेत्रबाट बेसीको गोठमा सार्ने समय भएकाले बराज्यू, सिमेभूमे, माई आदिको पूजा गरेर मारुनी नचाउने गरिन्छ ।

उँभौली यामको वैशाख पूर्णिमाको दिन चन्डी (वर्षातकी देवी) को पूजा गरिने भएकाले चन्डीभेजा वा उँभौलीभेजा भनिन्छ भने उँधौली यामको मंसिर पूर्णिमाको दिन पितृ र प्रकृतिको पूजा गरिने भएकाले मंसिरेभेजा वा उँधौलीभेजा भनिन्छ । ऐतिहासिक मगरात क्षेत्रका गाउँवस्तीहरूमा सबै घरकुरिया मिलेर उँभौलीभेजा र उँधौलीभेजामा समच्छे पूजा (नीमपूजा/साझापूजा) गर्ने चलन रहेको छ ।

ऐतिहासिक मगरातक्षेत्रमा पशुपालन र कृषियुगको प्रारम्भदेखि नै भेजा परम्पराको विकास भएको बुझिन्छ । गर्मी बढ्न थालेपछि वैशाखतिर लेकाली चरनक्षेत्रमा गोठ सार्ने र चिसो बढ्न थालेपछि मंसिरमा बेसी (औल) को बस्तीमा गोठ सार्ने मगरातको प्राचीन परम्पराले अहिले पनि रुकुम, रोल्पा, म्याग्दी, प्यूठान, गुल्मीतिर निरन्तरता पाइरहेको देखिन्छ ।

गर्मीमा छ महिना उँभो (लेक) र जाडोमा छ महिना उँधो (बेसी) मा बसोबास गरिने भएकाले नै मगर समाजमा उँभौलीभेजा र उँधौलीभेजा कार्यक्रमले विशेष महत्व पाएको हो । मगरात क्षेत्रमा मकै बाली स्याहारेपछि असोज शुक्लपक्षमा गोत्यार समूहले आ–आफ्ना पितृहरूलाई पुज्ने तथा मंसिर शुक्लपक्षमा साझा पितृहरूलाई पुज्ने परम्परा स्थापित भएको पाइन्छ । मंसिरेभेजा अर्थात उँधौलीभेजामा गाउँठाउँअनुसार बराज्यू (पूर्वी पाल्पा र नवलपरासीतिर), बज्यै (संखुवासभातिर), सिमेभूमे, भयँर, माई आदि (वागलुङ, गुल्मीतिर) को पूजा गरिन्छ ।

बराज्यूलाई मगरहरूको बाह्र भाइ पुर्खा मानिन्छ । मगर भाषामा १२ अंकलाई ‘बार्हाङ’ भनिन्छ । बार्हाङ बाज्यु (बाह्र भाइ बाजे) भन्दाभन्दै कालान्तरमा बरहाङ बाज्यु – बराहज्यु हुँदै जनजिब्रोमा ‘बराज्यू’ शब्द प्रचलित हुनपुगेको मानिन्छ । ‘बज्यै’ शब्दले महिला पितृहरूलाई जनाउँदछ । वाइस वहिनी बज्यू (बज्यै) लाई उर्वराशक्तिकी प्रतीक ‘माई’ को रुपमा समेत पुजिएको पाइन्छ । यसैगरी म्याग्दीतिर पितृदेव गणलाई ‘भूमे’ वा ‘भुयँर’ नामले पुज्ने गरिएको पाइन्छ । त्यसकारण मंसिरेभेजामा पुजिने बराज्यु, बज्यै, सिमेभूमे, भयँर आदि विभिन्न नामका देवदेवीहरू मगर जातिका साझा पितृहरू भएको बुझिन्छ । पितृहरूलाई खुशी पार्न सकेमा खेतीपाती राम्रो हुन्छ र घरपरिवारमा सुखशान्ति एवं समृद्धि प्राप्त हुन्छ भन्ने मान्यता र विश्वास रहेको पाइन्छ ।

मंसिरेभेजाको मूल उद्देश्य भनेको वर्षे बाली कोदो र धान स्याहार्ने अवसर मिलेकोमा पितृहरूलाई धन्यवाद ज्ञापन गर्नु तथा हिउँदे बाली सुरक्षाका लागि पितृहरूबाट आशीर्वाद प्राप्त गर्नु हो । त्यसकारण मगर गाउँटोलभरिका सबै घरकुरियाबाट भेटी उठाएर मंसिर पूर्णिमाको दिन बराज्यु तथा बज्यै थानहरूमा सुँगुर, कुखुरा र परेवाको बलि चढाउने गरिन्छ । पाल्पा, नवलपरासी, संखुवासभा आदि क्षेत्रका मगरहरूले उँधौली अर्थात मंसिरेभेजामा समच्छे पूजाको रुपमा सुँगुर बलि चढाएर थान परिसरमै प्रसाद एवं खाना पकाएर खाने गर्दछन् । व्यक्तिगत भाकल पूजामा भने कुखुरा, परेवा आदि चढाउने गरिन्छ ।

मगर संस्कृतिका हरेक पक्षसँग लोकगीतनृत्य पनि अन्तरसम्बन्धित भएर आउने गरेको पाइन्छ  विशेष पूजाआजामा लोकगीतनृत्यलाई पितृ र प्रकृति खुशी पार्ने माध्यमका रुपमा लिने गरिन्छ । मंसिरेभेजाको साँझपख थान परिसरमा भेला भएर झाम्रे बस्ने र मारुनी नचाउने परम्परा रहेको छ ।

पूर्वी पाल्पा र नवलपरासीतिर यसै अवसरमा मारुनी (नचन) विसर्जन गर्ने चलन छ । मारुनी विसर्जनका लागि छुट्टै थान बनाइन्छ । मारुनीले लगाएका लुगाहरू खोलेर थानमा राखेपछि मादले र मिगुरले सरसती (मारुनीका देवता) लाई कुखुराको भाले बलि चढाउँछन् । त्यसपछि आगामी साउने सङ्क्रान्तिमा मादल नफुकाउँदासम्म मारुनी नचाइँदैन । मारुनी विसर्जनपछि कौह्रा नाचको शुभारम्भ गरिन्छ । कुनै मगर गाउँमा भने पुसेपन्ध्र चाड मनाउने क्रममा मारुनी नचाएर विसर्जन गर्ने परम्परा रहेको पाइन्छ ।

मंसिरेभेजालाई गाउँठाउँ र समुदायअनुसार देवाली पूर्णिमा, धान्य पूर्णिमा, उँधौली आदि फरक–फरक नामले पुकार्ने गरिएको पाइन्छ  गुल्मी, वागलुङ, अर्घाखाँचीतिर मगर लगायतका कतिपय समुदायले मंसिर पूर्णिमाको दिन देवाली (कुलपूजा) गर्ने हुँदा देवाली पूर्णिमा भन्ने गरिन्छ । मंसिर पूर्णिमासम्ममा धान बाली स्याहारी सकेर भकारी वा धन्सारको पूजा गरिने हुँदा उक्त दिनलाई धान्य पूर्णिमा पनि भन्ने गरिन्छ ।

थारु समुदायमा नयाँ अन्नबाली धान भित्र्याएपछि चामलको पिठोबाट बनाएको परिकार फगुई र झझरी देवदेवीलाई चढाएर मंसिर पूर्णिमा चाड मनाउने चलन पाइन्छ (श्रेष्ठ, २०७४: ७) । नेवार समुदायमा मंसिर पूर्णिमाका दिन नयाँ धानको चामलको पिठोबाट बनाइएको परिकार यः मरी (मनपरेको रोटी) देवदेवीलाई चढाएर उत्सव मनाउने गरिन्छ । त्यसैले मंसिर पूर्णिमालाई नेवार समुदायमा यः मरी पुन्ही भन्ने गरिन्छ । योमरी पुन्हीको साँझपख केटाकेटीहरू समूह बनाई टोलटोलमा पुगेर गीत गाउँदै योमरी माग्ने गर्दछन् ।

पूर्वी नेपालको पहाडी समाजमा पनि मंसिर पूर्णिमालाई विभिन्न नामले मनाउने गरिन्छ । चाम्लिङ राईले साकेला, वान्तवा राईले साकेन्वा, खालिङले तोसी, लिम्बूले चासोक तङ्नाम, याक्खाले चासुवा र सुनुवारले फोलस्याँदर भनेर उँधौली अर्थात मंसिर पूर्णिमा मनाउँछन् । यस अवसरमा किराँत समुदायमा पनि कुलपितृ र प्रकृतिको पूजाआराधना गरी नाचगान गर्ने चलन रहेको छ (राई साम्पाङ, २०६९: ७ र कास, २०७२: ४) ।

मगरात सभ्यताको प्रारम्भदेखि नै प्रचलनमा आएको मंसिरेभेजालाई उँधौली यामको अन्तिम र महत्वपूर्ण चाडको रुपमा लिइएको पाइन्छ । जाडो बढेसँगै लेकाली चरनक्षेत्रबाट गाईवस्तु बेसीको गोठमा झार्ने, वर्षे बाली कोदो र धान स्याहार्ने तथा हिउँदे बाली गहूँ लगाउने समय मंसिरमा गाउँटोलभरिका घरकुरियाबाट भेटी उठाएर  आफ्ना साझा पितृ बज्यू–बराज्यूहरूको समच्छे पूजा गरी थान परिसरमा रातभरि झाम्रे बस्ने र मारुनी नचाएर विसर्जन गर्ने मौलिक परम्परा अहिले लोपोन्मुख अवस्थामा पुगेको छ ।

व्यापक बसाइँसराइँ, वैदेशिक रोजगारीप्रतिको बढ्दो आकर्षण तथा कृषि र पशुपालन पेशाप्रतिको विकर्षणले गर्दा उँभौली याममा लेकाली चरनक्षेत्रमा जाने तथा उँधौली याममा बेसी झर्ने परम्परा हराउने क्रमसँगै मंसिरेभेजाको महत्व पनि लोप हुँदै गइरहेको छ । पशुपालन तथा कृषियुगको प्रारम्भदेखि मनाउन थालिएको यो उत्सवलाई वर्तमान परिवर्तित परिवेशमा युवा पुस्ताले बिर्सदै गएको छ ।

सन्दर्भ सामाग्रीसूची

कास. (२०७२ पुस ११). उँधौलीको रमझममा किराँतहरू. कान्तिपुर, पृ. ४ ।

राई (साम्पाङ), खगेन्द्र. (२०६९ पुस १३). सांस्कृतिक पर्व उँधौली. गोरखापत्र, पृ. ७ ।

श्रीस मगर, मीन. (२०७५). चाडवाडहरूको समाजशास्त्रीय विश्लेषण, ललितपुरः आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ।

श्रेष्ठ, पदम. (२०७४ मंसिर १६). यःमरी पुन्ही, उधौली र फगुई. गोरखापत्र,  पृ. ७ ।


क्याटेगोरी : अन्य, कला र मनोरञ्जन

तपाईको कमेन्ट लेख्नुहोस्