काठमाडौ उपत्यकामा जोरविजोर प्रणाली हट्यो, सबै सार्वजनिक यातायात चल्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीले असार २२ गतेदेखि लागू हुने गरी जारी गरेको निषेधाज्ञाको आदेशमा जोर विजोर प्रणाली हटाइएको छ। काठमाडौं उपत्यकामा निजी तथा सार्वजनिक सवारी साधनमा लगाइएको जोर विजोर प्रणाली हटेको छ । अब सबै निजी तथा सार्वजनिक सवारी साधन स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरेर सञ्चालन गर्न पाइने भएको छ ।
सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न पाइने छैन भने यात्रुलाई मास्क अनिवार्य गरिएको छ । चालक र सहचाकलले मास्कका साथै भाइजर र पञ्जा पनि लगाउनुपर्नेछ भने ढोकामा स्यानिटाइजर राख्नुपर्नेछ । हरेक दिन सवारी साधन निसंक्रमित गर्नुपर्नेछ ।
यस्तै सफा टेम्पो र निलो माइक्रोबसको हकमा तेर्सो सिटमा ४र४ जना र चालक छेउमा एक जना यात्रु राख्न पाइने छ । तर सवारी साधनको मध्य भागमा दुई तर्फका यात्रु छुट्याउने गरी प्लस्टिकको छेकबार लगाउनुपर्ने मापदण्ड तोकिएको छ । वैशाख १६ देखि निषेधाज्ञा लगाएको स्थानीय प्रशासनले जोर बिजोरका आधारमा असार ७ देखि निजी र १५ गते २५ सिटभन्दा माथिका बस मात्र चल्ने दिएको थियो ।
उपत्यकामा पसल खोल्ने समय पनि बढाइएको छ । अब सबै पसल साँझ ६ बजेसम्म खुला गर्न पाइनेछ । तर व्यवसाय सञ्चालन गर्दा दुई मिटरको भौतिक दुरी, स्यानिटाइजर, स्वास्थ्य मापदण्ड पालना गर्नुपर्नेछ । यसअघि दूध फलफूल, खाद्यान्नबाहेकका पसलहरु विहान ११ बजेदेखि साँझ ६ बजेसम्म मात्र खुला गर्न पाइने व्यवस्था थियो । औषधि र स्वास्थ्य सामाग्रीसम्बन्धी पसल भने जुनसुकै समयमा सञ्चालन गर्न पाइनेछ ।
स्थानीय प्रशासनका अनुसार सभा सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, दोहोरी, नाचघर, क्लब, मनोरञ्जन स्थाल, ब्युटी पार्लर, फुटसल, जिमखाना, पुस्तकालय, चिडियाखाना, रंगशालामा हुने दर्शकसहितको खेलकुद र भीडभाड हुने कार्यक्रम भने गर्न पाइने छैन । खुला स्थानमा भेला हुने, सभा जुलुस गर्न, महोत्सव, जात्रा, भोज भतेर गर्न पनिरोक लगाइएको छ । विवाह ब्रतबन्ध तथा सामूहिक रुपमा गरिने सांस्कृतिक कार्यहरु होटल तथा पार्टी प्यालेसमा गर्न पाइने छैन ।यस्तै नित्य पूजाबाहेकका धार्मिक तथा सांस्कृतिक गतिविधि, शैक्षिक संस्थानहरुमा भौतिक उपस्थितिमा पठनपाठन र स्थानीय ढुवानी विहान ९ देखि ११ तथा अपरान्ह ४ देखि ७ बजेसम्म गर्नसमेत स्थानीय प्रशासनले रोक लगाएको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारीले जारी गरेको आदेश
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्