१० दिनदेखिको प्रगति शून्य : एमाले कार्यदलको बैठक

काठमाडौं । नेकपा एमाले कार्यदलको बैठक बिना निष्कर्ष टुंगिएको छ । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बिहीबार साँझ बसेको बैठक एजेण्डामा प्रवेश नै नगरी सकिएको हो ।
एमाले नेता सुवास नेम्वाङले भोलि साढे ११ बजे बस्ने बैठकले ठोस निष्कर्ष निकाल्ने बताउनुभयो । आजको बैठकमा उपाध्यक्ष भीम रावल र उपमहासचिव विष्णु पौडेलले सहमतिका लागि तयार पारेको मस्यौदामाथि छलफल हुने बताइएको थियो । तर, कार्यदलका सदस्य उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल उपस्थित नभएपछि नेताहरु भोली बस्ने भन्दै उठेका हुन् ।
माधव पक्षका नेता घनश्याम भुसालले १० दिनदेखि प्रगति शून्य रहेको भन्दै निराशा व्यक्त गर्नुभयो। प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच देखिएका विवाद समाधान गर्न दोस्रो तहका नेताहरु निरन्तर लागिरहेका छन् । यसअघि आजै बिहान बसेको बैठकमा केही तयारी अपुग भएकाले दिनभर तयारी गरेर साँझ बस्नेगरी नेताहरु आन्तरिक परामर्शमा लागेका थिए ।
अध्यक्ष ओलीले पार्टी एकताका लागि कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको एमालेका सांसदहरूको हस्ताक्षर अदातलको फैसलाअघि नै फिर्ता गराउन माग गर्नुभएको छ भने नेता नेपालले कुनै पनि हालतमा हस्ताक्षर फिर्ता नलिनेअडान लिनुभएको छ ।
क्याटेगोरी : राजनीति, समाचार
तपाईको कमेन्ट लेख्नुहोस्