आन्तरिक उडानमा हटाइयो गन्तव्य सीमा, आइतबारदेखि ५३ अन्तर्राष्ट्रिय उडान

काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय उडानतर्फ उडान संख्या थप गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले यसअघि उडान खुला गरेका गन्तब्यमा भारतबाहेकका मुलुकमा हुने उडान संख्या थप भएको जनाएको छ ।
नयाँ निर्णयअनुसार अब सातामा कुल ५३ वटा उडान हुने छन् । यसअघि सातामा दुई दर्जन मात्र उडान गर्ने गरी विभिन्न मुलुकमा उडान तालिका तय भएको थियो ।
भारतको राजधानी नयाँ दिल्लीमा सातामा दुई उडान मात्र हुने प्राधिकरणले सार्वजनिक गरेको सूचीमा उल्लेख छ । यसमध्ये एउटा उडान नेपाल एयरलाइन्स (बुधबार) र अर्को उडान एयर इण्डिया (सोमबार) गर्नेछन् ।
यूएईको दुबईमा नेपाल एयरलाइन्सले मंगलबार र बिहीबार, हिमालय एयरलाइन्सले आइतबार, मंगलबार र बिहीबार तथा फ्लाइ दुबइले आइतबार, बुधबार र शुक्रबार एक/एक उडान गर्ने भएका छन् ।
कतारको दोहामा नेपाल एयरलाइन्स र कतार एयरवेजले हरेक दिन एक/एक उडान गरि साताको सातै दिन जहाज उडाउने अनुमति पाएका छन् । दोहामा हिमालय एयरलाइन्सले सोमबार, बुधबार र शनिबार जहाज उडाउने छ ।
साउदी अरेबियाको दमाममा हिमालय एयरलाइन्सले आइतबार, सोमबार, बुधबार र शुक्रबार गरि साताको चार उडान गर्ने अनुमति पाएको हो । मलेसियाको क्वालालाम्पुरमा नेपाल एयरलाइन्सले बुधबार र शनिबार गरि सातामा दुई उडान गर्नेछ ।
यस्तै हिमालय एयरलाइन्सले बिहीबार, शुक्रबार र शनिबार क्वालालाम्पुर उडानको अनुमति पाएको छ । टर्किस एयरलाइन्सले टर्कीको इस्तानवुलमा सोमबार, बिहीबार र शनिबार जहाज उडाउने छ ।
जजिरा एयरवेजले कुवेतमा सोमबार, मंगलबार, बुधबार, बिहीबार र शनिबार गरि कुल पाँच उडान गर्नेछ । सलाम एयरले ओमानको मस्कटमा सोमबार, बुधबार र शनिबार गरी कुल तीन उडान गर्ने गरि अनुमति पाएको छ ।
एयर अरेबियाले आबुधाबीमा आइतबार र मंगलबारको उडान तालिका पाएको छ । सिंगापुर एयरको जहाज हरेक आइतबार काठमाडौं आउने सूचीमा उल्लेख छ । सरकारले अहिले हवाई उडान खुला गरेका गन्तब्यमा थप उडान आवश्यक भए त्यसको निर्णय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गर्नेछ ।
आन्तरिक उडानमा सरकारले सीमा हटाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार अब आन्तरिक उडानमा वायुसेवा कम्पनीले आफुलाई आवश्यक संख्यामा उडान गर्न सक्नेछन् ।
देशभर बाढी र पहिरोका कारण सडक यातायात अवरुद्ध भएको समयमा वायुसेवा कम्पनीले उडान संख्या थप हुनुपर्ने माग गरेका थिए । यसअघि ५० प्रतिशत भनि उडान सीमा तोकिएको थियो ।
प्राधिकरणका महानिर्देशक राजन पोखरेलले दैनिक यति नै संख्यामा उडान गर्ने भनि संख्या नतोकि चाहिने जति संख्या थप गर्न सक्ने अधिकार वायुसेवा कम्पनीलाई दिएको बताउनुभयो । उडान अनुमति माग्दा तोकिएका स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना गर्नुपर्ने छ । सरकारले १ जुलाईबाट उडान खोल्ने निर्णय गरेपनि ५० प्रतिशत मात्र उडान गर्न दिएको थियो ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्