Techie IT
  • २० वैशाख २०८२, शनिबार
Sajha Hub

प्रचण्ड र नेत्रविक्रम चन्द विप्लवबीच खुमलटारमा भेटवार्ता


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । २१ फागुन २०७७ मा सरकारसँग तीनबुँदे सहमति गरेर शान्तिपूर्ण राजनीतिमा आउनु भएका विप्लवले पार्टी नेता धर्मेन्द्र बास्तोला सहित प्रचण्ड निवास खुमलटार पुग्नु भएको थियो।

विप्लव समूहका नेताहरुका अनुसार ८ मंसिर २०७१ मा विप्लवले नयाँ पार्टी बनाएपछि प्रचण्डसँग सम्भवतः पहिलो पटक भेटवार्ता हो । भेटमा सहभागी विप्लव समूहका नेता बास्तोलाका अनुसार दुई नेताबीच पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको छ ।आफुहरु बृहत कम्युनिस्ट ध्रुवीकरणको पक्षमा रहेको र उहाँहरुबीच समग्र विषयमा छलफल भएको छ । भेटमा विप्लवले सरकारसँग भएको सहमति कार्यान्वयनको एजेण्डा पनि उठाउनु भएको छ । बन्दी नेता कार्यकर्ता रिहा गर्ने सहमति भए पनि कार्यान्वयन नभएको विप्लव समूहको गुनासो छ ।

प्रचण्डले सहमति कार्यान्वयनका लागि पहल गर्ने आश्वासन दिएको एक नेताले बताएका छन्।

खुमलटार पुगेका विप्लवले विरामी रहनु भएकी प्रचण्ड पत्नी सीता दाहाललाई समेत भेट्नु भएको छ ।

प्रचण्डले माओवादी सशस्त्र विद्रोहको नेतृत्व गर्दा विप्लव सोहि पार्टीमा रहेको र वृहत शान्ति सम्झौतासँगै माओवादी शान्ति प्रक्रियामा आएपछि पनि केही समय एउटै पार्टीमा रहनु भएका विप्लब मोहन वैद्यले पार्टी फुटाउँदा उहाँतिर लाग्नु भएको थियो । पछि विप्लबले ८ मंसिर २०७१ मा आफ्नै नेतृत्वमा नयाँ पार्टी बनाउनु भएको थियो ।


क्याटेगोरी : राजनीति, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्