स्याङ्जा गल्याङको टाम्केकोट क्षेत्रमा ऐतिहासिक दरबार निर्माणका लागि हात्तिस्थान टाम्केकोट समिट हुदैँ (फोटो फिचर सहित)

फोटो:श्याम राना मगर
स्याङ्जा । गण्डकी प्रदेश, स्याङ्जा जिल्लाको गल्याङ नगरपालिका वडा नम्बर ५ मा विभिन्न क्षेत्रहरुको विशिष्ट व्यक्तिहरुलाई सहभागी गराई हात्तिस्थान टाम्केकोट समिट (महोत्सव)को आयोजना गरिएको छ ।
टाम्केकोटमा करिब साढे सातसय वर्ष पहिले १४ कोठाको तीनतले भुरेटाकुरे राजाको टाम्केकोट दरबार रहेको बताइन्छ ।
उक्त दरबारको पुर्ननिर्माण गर्न समिट (महोत्सव)ले पहल गर्ने बताईएको छ ।
करिब १० करोड रुपैयाँ निर्माण लागत अनुमान गरिएको उक्त दरबार पुनर्निर्माणका लागि गण्डकी प्रदेश सरकार र स्थानीय तहहरुले सहयोगको लागि प्रतिवद्धता गरेका छन् ।
साथै संघीय सरकारसँग पनि पहल भइरहेको फाउन्डेसनले जानकारी दिएको छ ।
स्याङ्जाको धार्मिक तथा सांस्कृतिक पर्यटकीय क्षेत्र टाम्केकोटको प्रचारप्रसार, त्यसको संरक्षण, संवद्र्धन र विकासका लागी समिट (महोत्सव) गर्न लागिएको हात्तिस्थान फाउण्डेसनका अध्यक्ष तथा समिटका संयोजक डा. शिवशंकर बस्यालले बताउनु भएको छ ।
समिट (महोत्सव) पुष १५, १६ र १७ गते स्याङ्जा गल्याङ बजारदेखि १३ किमी उत्तरमा रहेको स्यालबास गाँउमा हुनेछ ।
अध्यक्ष डा. बस्यालका अनुसार पर्यटकीय तथा ऐतिहासिक क्षेत्र स्यालबासमा आयोजना हुने समिट (महोत्सव)मा पर्यटन, कृषि, कला, साहित्य, विज्ञान प्रविधि, शिक्षा, सूचना, खेलकुदलगायतका बिषयहरुमा बृहत छलफल गरिनेछ ।
समिट (महोत्सव) लाई गण्डकी प्रदेशकाका मुख्य मन्त्रीबाट उद्घाटन गरिने बताईएको छ ।
समिट (महोत्सव)मा देशभरका विभिन्न क्षेत्रका बौद्धिक तथा प्राज्ञिक वर्ग, विभिन्न राजनीतिक दलका नेताहरु, सामाजिक संघसंस्थाका प्रतिनिधि, स्थानीय निकायका प्रतिनिधि र राज्यका महत्वपूर्ण क्षेत्रमा अनुभव प्राप्त गरेका विभिन्न व्यक्तित्वहरु, चलचित्रकर्मी, सञ्चारकर्मी तथा राष्ट्रिय कलाकारहरुको सहभागिता रहने छ ।
सुन्तलाको बगैँचा सहितको हात्तिस्थान परिसर साथै टाम्केकोटको ऐतिहासिक दरबार, रानीफाल, टुडिखेलमा आयोजना हुने समिट (महोत्सव) मा विभिन्न कार्यपत्रहरु प्रस्तुत हुनेछन् र कार्यपत्रहरुमाथि विभिन्न व्यक्तित्वहरुले धारणा राख्ने फाउण्डेशनले जनाएको छ ।
समिट (महोत्सव) को समयमा टाम्केकोट सेरोफेरो, भाल्थुमकोट, थुम, चन्द्रकोट, देविस्थान, पर्वतको पैयुँकोट, शालीग्राम, गुल्मीको भयकोट, प्रसिद्ध आलमदेवी, मिर्मी, लगायतका क्षेत्रहरुमा हेलिकप्टरबाट फन्को मार्ने कार्यक्रम समेत राखिएको अध्यक्ष बस्यालले जानकारी दिनुभयो ।
पाहुनाहरुका लागि स्थानिय होमस्टेमा राखिने छ भने स्थानिय अर्गानिक खानाका परिकार साथै रुखैबाट टिपेर स्वादिलो सुन्तलाको स्वाद लिन सकिने व्यवस्था गरिने समिट (महोत्सव) व्यवस्थापन तयारी काठमाडौं समितिका संयोजक हरिचन्द्र सिंजाली मगरले बताउनुभयो ।
फाउण्डेसनले समिट (महोत्सव)लाई भव्यरुपमा सम्पन्न गर्न आवश्यक सम्पुर्ण तयारी तिब्र रुपमा अगाडि बढाएको जनाएको छ । स्थानियरुपमा त्यसैगरि बुटवल, पोखरा, काठमाडौं लगायतका विभिन्न ठाउँहरुमा समिट (महोत्सव) तयारी समितिहरु निर्माण गरि आर्थिक, नैतिक सहयोगको अपील समेत गरेर आर्थिक सहयोग समेत संकलन सुरु गरेको छ ।
उक्त महोत्सवले टाम्केकोट क्षेत्रबाट स्याङ्जालगायत सिंगो पश्चिम क्षेत्रको पर्यटकीय विकास र विस्तारको सम्भाव्यतालाई टेवा पुर्याउने र सामाजिक, सांस्कृतिक तथा राजनितिक एकताको सन्देश समेत फैलाउने फाउण्डेशनले विश्वास लिएको छ ।
टाम्केकोट क्षेत्रमा ऐतिहासिक दरवारको अवशेष, ऐतिहासिक रानीफाल, रानीपोखरी, आलमथान, पाँडेथान लगायतका ऐतिहासिक कुराहरु रहेका छन् ।
समिट (महोत्सव)ले टाम्केकोटको ऐतिहासिक दरबारको पुर्ननिर्माण गर्ने, त्यस सेरोफेरोमा रहेका पर्यटकिय क्षेत्रहरुको प्रवद्र्धन गर्न प्याराग्लाईडिङ, ट्रेकिङरुट निर्माण, केबलकार, होमस्टे, खेलकुद, कृर्षि
लगायतका क्षेत्रहरुमा पुर्वाधार निर्माण तथा विकासका लागि पहल साथै विशेषत त्यस क्षेत्रलाई चिनाउन प्रचार-प्रसारात्मक गतिविधिहरु गर्नेछ ।
सम्मेलन (महोत्सव)आयोजना गरिएको क्षेत्रको सेरोफेरोमा विश्वकै ठुलो शालिग्राम रहेको प्रसिद्ध तिर्थस्थल सेतीवेणी, कालीगण्डकी जलविद्यूत ‘ए’ परियोजनाबाट निर्माण भएको मनोरम ताल र तालमा जलयात्रा रहेको छ ।
त्यसैगरि प्रसिद्ध धार्मिक स्थल भाल्थुमकोट, भाल्थुम होमस्टे, सल्यान होमस्टे, सापढुंगा, पाँडेथान, रानीपोखरी, रानीफाल, दरबारको भग्नावशेष पर्खाल, टुडिखेल, वाकछ्याक, बजाउने ढुंगा, छिर्ने ओडार, सौरेनी गुफा, जारिङे लगायतका विभिन्न ऐतिहासिक, प्राकृतिक तथा सांस्कृतिक स्थानहरु रहेका छन् ।
मगर, ब्राह्मण, क्षेत्री, दलित तथा गुरुङ समुदायहरुको बाहुल्यता रहेको समाजमा मौलिक संस्कार संस्कृति, रहनसहन, भेषभुषा, भाषा, परम्परा, गीतसंगीत तथा जीवनशैलीले समेत त्यस क्षेत्रको शुन्दरतालाई अझै बढाईदिएको छ ।
अन्नपुर्ण, धौलागीरी, माछापुच्छ्रे, लगायतको लामो शुन्दर हिमश्रृङखलाहरु देख्न सकिने स्याङ्जाको टाम्केकोटबाट प्रसिद्ध आँधीखोला, कालीगण्डकी, सेतिखोला, पिडिखोला, राम्दी लगायतका पाल्पा, नवलपरासी, गुल्मी, बाग्लुङ, पर्वत, कास्की, म्याग्दी, मनाङ, मुस्ताङ, तनहुँ, लगायतका विभिन्न जिल्लाका गाउँवस्तीहरु, शुन्दर प्राकृतिक दृश्यहरु साथै तराई समेत देख्न सकिन्छ ।
साविकको पिडिखोला वडा-७ र हालको गल्याङ नगरपालिका वडा-५ सल्यानमा रहेको श्री जनमुक्ति युवा क्लवले विगत लामो समयदेखि टाम्केकोट महोत्सवको नाममा स्थानिय स्तरमा विभिन्न महोत्सव तथा कार्यक्रमहरु गर्दै त्यस क्षेत्रको प्रचारप्रसार समेत गर्दै आएको छ ।
साथै, टाम्कोकोटको ऐतिहासिकतामा आधारित रानीफाल नामक उपन्यास, टाम्केकोट सेरोफेरोको गीत तथा विभिन्न लेख रचना तथा कृतिहरु समेत प्रकाशित भएका छन् भने आन्तरिक पर्यटकहरु बर्षेनी त्यस क्षेत्रमा घुम्न तथा पिकनिक खान पुगेपनि उचित प्रचार प्रसार तथा व्यवस्थापन हुन सकेको छैन ।
त्यसैले पनि ऐतिहासिक, प्राकृतिक तथा सांस्कृतिक पर्यटकिय उक्त क्षेत्र ओझेलमा परेको महोत्सव तयारी समिति काठमाडौंका प्रचारप्रसार विभाग प्रमुख श्याम राना मगरले बताउनुभयो ।
त्यस क्षेत्रको प्रचारप्रसार तथा विकासका लागि यस हात्तिस्थान टाम्केकोट समिट (महोत्सव) कोशेढुंगा सावित हुने उहाँले विश्वास समेत व्यक्त गर्नु भएको छ ।
क्याटेगोरी :
समाचार
तपाईको कमेन्ट लेख्नुहोस्