डाक्टरको बलात्कार र हत्याका चार आरोपी प्रहरी इन्काउन्टरमा मारिए

एजेन्सी – भारतको हैदराबादस्थित तेलंगनामा २७ वर्षे महिला डाक्टरलाई बलात्कारपछि हत्या गरेको मामलाका चारै आरोपीलाई पुलिसले इन्काउन्टरमा मारेको छ । शमशाबादका डिसीपी प्रकाश रेड्डीका अनुसार पुलिसले आरोपीलाई त्यही स्थानमा लगेको थियो जहाँ उनीहरुले डाक्टरलाई मट्टीतेल छर्केर जलाएका थिए ।
उनीहरुलाई उक्त स्थानमा लगेर घटना के –कसरी भएको थियो भनेर सोधपुछ गरिएको थियो । सोधपुछको क्रममा आरोपीले पुलिसको हतियार खोसेर भाग्ने कोसिस गर्न थाले । उनले पुलिसमाथि गोली पनि हाने । आत्मरक्षामा पुलिसले जवाफी फायरिङ गर्यो जसमा चार आरोपी मारिए ।
साइबराबादका पुलिस कमिश्नर वीसी सज्जनरले चारै आरोपी शुक्रबार बिहानै ३ देखि ६ बजेको बीचमा शादनगरस्थित चतनपल्लीमा इन्काउन्टरमा मारिएको जानकारी दिए । एक वरिष्ठ पुलिस अधिकारीले घटनामा दुई पुलिसकर्मी पनि घाइते भएको बताए ।
इन्काउन्टरको खबर पाएपछि पीडितका बुवाले भने, ‘हाम्री छोरी मारिएको १० दिन भइसकेको छ । तेलंगना सरकार, पुलिस र जो व्यक्तिले मलाई सहयोग गरे, उनीहरुलाई बधाई । ’यस्तै, पीडितकी बहिनीले भनेकी छिन्, ‘सबै आरोपी इन्काउन्टमा मारिए । म निकै खुुसी छु । यो एउटा उदाहरणीय घटना हुनेछ, आशा छ भविष्यमा यस्तो घटना नदोहोरिएला । म पुलिस र तेलंगाना सरकारलाई धन्यवाद भन्न चाहन्छु ।’
पुलिसले जुन स्थानमा चारै आरोपीको इन्काउन्टर गरे त्यहाँ अत्यधिक भीड जम्मा भएको छ । पुलिसकर्मी र कमिश्नर सज्जनार जब घटनास्थल पुगे तब मानिसहरुले डिसीपी–एसीपी जिन्दाबादको नारा लगाए । पुलिसकर्मीमाथि पुष्प वृष्टि पनि गरिएको छ । पुलिसथाना अघिल्तिर पटाका पनि पड्काइएका छन् ।
क्याटेगोरी : अन्तरास्ट्रिय
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्