Techie IT
  • २ जेठ २०८२, बिहीबार
Sajha Hub

जम्मु-कश्मिरमा हतियारधारी र सुरक्षाकर्मीबीच मुठभेड, तीन जना मारिए


श्रीनगर – भारतको जम्मु–श्रीनगर राष्ट्रिय राजमार्गमा शुक्रबार बिहानै एउटा ट्रकमा आएका हतियारधारी समूहमाथि गरिएको सुरक्षा कारवाहीमा तीन जना मारिएका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार नगरकोटाको बन टोल प्लाजामा चेकजाँचका लागि ट्रकलाई रोकिएको थियो । सुरक्षाकर्मीले घेराबन्दी गर्दै तलासी अभियान सुरु गरेका थिए ।

डिजिपी दिलबाग सिंहका अनुसार ट्रकमा तीनदेखि चार जना हतियारधारी लुकेका थिए । चेकिङ्गका क्रममा उनीहरु गोली प्रहार गर्दै भागेका थिए । जम्मुका आइजी मुकेश सिंहले मुठभेडमा हतियारधारी समूहका तीन जना मारिएको बताए । यस क्रममा प्रहरीका एक जवानसमेत घाइते भएको बताइएको छ ।

टोल प्लाजा नजिकै दुई पटक विस्फोटको आवाजसमेत सुनिएको थियो । हतियारधारीहरु कुन समूहका सदस्य हुन् भन्ने प्रष्ट भइसकेको छैन । यद्यपि सुरक्षा अधिकारीहरुले उनीहरु नयाँ सशस्त्र समूहको सदस्य रहेको आशंका गरेका छन् । उनीहरु श्रीनगर जाने उद्देश्यले उक्त ट्रकमा चढेको बताइन्छ । केही दिन अघि कठुआ, हिरानगर बोर्डरबाट हतियारधारी समूहको घुसपैठ भएको आशङ्का गरिएको छ ।

मुठभेडका क्रममा सुरक्षाका दृष्टिकोणले राजमार्गमा सवारी आवागमन बन्द गरिएको थियो । प्रशासनले नगरकोटाका सबै विद्यालय बन्द गर्न आदेश दिएको थियो ।

२५ जनवरीमा दक्षिण कश्मीरको पुलवामा जिल्लाको अवंतिपोरा क्षेत्रमा सुरक्षाबल र हतियारधारी समूहबीच मुठभेड भएको थियो । मुठभेडमा दुई हतियारधारी मारिएका थिए ।


क्याटेगोरी : अन्तरास्ट्रिय

तपाईको कमेन्ट लेख्नुहोस्