Techie IT
  • २० वैशाख २०८२, शनिबार
Sajha Hub

आलमलाई थुनामा राख्न अदालतको आदेश


काठमाडौं – नेपाली कांग्रेसका सांसद एवं पूर्वमन्त्री अफताव आलमलाई रौतहट जिल्ला अदालतले थुनामा राख्न आदेश दिएको छ । जिल्ला न्यायाधिस दिपक ढकालको इजलासले पूर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

१२ वर्षअघि रौतहटको राजपुर फरहदवामा भएको बम विष्फोटन सम्बन्धी मुद्दामा आलमलाई प्रहरीले गत असोज २६ गते पक्राउ गरेको थियो । प्रथम संविधानसभा निर्वाचनको अघिल्लो दिन २०६४ चैत २७ गते साँझ आलमको घर छेउमै उनका काका इद्रिस शेखको गोठघरमा बम विष्फोट भएको थियो । आलमकै निर्देशनमा बनाउन लागिएको बम विष्फोट हुँदा त्यसको छर्रा लागेर घाइते भएकाहरुलाई जिउँदै इँटाभट्टामा हालेर मारेको अभियोग छ ।

घटनामा मारिएको भनिएका रौतहट सरुअठा निवासी ओसी अख्तरकी आमा रोक्साना खातुन र पिन्टु (त्रिलोकीप्रताप) सिंहका बाबु नारायण सिंह राजपुतले दिएको जाहेरी आधारमा १२ वर्षपछि आलमलाई पक्राउ गरी प्रहरीले कारवाही प्रक्रिया अघि बढाएको हो ।

शुक्रबार थुनछेक बहस सकिएपछि अदालतले प्रतिवादी आलम र जाहेरवाला सिंहलाई बोल्ने अवसर दिएको थियो । आलमले आफूविरुद्ध लगाइएको अभियोग अनुसार कुनै घटना नै नभएको जिकिर गरेका छन् ।

‘म पहिला पनि ठूलो मतान्तरले चुनाव जितेकै थिएँ । अहिले पनि सांसद छु । चुनाव जित्नको लागि बम बनाउने र पड्काउनुपर्ने जरुरी नै छैन’, आलमले भने, ‘बम त के मैले आजसम्म पटाका पनि पड्काएको छैन ।’


क्याटेगोरी : समाचार

तपाईको कमेन्ट लेख्नुहोस्