Techie IT
  • २१ वैशाख २०८२, आईतबार
Sajha Hub

यी हुन कानुनी रूपमै करोडौँ कमाउने ह्याकरहरू


एजेन्सी- जेसी किन्सर विश्वका ठूलाठूला कम्पनीका सफ्टवेअरमा भएका हुनसक्ने खराबी र कमजोरी पत्ता लगाएर पैसा कमाउँछिन् सन् २०१६ को गर्मी यामको एक दिन पूर्णकालीन पेसेवर ह्याकर प्रणव हिवारेकर फेसबुकको नयाँ फीचरमा रहेका कमजोरी पत्ता लगाउने अभियानमा लागे।

झन्डै आठ घण्टाअगाडि मात्र फेसबुकले प्रयोगकर्ताहरूलाई भिडिओको प्रयोग गरी पोस्टहरूमा टिप्पणी गर्न अनुमति दिने घोषणा गरेको थियो। हिवारेकरले त्यसमा भएका कमजोरी पत्ता लगाउन उक्त प्रणालीको ह्याक गर्न थाले। त्यस्ता कुनै गल्तीले अपराधीहरूलाई कम्पनीको सञ्जालमा प्रवेश गरेर डेटा चोर्न सजिलो बनाइदिन सक्छ।

अनि उनले पत्ता लगाए: नयाँ प्रणालीमा भएका कमजोरीको प्रयोग गरेर फेसबुकको कुनै पनि भिडिओ मेट्न सकिन्छ। “चाहने हो भने उक्त कोड प्रयोग गरेर मार्क जकर्बर्गले राखेको भिडिओ पनि मेटाइदिन सकिने मैले पत्ता लगाएँ,” भारतको पुने सहरका नैतिकवान् ह्याकर हिवारेकरले बीबीसीलाई बताए। उनले यो कमजोरी वा चल्तीको भाषामा ‘बग’ बारे ‘बग बाउन्टी ‘ कार्यक्रममार्फत् फेसबुकलाई जानकारी दिए। दुई साताभित्रै उनले हजारौँ डलर पुरस्कार पाए।

आफ्नो क्षमतालाई सकारात्मक कार्यको लागि प्रयोग गर्ने नैतिकवान् ह्याकरहरूले धेरै पैसा कमाउन थालेका छन्। सँगसँगै यो विधा पनि फैलँदो छ। यस्ता बग सिकारी सामान्यतया युवा उमेरका हुन्छन्। एक अनुमानअनुसार दुई तिहाइभन्दा धेरै १८ देखि २९ वर्ष उमेरका हुन्छन्। वेबकोडमा भएका त्रुटि र छिद्रलाई खराब ह्याकरले पत्ता लगाएर ठूलै समस्या सिर्जना गरिदिनुअगावै तिनलाई औँल्याइदिने यस्ता नैतिकवान् ह्याकरलाई विभिन्न पुरस्कार कार्यक्रममार्फत् ठूला कम्पनीहरूले पैसा दिन्छन्।

अरू कसैले पत्ता लगाउनुभन्दा पहिले कुनै बग पत्ता लगाउने कार्य अलि दुर्लभै हुन्छ। त्यसो गर्न सक्नेलाई ठूलो पुरस्कार दिइन्छ। सम्भवत: लाखौँ डलर। त्यसले यस्ता नैतिकवान् ह्याकरहरूलाई उत्प्रेरित गर्छ। “पुरस्कार नै मेरो आम्दानीको एक मात्र स्रोत हो,” भारतका एक नैतिकवान् ह्याकर शिवम् वशिष्ठले भने। उनले गत वर्ष सवा लाख डलर कमाएका थिए।

“मैले कानुनी रूपमै विश्वका सबभन्दा ठूला कम्पनीका प्रणाली ह्याक गर्छु र त्यसको लागि पैसा पाउँछु। यो एकदमै रमाइलो तथा चुनौतीपूर्ण छ।” यो यस्तो क्षेत्र हो जहाँ सफल हुन कुनै औपचारिक शैक्षिक योग्यता वा अनुभव आवश्यक छैन। वशिष्ठका अनुसार उनले यो ज्ञान अन्लाइन तथा ब्लगहरूबाट सिके। “मैले कैयौँ रात नसुतीकनै ह्याकिङ तथा प्रणालीमा आक्रमण गर्ने उपाय सिकेको छु। मैले विश्वविद्यालय पनि दोस्रो वर्षमै छाडेँ।”

उनले आफ्नो यो रुचिलाई लाभदायी ‘करीअर’ बनाएका छन्, अमेरिकी ह्याकर जेसी किन्सरले जस्तै। “ह्याकिङप्रति मेरो रुचि मैले कलेजमा हुँदा स्वतन्त्र रूपमा मोबाइल ह्याकिङ तथा डिजिटल फरेन्सिकको अनुसन्धान गर्दा ताकादेखि नै जागेको हो,” उनले इमेलमार्फत् बताइन्।

सुरक्षा बढाउँदै
ह्याकर वन, बग क्राउड, साइन्याक तथा अन्य कम्पनीहरूले ठूला कम्पनी एवं सरकारहरूका तर्फबाट पुरस्कार कार्यक्रम चलाउँछन्। नैतिकवान् ह्याकरको पहिचान र तिनको एजेन्टका रूपमा यिनले कार्य गर्छन्।

ह्याकर वनको रेकर्डमा साढे पाँच लाख नैतिकवान् ह्याकर छन्। उसले तिनलाई कुल सात करोड डलर दिइसकेको सो कम्पनीका बेन सादेगिपुरले बताए। “प्रविधि उद्योगमा पुरस्कार कार्यक्रम नयाँ होइन, तर त्यसको रकम भने बढ्दो छ।” बीबीसी नेपाली


क्याटेगोरी : समाचार

तपाईको कमेन्ट लेख्नुहोस्