Techie IT
  • ३० वैशाख २०८२, मंगलबार
Sajha Hub

ठूलालाई पनि कानुन लाग्छः महान्यायाधिवक्ता खरेल


भद्रपुर– महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले ठूलालाई कानुन नलाग्ने पुरानो मान्यतालाई बदल्न चाहेको बताएका छन्।

झापाको चन्द्रगढीमा जिल्ला सरकारी वकिलको कार्यालयको नवनिर्मित भवनको आइतबार उद्घाटन कार्यक्रममा उनले कानूनको दृष्टिमा सबै नागरिक समान हुन् भन्ने मूल्य मान्यताका आधारमा लोकतन्त्रको अनुभूति दिलाउने गरी न्यायीक क्षेत्रमा काम भइरहेको बताए।

गलत काम गरेपछि शक्तिशाली, ठूलो ओहोदा भएका र प्रतिष्ठित भनिएका व्यक्तिहरुसमेत प्रमाणका आधारमा कानुनी कारबाहीको दायरमा आइरहेको चर्चा गर्दै उनले भने,‘हामी अभियुक्तलाई उसको पद र शक्तिका आधारमा होइन, प्रमाणका आधारमा हेर्छौँ।’

उनले समाजमा अपराध नियन्त्रण र कानुनी राज्य स्थापनाका लागि राज्यका सबै संयन्त्र निष्पक्षतापूर्वक अघि बढिरहेको उल्लेख गर्दै जनप्रतिनिधिहरुले व्यक्ति पक्राउ पर्नासाथ छुटाउन जाने र भनसुन गर्ने प्रवृति त्याग्नुपर्ने सुझाव दिए। उनले भने, ‘मान्छे पक्राउ पर्नासाथ छाडिदिनुपर्‍यो भनेर जनप्रतिनिधिहरु ठूला मान्छेकहाँ धाउने गर्नुहुन्छ, यस्तो गर्नु गलत हो।’

पश्चिम नेपालमा रहेको छाउपडी प्रथालाई प्रचलित कानुनले दण्डनीय किटान गरिसकेको जनाउँदै महान्यायाधिवक्ता खरेलले छाउपडीमा जाने र पठाउने दुवैलाई कानुन बमोजिम कारबाही हुने जानकारी दिए।

उनले अन्धविश्वासमा आधारित छाउपडी प्रथाका कारण महिलाहरुले ज्यानसमेत गुमाउनु परेको दुःखद अवस्था विद्यमान भएको हुँदा सरकार अन्धविश्वासविरुद्ध कठोर रूपमा प्रस्तुत हुने बताए।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्