रङ्गशाला छिर्नेलाई प्रहरीले कुटे, भिडियो खिचेको भन्दै पत्रकारमाथि हातपात

काठमाडौँ – १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत मङ्गलबार हुने पुरुष फुटबलको फाइनल खेलको टिकट नपाएको भन्दै आक्रोशित सर्वसाधारणमाथि प्रहरीले दशरथ रङ्गशालाबाहिर कुटपिट गरेको छ । टिकटका लागि रङ्गशाला भित्र छिर्न खोज्दा प्रहरी र सर्वसाधारणबीच विवाद भएपछि प्रहरीले कुटपिट गरेको हो ।
रङ्गशाला अगाडि रहेको ब्लुक्रस अस्पताल अगाडि प्रहरीले कुटपिट गरेको दृष्य क्यामेरामा कैद गर्न खोज्ने सञ्चारकर्मीमाथि पनि प्रहरीले हातपात गरेको छ । डिएसपी रुगम कुँवरको नेतृत्वमा रहेको प्रहरी टोलीले पत्रकार सुमन चापागाइँमाथि भिडियो खिचेको भन्दै हातपात गर्दा उनको कानमा चोट लागेको छ ।
भिडियो खिचेको भन्दै चापागाइँमाथि जाइलागेको प्रहरीले उनको छातीमा लात्ताले हिर्काउनुको साथै कुटपीट गरेको थियो । घाइते भएका पत्रकार चापागाइँको राष्ट्रिय खेलकुद परिषद्स्थित खेलाडीको स्वास्थ्य परीक्षण गर्ने स्थानमा उपचार भइरहेको छ ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्