एमसीसी कार्यान्वयन नगरे नेपालको विश्वसनीयता गुम्छ : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं – परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कार्यान्वयन नगरे नेपालको विश्वसनीयता गुम्ने बताएका छन् ।
बुधबार संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै मन्त्री ज्ञवालीले अमेरिकाले नेपाललाई ५० अर्ब रुपैयाँ अनुदान दिनुले नेपालमा राजनीतिक स्थिरता र लगानीको वातावरण छ भन्ने सन्देश जाने अन्तर्राष्ट्रिय स्तरमा पुगेको उल्लेख गरे ।
‘यो सम्झौता कार्यान्वयन नगरे नेपालको विश्वसनीयता गुम्छ । अन्तर्राष्ट्रिय स्तरमा हाम्रो विश्वसनीयता गुम्नु राम्रो होइन’ उनले भने । एमसीसीका सन्दर्भमा राष्ट्रिय सहमति कायम रहेको पनि मन्त्री ज्ञवालीको दाबी छ ।
कांग्रेस नेतृत्वको सरकारले हस्ताक्षर गरेको र वर्तमान सरकारले अगाडि बढाएको भन्दै उनले ‘एमसीसीमा विरुद्धमा कसले के भन्यो ?’ भन्नेतिर नभई ‘सरकारले के सहमति गरेको छ’ भनेर हेर्न सांसदहरुलाई आग्रह गरे ।
परराष्ट्रमन्त्री ज्ञवालीले सञ्चारमाध्यमले एमसीसी अमेरिकाको इन्डो प्यासिफिक रणनीतिसँग जोडिएको भनेर गलत सूचना दिएको आरोप पनि लगाए ।
‘हाम्रो न्युज रिर्पोटिङ पनि एउटा–एउटा छ । एमसीसी र इन्डो प्यासिफिक नीति एउटै होइनन् भनेर अमेरिकी राजदूतले पटक–पटक भनिराख्नुभएको छ । तर, हामीलाई यस्तो भूत बनेर तर्साइरहेको छ कि नेपाल त नेपाल लतारियो लतारियो, घिसारियो घिसारियो भनेर’ समिति बैठकमा परराष्ट्रमन्त्री ज्ञवालीले भने ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्