खाजाको पैसा बचाएर एपेक्स स्कुलका विद्यार्थीद्वारा आविष्कार केन्द्रलाई सहयोग

काठमाडौं – काठमाडौंको चावहिलस्थित एपेक्स लाइफ स्कुलका विद्यार्थीले आफ्नो खाजाको पैसा बचाएर राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरेका छन् । विद्यार्थीले जम्मा गरको रकममा विद्यालयले पनि थपेर कुल १ लाख १ हजार ५ रुपैयाँ सहयोग गरिएको हो ।
कीर्तिपुरमा मंगलबार आयोजित कार्यक्रममा विद्यालयका कार्यकारी निर्देशक सुवास न्यौपाने तथा विद्यार्थीले आविक्ष्कार केन्द्रका सञ्चालक महावीर पुनलाई सहयोग रकम प्रदान गरेका छन् ।
नेपाली माटो सुहाउँदो ज्ञान, विज्ञान र अनुसन्धान गर्न स्थापित केन्द्रलाई सरकारले उपेक्षा गरेको अवस्थामा विद्यार्थीले जोगाएको खाजावापतको रकममा विद्यालयले समेत थप गरी सो सहयोग प्रदान गरिएको निर्देशक न्यौपानेले बताए । ‘सरकारले सहयोग गर्नुपर्ने संस्थालाई रचनात्मक र सिजर्नात्मक काम भनेर सांकेतिक रुपमा हामीले सहयोग गरेका हौं,’ निर्देशक न्यौपानेले भने ।
ग्रामीण क्षेत्रमा सूचना प्रविधिको क्षेत्रमा क्रियाशील भएर देश विदेशमा विभिन्न पुरस्करबाट सम्मानित महावीर पुनले २८ वर्षदेखि आफु यो क्षेत्रमा निरन्तर क्रियाशील रहेपनि सरकारले चिन्न नसकेको बताउँदै अनुसन्धानका लागि सहयोगमात्र होइन न्यून ब्याजदरमा ऋण समेत उपलब्ध नगराएको गुनासो गरे । सो अवसरमा विद्यार्थीले महावीर पुनसँग उनका योजनाका बारेमा विविध छलफल गर्नुका साथै आविष्कार केन्द्रको अभिरुचिपूर्वक अवलोकन समेत गरेका थिए ।
राजधानीमा रहेर विद्यालय, शिक्षा र पठनपाठनमा लामो समयदेखि आफ्नो विशिष्ट पहिचान बनाउन सफल एपेक्स लाईफ स्कुलले अतिरिक्त क्रियाकलापका अतिरिक्त यस प्रकारका विभिन्न रचनात्मक काम पनि गर्दै आएको छ । २०४० सालमा स्थापना भएको सो विद्यालय शुरुमा शिशु निकेतन, त्यसपछि सेरेन भ्याली हुँदै एपेक्स लाइफ स्कुल नामाकरण भएको स्कूलका व्यवस्थापक विन्दु न्यौपानेले जानकारी दिइन् । १ कक्षादेखि १० कक्षासम्म अध्यापन गराउने एपेक्स स्कुलमा हाल करीब ४ सय ५० विद्यार्थी अध्ययनरत छन् ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्