नेपाल जलवायु परिवर्तनको मारमा छ :रक्षामन्त्री पोखरेल

काठमाडौं – उपप्रधानमन्त्री ईश्वर पोखरेलले जलवायु परिवर्तनको असर नेपालमा अधिक परिरहेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजना गरिएको सगरमाथा संवादलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले जलवायु परिवर्तनको सिधा असर नेपालको सामाजिक, आर्थिक र सांस्कृतिक क्षेत्रमा परेको बताएका हुन् ।
‘हाम्रा हिमाल, जीवन पद्धति र पारिस्थितिकीय प्रणाली जलवायु परिवर्तनका कारण सङ्कटमा परेका छन् . जलवायु अनुकूलन र न्यूनीकरणमा अझ बढी बहस हुनुपर्छ,’ उनले भने ।
उनले भने, “जलवायु परिवर्तन गर्नमा विकसित राष्ट्रहरू जति जिम्मेवार छन्, नेपालजस्ता अति कम विकसित राष्ट्रहरूको भूमिका खासै छैन तर यिनै अतिकम विकसित राष्ट्र जलवायु परिवर्तनको बढी मारमा परेका छन् ।”
आगामी चैत २० देखि २२ गतेसम्म काठमाडौँमा हुने सगरमाथा संवादको मुख्य विषय ‘जलवायु परिवर्तन, पर्वतीय वातावरण र मानव जातिको भविष्य’ रहेको सन्दर्भमा जलवायु परिवर्तन र त्यसका असरका विविध पक्षमा चर्चा गर्दै उनले पर्वतीय राष्ट्र नेपाल हिन्दूकुश क्षेत्रमा रहेको र विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमशृङ्खलामध्ये आठवटा नेपालमा रहेकाले नेपालीको शिर गर्वले उच्च रहेको भन्दै तिनलाई जलवायु परिवर्तनका दुष्परिणामबाट जोगाउन अपरिहार्य भएको बताए ।
मन्त्री पोखरेलले भने, “नेपाल र नेपालीको परिचयलाई संसारमा उच्च बनाएका हिमालयले पृथ्वीको सतहलाई चिसो बनाइराख्न, जलचक्रलाई नियमन गर्न र वनस्पति, वन्यजन्तु तथा समग्र मानव जातिलाई आवश्यक अनुकूलित हुनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् ।”
हरितगृह ग्यास उत्सर्जन र तापक्रममा आएको वृद्धिले हाम्रा हिमशृङ्खला पग्लिन थालेका मात्र नभई सामाजिक र प्राकृतिक पद्धति खल्बलिइरहेको वास्तविकता औँल्याउँदै मन्त्री पोखरेलले विगत ३० वर्षमा नेपालको तापक्रम शून्य दशमलव छ डिग्री सेल्सियसले बढेको बताए ।
हरितगृह ग्यास उत्सर्जन, पृथ्वीको तापक्रममा आएको अप्रत्याशित वृद्धिले हिउँ पग्लने, हिमताल बन्ने, हिमताल फुट्ने जोखिम बढेको देशका केही भागमा पानीको अभावले खडेरी र मरुभूमिकरण बढेको विगतमा हराभरा पहाडी बस्तीमा खानेपानीको अभावले बसाइँसराइ गर्नुपर्ने बाध्यता थपिएको बर्खायाममा हुने अतिवृष्टिले पहाडमा बाढी र पहिरोको प्रकोप बढेको र तराईमा डुबानले आक्रान्त पारेको भन्दै उनले जलवायु परिवर्तनका नकारात्मक असरसँग सामूहिकरुपमा जुध्नुपर्ने बताए ।
मन्त्री पोखरेलले भने, “जलवायु परिवर्तनको प्रत्यक्ष असर वनस्पति, जैविक विविधता, तालतलैया, पोखरी र नदी प्रणालीमा परेको छ, खाद्य सुरक्षा र पानीको अभावमा मानिसहरु आफ्नो थातथलो छोडेर बसाइँसराइ गर्नाले देशको सामाजिक, आर्थिक र सांस्कृतिक क्षेत्रमा नकारात्मक असर परेको छ ।”
सरकारले जलवायु परिवर्तनको क्षेत्रमा भोगेका समस्या हल गर्न राष्ट्रिय जलवायु परिवर्तन नीति, २०७६ स्वीकृत गरेको, उक्त नीतिमा कृषि र खाद्य सुरक्षा, वन, जैविक विविधता र जलाधार, जलस्रोत र ऊर्जा, प्राकृतिक र सांस्कृतिक सम्पदामा आधारित पर्यटन, ग्रामीण र शहरी बस्ती, भौतिक पूर्वाधार, उद्योग र यातायात, खानेपानी र सरसफाइ, जलवायुजन्य प्रकोप व्यवस्थापनसहित आठवटा आयामलाई समावेश गरेको जानकारी दिए ।
जलवायु परिवर्तनसँग लैङ्गिक समानता, सामाजिक समावेशीकरण, जनचेतना र क्षमता अभिवृद्धि, अध्ययन अनुसन्धान एवं प्रविधि विकास, जलवायु वित्तलगायत विषय अन्तर सम्बन्धित रहेका बताउँदै उनले समाजले भोगेका सबै प्रकारका जलवायु परिवर्तनका समस्या र तिनको समाधानका उपायबारे राष्ट्रिय संवादमा गहन छलफल हुने विश्वास व्यक्त गरे ।
जलवायु परिवर्तन साझा समस्या भएकाले नेपालले राष्ट्रिय र अन्तर्रा्िष्ट्रय क्षेत्रमा जलवायु परिवर्तनका मुद्दालाई सम्बोधन गर्दा साझा तर क्षमताको आधारमा अलगअलग जिम्मेवारी बहन गर्ने गरी अगाडि बढ्नुपर्ने बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्