Techie IT
  • २४ वैशाख २०८२, बुधबार
Sajha Hub

निर्मला हत्या प्रकरण :एआइजी बस्न्यातको प्रतिवेदन कार्यान्वयन नगर्न कञ्चनपुर प्रहरीलाई निर्देशन


काठमाडौं – निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा गठित छानबिन समितिको प्रतिवेदन तथ्यहीन रहेको पाइएको छ। एआइजी धीरू बस्न्यात नेतृत्वमा गठित छानबिन समिति त्रुटीपूर्ण रहेको निष्कर्षसहित प्रहरी प्रधान कार्यालयले उक्त प्रतिवेदन कार्यान्वयन नगर्न कञ्चनपुर प्रहरीलाई निर्देशन दिएको हो।

सो प्रतिवेदन विवादमा आएपछि प्रहरी प्रधान कार्यालयले गठन गरेको अर्को छानबिन समितिले बस्न्यात नेतृत्वको समितिको प्रतिवेदन त्रुटिपूर्ण ठहर गरेपछि प्रहरी प्रधान कार्यालयले नै सो प्रतिवेदन कार्यान्वयन नगर्न निर्देशन दिएको हो।

एआइजी धिरु बस्न्यातको समितिले निर्मलाको बलात्कार र हत्यापछिको अनुसन्धानका क्रममा प्रहरीले चरम लापरबाही गरेको भन्दै प्रतिवेदन तयार पारेको थियो। उनकै प्रतिवेदनका आधारमा सई हरसिंह धामी र जवान चाँदनी साउद निलम्बनमा परेका थिए।

प्रतिवेदन कार्यान्वयन नगर्न आइतबार कञ्चनपुर पुगेको पत्रमा अपराध अनुसन्धान विभागका प्रमुख एआइजी पुष्कर कार्कीको समेत हस्ताक्षर छ। पुनरावलोकन समितिले बस्न्यातको प्रतिवेदन कार्यान्वयन नगर्ने लगायतका तीनबुँदे निर्देशन दिएको छ।

बस्न्यातको समितिमा उनीसँगै तत्कालीन एसएसपी निरज शाही, तत्कालीन एसपी उत्तम सुवेदी, तत्कालीन एसपी गणेश रेग्मी, एसपी रमेश थापा, डिएसपी सन्तोष आचार्य, दधि न्यौपाने, कौशल बुढाथोकी, सई सुमन थापा थिए।

त्यसपछि आइजीको सचिवालले सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख तारणीप्रसाद लम्साललाई धिरुको प्रतिवेदनको वास्तविकताबारे यथार्थ बुझेर प्रतिवेदन पेस गर्न भन्दै पत्र पठाएको थियो। लम्सालले पठाएको प्रतिवेदनले एआइजी बस्न्यात समितिको प्रतिवेदनमा उल्लेख भएका कुराहरु काटेको थियो।

दुई समितिको कुरा बाझिएपछि माघ १९ गते मात्रै आइजीको सचिवालयले यी दुई प्रतिवेदनको अध्ययन गर्न र सही राय पेस गर्न एक पुनरावलोकन समिति बनाएर अध्ययन गर्न निर्देशन दिएको थियो।


क्याटेगोरी : समाचार

तपाईको कमेन्ट लेख्नुहोस्